नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुबीचको सहमतिमा मात्रै एमसीसीलाई अघि बढाउन सकिने धारणा राखेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमसीसीका उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीसँग बिहीबार सिंहदरबारमा भएको भेटमा सत्तारुढ दलहरुबीच सहमति गरेर मात्रै सो सम्झौतालाई अघि बढाउन सकिने पार्टी अडान रहेको जानकारी गराएका हुन् ।

त्यसक्रममा उनले नेपाली जनतालाई कन्भिन्स गराएर मात्रै सो सम्झौता अघि बढाउनुपर्ने अवस्था रहेको रहेको पनि बताए । फातिमाले एमसीसी कुनै सैन्य रणनीति अन्तरगतको कार्यक्रम नभएको भन्दै अध्यक्ष नेपाललाई आश्वस्त बनाउन खोजेकी थिइन् ।

यता अध्यक्ष नेपालले भने एमसीसीबारे भ्रमपूर्ण सन्देश दिने काम स्वयम् अमेरिका सरकारबाट भएको पनि बताएको भेटमा सहभागी नेकपा (एकीकृत समाजवादी) का कार्यालय सचिव डा‍ गङ्गालाल तुलाधरले जानकारी दिए । उनले भने, ‘राष्ट्रहितभन्दा बाहिर गएर सो सम्झौता अघि बढ्न सक्दैन भन्ने कुरामा हामी दृढ छौँ । हामी कमसेकम पनि पाँच पार्टीको बीचमा सहमति बनाएर यो कुरा गर्ने कि नगर्ने निर्णयमा पुग्छौँ । राजनीतिक दलहरू जो सरकारमा सामेल छन् । ती सबै राजनीतिक दलहरूको कन्सर्नको कुरा हो । त्यसैले हामीहरू आफू पनि छलफल गरेर सहमतिमा अघि बढ्छौँ ।’

करिव डेढ घण्टा भएको भेटवार्तामा उपाध्यक्ष सुमारले एमसीसी दबाब दिएर पारित गराउने पक्षमा आफूहरु नरहेको पनि बताएको तुलाधरले बताए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS