काठमाडौं । नेपाल भ्रमणमा आएकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले राजनीतिक दलका नेताहरुलाई भेटेर एमसीसी सैन्य रणनीति अन्तर्गत नभएको स्पष्टीकरण दिएकी छन् । एमसीसीलाई लिएर ध्रुवीकरण बढेका बेला उपाध्यक्ष सुमार नेतृत्वको टोली बिहीबार काठमाडौं आएको छ । टोलीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई छुट्टाछुट्टै भेटेको थियो । भेटमा सुमार नेतृत्वको टोलीले चार वर्षदेखि एमसीसी सम्झौताबारे प्रश्न उठेकाले स्पष्ट पार्न आवश्यक ठानेर आएको बताएको छ ।

 

 

नेपाल र अमेरिकाले हस्ताक्षर गरेका डकुमेन्ट लिएर आएको भन्दै टोलीले स्वीकार्य भए अनुमोदन गर्न आग्रह गरेको छ । नभए अनुदान अन्य मुलुक जाने पनि बताएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेको एमसीसीको टोलीले सम्झौतालाई लिएर नेपालमा नहुनुपर्ने विवाद भएको बताएको छ । ‘लामो समय नेगोसिएसन भएर टुंगिएको विषय हो यो । यहाँ जुन खालको विवाद आयो, नहुनुपर्थ्यो जस्तो लाग्छ भन्ने उहाँहरुको भनाइ थियो,’ भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले भनेका छन् ।

उनका अनुसार जवाफमा एमाले अध्यक्ष ओलीले भने आफू सरकारमा रहँदा सम्झौता अगाडि बढाउन खोजेको तर, सभामुखसहितका केही व्यक्तिका कारण सम्भव नभएको बताएका छन् । अहिले आफूहरु प्रतिपक्षमा रहेको र सरकारले यसबारे कुनै प्रस्ताव नल्याएको भन्दै उनले भनेका छन्, ‘सत्तारुढ दलहरुले के गर्न चाहेको छ भन्ने थाहै नभई यसो गर्ने भन्ने अवस्थामा हामी छैनौं ।’

एमसीसीको टोलीले अपराह्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सिंहदरबारमा भेटेको छ । भेटमा उपाध्यक्ष सुमार नेतृत्वको टोलीले एमसीसीबारे नेपालमा उठेका प्रश्नहरुमा स्पष्टीकरण दिएको भेटमा सहभागी नेताहरुले बताए । नेता गंगालाल तुलाधर भन्छन्, ‘उहाँहरुले एमसीसी भनेको इण्डो प्यासिफिक रणनीतिको अंग हुँदै होइन । जे हल्ला भएको छ, यो हल्ला मात्र हो भन्नुभयो ।’

नेपालको अर्थ मन्त्रालयले पठाएका प्रश्नहरुमा एमसीसीले दिएको जवाफ भन्दा बढी नै प्रष्ट पार्न खोजेको उनले बताए । ‘उहाँहरुले जति जति कन्फ्युज छ, त्यसलाई हटाउने प्रयास गर्नुभयो,’ तुलाधर भन्छन्, ‘यो भ्रम हामीले छरेको होइन, तपाई‌ंहरुकै आधिकारिक मान्छेले एमसीसी भनेको इण्डो प्यासिफिक रणनीतिको अंग भनेकाले नेपाली जनता सशंकित भएका हुन् भन्यौं ।’

एकीकृत समाजवादीका नेताहरुले नेपाल र नेपाली जनताको हितमा नहुने, सैन्य रणनीति अन्तर्गत हुने कुनै पनि सहयोग आफूहरुलाई स्वीकार नहुने बताएका छन् ।

 

 

‘उहाँहरुले कुनै पनि सैन्य रणनीतिको अंग होइन भनेर स्पष्ट पार्न खोज्नुभयो,’ भेटमा सहभागी नेता तुलाधरले भने, ‘अमेरिकासँग भएका सम्झौताहरु ल्याएका छौं । त्यो हेर्नुस् र मन पर्‍यो भने अनुमोदन गर्नुस् ।’

एमसीसी उपाध्यक्ष सुमार नेतृत्वको टोलीले एमसीसी सम्झौताबारे यसो गर्नुस् भनेर दबाव नदिने, तर स्वीकार नगेर यो अनुदान अर्को मुलुकमा जाने बताएका छन् ।

एमसीसीको यो टोलीले भोलि शुक्रबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र उर्जामन्त्री पम्फा भुसाललाई भेट्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS