चन्द्रागिरि हिल्स कम्पनीको आइपिओ भर्नेलाई केवलकार चढ्दा २५ प्रतिशत छुट हुने भएको छ।
साधारणसभाको अवसरमा कम्पनीले स्थानीय तथा सर्वसाधारणका लागि आह्वान गरिएको साधारण सेयरमा आवेदन दिने सबै आवेदकलाई केवलकार यात्रामा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको हो।

कम्पनीको सेयरमा १२ लाख ५६ हजार ७४६ जनाले आवेदन दिएका छन्। यो आवेदन संख्या अहिलेसम्मकै धेरै हो। कम्पनीले सर्वसाधारणका लागि कुल १३ लाख ९६ हजार कित्ता सेयर निश्कासन गरेको हो।
छुट सुविधा लिनका लागि आवेदकले सेयर भर्दाको कुनै न कुनै प्रमाण टिकट काउन्टरमा देखाउनुपर्नेछ। यो योजना माघ ५ गतेदेखि १ वर्षसम्म मात्रै मान्य हुनेछ।
ऐतिहासिक साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिसोर्ट लगायतका पूर्वाधार सम्पन्न गरेको छ।
केवलकारमा जान र आउन साधारणतया प्रतिव्यक्ति ७ सय रुपैयाँ टिकट खर्च लाग्दछ।
बच्चा र ३ फिटसम्म उचाइ भएकालाई निशुल्क, ३ देखि ४ फिटसम्मको उचाइ भएकालाई ४० प्रतिशत छुट, फरक क्षमता भएकालाई ५० प्रतिशत छुट, ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई २५ प्रतिशत, विद्यार्थीलाई २५ प्रतिशत र स्थानीयलाई २५ प्रतिशत छुट हुँदै आएको छ।