पूर्वी नवलपरासी — पूर्वप्रधानमन्त्री तथा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको सिको गर्दै कांग्रेस महामन्त्री शशांक कोइरालाले शनिबार गृहजिल्ला नवलपुर आएर १४ औं महाधिवेशनमा पार्टी सभापतिमा लड्ने घोषणा गरेका छन् । कांग्रेस देवचुली नगर कार्यसमितिले शनिबार निर्माण गरेको बीपी स्मृति भवन उद्घाटन गर्न आएका महामन्त्री कोइरालाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आफू सभापतिमा लड्ने बताएका हुन् । ‘नवलपुर मेरो गृहजिल्ला हो, जसरी गिरिजाप्रसाद कोइरालाले गृहजिल्ला मोरङबाट महत्त्वपूर्ण घोषणा गर्नु हुन्थ्यो, मैले पनि मेरो गृहजिल्लाबाट सभापतिमा लड्ने महत्त्वपूर्ण घोषणा गर्दछु,’ महामन्त्री कोइरालाले कार्यकर्तासँग भने । उम्मेदवारीको औपचारिक घोषणा भने पछि गर्ने उनले बताए ।

‘पत्रकारहरूको प्रश्नमा आज नवलपरासीमा जे भन्नुभयो, त्यो औपचारिक घोषणाका रूपमा भन्नुभएको होइन, प्रतिस्पर्धाबाट बाहिरिएको छैन भन्ने अर्थमा भन्नुभएको हो,’ महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले भने, ‘टिमको सहमतिअनुसार नै पछि घोषणा हुन्छ ।’

सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला मुख्य प्रतिस्पर्धी छन् । टिममा सहमति नहुँदासम्म सबैले आ–आफू उम्मेदवार रहेको बताउँदै आएका छन् । भदौ १७ मा सभापतिका प्रतिस्पर्धी चार जनासहित संस्थापनइतर पक्षका मुख्य नेताहरूले पत्रकार सम्मेलनमार्फत आफ्नो टिमबाट एक जना उम्मेदवार हुने उद्घोष गरेका थिए ।

कोइरालाले आगामी निर्वाचनपछि कांग्रेसले बहुमतको सरकार बनाउने दाबी पनि गरेका छन् । ‘कांग्रेस कांग्रेसकै कारणले मात्रै पराजित भएको हो,’ महामन्त्री कोइरालाले भने, ‘महाधिवेशन पछि कांग्रेस एकजुट हुन्छ । आगामी निर्वाचनपछि कांग्रेसले बहुमतको सरकार बनाउँछ ।’

तपाईको प्रतिक्रिया

RELATED POSTS