देउवाको जवाफ- अहिले केही भन्दिनँ, पार्टीमा छलफल गर्नुपर्छ, नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर कुराकानी गरेका छन्।

देउवालाई भेट्न प्रचण्ड र नेपाल बुधबार साँझ देउवा निवास बुढानिलकण्ठ पुगेका थिए।

उनीहरूबीच करिब ४५ मिनेट कुराकानी भएको थियो। स्रोतका अनुसार सवा ६ बजेतिर अध्यक्ष नेपाल देउवा निवासमा पुगेका थिए भने केही समयपछि प्रचण्ड आएका थिए।

‘प्रचण्ड-नेपाल पक्षबाट तीन/चार दिनदेखि भेटघाट गरौं भन्ने प्रस्ताव आइरहेको थियो। हिजो साँझ उहाँहरू सभापति निवासमै आउनुभयो,’ देउवानिकट स्रोतले सेतोपाटीसँग भन्यो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा गरेको प्रतिनिधि सभा भंगलाई असंवैधानिक भनेका सभापति देउवा र प्रचण्ड-नेपालबीच संयुक्त सडक संघर्षमा जानेबारे छलफल भएको हो।

‘एक्लाएक्लै भन्दा पनि संयुक्त सडक संघर्षमा जाँदा थप प्रभावकारी हुन्छ भन्ने भनाइ उहाँहरूको थियो। सभापतिज्यूले आन्दोलन पनि छ, अदालतमा मुद्दा चलिरहेकाले एक्काएक्लै गए पनि खासै फरक पर्दैन भन्ने जवाफ दिनुभएको छ,’ बुढानिलकण्ठ स्रोतले भन्यो,‘उहाँहरूले संयुक्त सडक संघर्षदेखि सत्ता साझेदारका विभिन्न खालका दीर्घकालीन प्रस्ताव राख्नु भएकोमा सभापतिज्यूले कुनै निर्णय दिनु भएन। यति मात्रै भन्नुभयो- तपाईंहरूका कुरा म पार्टीमा राख्छु। मैले मात्रै भनेर पनि हुन्न, छलफलपछि मात्रै निर्णयमा पुग्छु।’

प्रचण्ड-नेपालले संयुक्त सडक संघर्ष र प्रतिनिधि सभा पुनर्स्थापना भएमा सत्तामा समेत मिलेर जान सकिने प्रस्ताव राखेको स्रोतको दाबी छ।

‘अदालतमा मुद्दा विचाराधीन छ,’ सभापति देउवाको भनाइ थियो, ‘पुनर्स्थापना भए के गर्ने, चुनाव हुने अवस्था के गर्ने सबै कुरा पार्टीभित्र छलफल नगरी भन्न सकिन्न।’

उक्त भेटमा कांग्रेसबाट सभापति देउवा र केन्द्रीय सदस्य रमेश लेखक सहभागी रहेका थिए। कांग्रेस नेताहरूले प्रचण्ड-नेपालसँग हिजोको भेटघाट कुनै गोप्य नरहेको पनि बताएका छन्।

‘यो कुनै गोप्य भेटघाट होइन। यहाँ कुनै सम्झौता र सहमति बनेका पनि छैनन्। उहाँहरूले भेट्न चाहनु भयो सभापतिले भेट दिनुभयो। उहाँहरूका विभिन्न प्रस्ताव थिए हामीले कुनै निर्णय गरिएको छैन। पार्टीभित्र छलफल नगरी कुनै निर्णय गर्न सकिन्न भनिएको छ,’ भेटबारे एक नेताले भने, ‘लुकाउनु पर्ने कुनै कुरा छैन, छलफल गरियो। कफी खाइयो, छुटियो।’

प्रधानमन्त्री ओलीको कदम अलोकतान्त्रिक, असंवैधानिक र सर्वसत्तावाद उन्मुख भनेको कांग्रेस आन्दोलनमा छ। माघ ८ गतेसम्म कांग्रेसले आन्दोलन गर्ने कार्यक्रम यसअघि नै केन्द्रीय समितिबाट सर्वसम्मत ल्याएको थियो।

तपाईको प्रतिक्रिया

RELATED POSTS