अंकित मूल्य एक सय रूपैयाँमै पाइने आइपिओमा पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दै गएको छ।

हालै खुलेको चन्द्रागिरि हिल्सको आवेदनले पनि यसलाई पुष्टि गर्छ। यो कम्पनीमा आवेदन दिनेको संख्या १२ लाख ५० हजार नाघेको छ। जुन संख्या अहिलेसम्मकै ठूलाे हो।

अर्कोतर्फ डिम्याट खाता खोल्नेहरू पनि बढिरहेका छन्। मंसिर १७ गतेसम्म २२ लाखले खाता खोलेकामा अहिले २४ लाख ८७ हजार पुगेका छन्।

माघ २ गतेदेखि इन्फ्रास्ट्रक्चर बैंकको प्राथमिक (सेयर) को आइपिओ खुल्दैछ। कम्पनीले सर्वसाधारणलाई ८ करोड कित्ता सेयर निश्कासन गर्न लागेको हो। यो संख्या अहिलेसम्मकै धेरै हो। यसमा आवेदन दिने कसैको हात खाली हुने छैन।

सिंगटी हाइड्रोपावर इनर्जीले आइपिओ निश्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ। कम्पनीले अंकित मूल्यमा ४३ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निश्कासन गर्न अनुमति पाएको छ।

कम्पनीले दुई महिनाभित्र आइपिओ निश्कासन गर्नेछ। कम्पनीले दोलखा जिल्लामा १६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

अहिले नेपाल धितोपत्र बोर्डमा कम्पनी आइपिओ निश्कासनका लागि ‘राम्रा’ कम्पनी पाइपलाइनमा छन्। ती हुन्, साहस ऊर्जा, ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त वित्तीय संस्था र मध्य भोटेकोसी जलविद्युत आयोजना।

साहस ऊर्जा

यो कम्पनीले ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) आयोजना निर्माण गरिरहेको छ। कम्पनीले स्थानीय र सर्वसाधारणका लागि गरी एक करोड ५ लाख कित्ता सेयर निश्कासन गर्नेछ। बिक्री प्रबन्धकका रूपमा एनआइबिएल एस क्यापिटलले जिम्मा लिएको छ।

सोलुखुम्बुको दूधकोशी गाउँपालिकामा निर्माण भइरहेको ८६ मेगावाटको आयोजना निजी क्षेत्रबाट बनिरहेको आयोजनामध्येकै ठूलो हो। सुख्खायाममा पनि अरूको तुलनामा यो आयोजनाबाट उत्पादन हुने विद्युतको दर उच्च हुने कम्पनीको दावी छ।

ज्योति लाइफ इन्स्योरेन्स

पछिल्लो पटक सञ्चालनमा आएका बीमा कम्पनीमध्येको एक हो ज्योति लाइफ इन्स्योरेन्स।

कम्पनीले ६६ लाख कित्ता सेयर निश्कासन गर्न बोर्डमा आवेदन दिएको छ। सेयर बिक्री प्रबन्धकका रूपमा एनएमबी क्यापिटल छ।

सञ्चालनमा रही नाफामा गइसकेको कम्पनी भएकाले यसको सेयर दोस्रो बजारमा मूल्यवान हुने अनुमान छ।

पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी १८ रूपैयाँ ७६ पैसा छ भने प्रतिशत नेटवर्थ १३३ रूपैयाँ २३ पैसा छ। सो अवधिसम्म ५४ करोड ५७ लाख रूपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ।

महिला लघुवित्त वित्तीय संस्था

कम्पनीले ४ लाख कित्ता प्राथमिक सेयर निश्कासनका लागि बोर्डसँग अनुमति मागेको छ। सेयर बिक्री प्रबन्धकका रूपमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ छ।

दोस्रो बजारमा लघुवित्त कम्पनीहरूले राम्रो मूल्य पाउने गरेका छन्। यो कम्पनीको आइपिओ पनि आकर्षणमा देखिएको छ।

मध्य भोटेकोसी जलविद्युत कम्पनी

कम्पनीले एक करोड ५० लाख कित्ता सेयर सर्वसाधारणका लागि निश्कासन गर्न अनुमति मागेको हो। बिक्री प्रबन्धकका रूपमा ग्लोबल आइएमई क्यापिटल छ। कम्पनीले १०२ मेगावाट क्षमताको आयोजना बनाइरहेको छ।

चिलिमे हाइड्रोपावरको सेयर संरचना सबभन्दा धेरै ३८ प्रतिशत तथा नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत सेयर संरचना कम्पनीमा छ।

डिस मिडिया नेटवर्क

डिस मिडिया नेटवर्कले २३ लाख ८५ हजार ९२९ कित्ता सेयर निश्कासनका लागि आवेदन मागेको छ। टिभी च्यानल प्रदायक डिसहोमको यो सेयर निश्कासनका लागि बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल छ।

अन्य समूहको यो कम्पनी हाल सूचीकृतमध्ये फरक प्रकृतिको कम्पनी भएकाले आकर्षणका रूपमा लिइएको छ।

यीबाहेक अरू कम्पनी पनि सेयर निश्कासनका लागि धितोपत्र बोर्डको पाइपलाइनमा छन्। न्यादी हाइड्रोपावर कम्पनीले स्थानीय प्रभावित र सर्वसाधारणका लागि गरी कुल ४० लाख ५० हजार कित्ता आइपिओ निश्कासनको अनुमति मागेको छ।

कम्पनीले लमजुङको न्यादी खोलाबाट विद्युत उत्पादन गर्नेछ। ३० मेगावाट क्षमता रहेको कम्पनीको मुख्य स्टेकहोल्डर बुटवल पावर कम्पनी हो।

तेह्रथुम पावरले स्थानीय र सर्वसाधारणका लागि १२ लाख कित्ता सेयर निश्कासनको अनुमति मागेको छ।

हिमालयन हाइड्रोपावरले स्थानीय र सर्वसाधारणका लागि गरी कुल २२ लाख ५० हजार कित्ता सेयर निश्कासनको अनुमति मागेको छ। त्यस्तै विन्ध्यबासिनी हाइड्रोपावरले स्थानीय र सर्वसाधारणका लागि कुल २५ लाख कित्ता सेयर निश्कासन गर्न बोर्डमा आवेदन दिएको छ।

मर्चेन्ट बैंक सिबिआइएल क्यापिटलले तीन लाख कित्ता सेयर निश्कासनका लागि अनुमति मागेको छ।

मैलुङ खोला जलविद्युत कम्पनीले ७ लाख ३६ हजार २८६ कित्ता निश्कासनका लागि आवेदन दिएको छ। ग्रिनलाइफ हाइड्रोपावर कम्पनीले ३४ लाख ९६ हजार ४ सय कित्ता सेयर निश्कासन गर्न चाहेको छ।

रूरू जलविद्युत आयोजनाले ८ लाख १५ हजार ४११ कित्ता सेयर निश्कासन गर्न स्वीकृति मागेको छ।

तपाईको प्रतिक्रिया

RELATED POSTS