नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका छन्।
मंसिरमा हुने महाधिवेशनमा आफू सभापति पदमा उठ्ने र पछि नहट्ने पनि सिंहले बताए।

उनले यो कुरा शनिबार काठमाडौंको चन्द्रागिरि नगर समितिले आयोजना गरेको एक दिने विचार गोष्ठीमा भनेका हुन्।
‘म सम्पूर्ण रूपले सभापति बन्न सक्षम छु। सभापतिमा उठ्ने हो, पछि हट्दिनँ,’ सिंहले भने, ‘आमजनताको दु:खमा साथ दिँदै उनीहरूको हितका लागि काम गर्नुपर्ने भएकोले पनि पार्टी सभापतिमा उठ्नुपर्ने अवस्था छ।’
सबैलाई मिलाएर लैजान सक्ने र पार्टी सञ्चालन गर्न सक्ने भएकोले पनि आफू पार्टी सभापतिको उम्मेदवारीबाट पछि नहट्ने सिंहले बताए।