काठमाडौं । सभामुखको अग्नि सापकोटाको सचिवालय प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको खण्डन गरेको छ । आफू निकट प्रवासी नेपाली एकता मञ्चका नेता र कार्यकताहरूको कार्यक्रमलाई भर्चुअल माध्यमबाट शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सभामुख सापकोटाले पदीय मर्यादाअनुसार काम नगरेको आरोप लगाएका थिए ।

‘संसद्ले गर्नुपर्ने निर्णय नगरेर सभामुखले रोकेर राखेका छन् । संसद् विघटन भइसकेपछि केही सांसदहरूले हस्ताक्षर लगेर साढे ३ बजे प्रस्ताव पेस गरे । विघटन भइसकेको संसद्को अविश्वास प्रस्तावको कुनै अर्थ थिएन । संसद् विघटन भइसकेपछि साढे ३ बजे आएको अविश्वासको प्रस्ताव १०ः४० मै आएको थियो भनेर किर्ते सनाखत गरेको थियो । सभामुखजस्तो मर्यादित पदबाट वैधानिकता दिनका लागि साढे १० बजे भएको छ भनेर झुटो सनाखत सभामुखबाट किर्ते काम भयो, लज्जास्पद भयो,’ ओलीको भनाइ थियो ।

पुस ५ गते ९० जना सांसदले संघीय संसद सचिवालयमा दर्ता गराएको अविश्वासको प्रस्तावका विषयमा सभामुखलाई जोडेर प्रधानमन्त्रीबाट टिप्पणी आएपछि सभामुखको सचिवालयले खण्डन गरेको छ ।

‘सो दिन सम्माननीय सभामुखज्यूलाई सम्बोधन गरी सचिवालयमा दर्ताका लागि ल्याइएको अविश्वासको प्रस्तावमा सभामुखज्यूले दर्ताका लागि लिखित निर्देशन दिनु भएको हो । तत् पश्चातका प्रशासनिक प्रक्रियालाई समेत जोड्दै उहाँलाई विवादमा ल्याउनु वाञ्छनीय छैन, ‘ सभामुखको सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

तथ्यहरुलाई एकातिर पन्छाएर सभामुखलाई समेत विवादमा तान्ने प्रयासस्वरुप भ्रममा सृजना गरिएको भन्दै सभामुखको सचिवालले भ्रममा नपर्न सबैमा आग्रह गरेको छ । अविश्वासको प्रस्ताव दर्ता समयका सम्बन्धमा संसद सचिवालयका प्रवक्ताद्वारा पुस ८ गते प्रेस विज्ञप्तीमार्फत स्पष्ट गरिसकिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS