एमाले उपाध्यक्ष भीम रावल जस्तोसुकै अवस्थामा पनि पत्रकारले सोधेको प्रश्नको सामना गर्न तयार हुन्छन्। आइतबार भने संसद भवन बानेश्वरमा फरक दृश्य देखियो। प्रतिनिधिसभा बैठक सकिएपछि रावलसँग कुरा गरेर जाने भनेर पत्रकारहरू कुरेर बसेका थिए। तर रावलले कुरा गर्नै मानेनन्। पत्रकारहरूले निकै कर गर्दा पनि उनी तयार भएनन्। रावलले प्रश्नको सामना नगरेका घटना बिरलै हुन्छन्। आइतबार भने उनले नकारे। रावलले पत्रकारसँग कुरा गर्न तयार नहुनुका पछाडि सुदूरपश्चिम प्रकरण थियो।

आइतबार बिहान मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले रावललाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज नदिने बताएका थिए। ओलीले सुदूरपश्चिमको इन्चार्ज लेखराज भट्ट नै कायम रहने समेत भनेका थिए। त्यसपछिको घटनाक्रमबारे रावलले आफूनिकट सुदूरपश्चिमका सांसद, केन्द्रीय सदस्य तथा अगुवा कार्यकर्ताहरूसँग छलफल गरेका थिए।

छलफलमा रावलले दस बुँदे कार्यान्वयनमा इमानदारिता नदेखिएको बताएका थिए। उनले जस्तोसुकै अवस्थामा पनि पार्टी एकताका लागि अन्तिमसम्म पहल गर्नुपर्ने धारणा समेत राखेका थिए। रावलकै इन्चार्ज पद खोसिँदा दस बुँदे कार्यान्वयनमा आशंका गर्ने ठाउँ बढ्न थालेको माधव नेपाललाई साथ नदिएका एक नेताले सेतोपाटीलाई बताए।

‘दस बुँदे कार्यान्वयन हुन्छ भन्नेमा हामीलाई विश्वास त पहिला पनि लागेको थिएन। तर अब झनै शंका बढेको छ,’ ती नेताले भने, ‘रावल जत्तिको नेतालाई त पुरानो जिम्मेवारीमा फर्किन संघर्ष गर्न परेको छ भने तल्ला तहका नेता कार्यकर्ताको के हालत होला!’ ओलीनिकट केन्द्रीय सदस्य एवम् पार्टीका सुदूरपश्चिम अध्यक्ष कर्णबहादुर थापाले पनि भट्ट नै इन्चार्ज हुने बताए।

‘रावलजीको त राष्ट्रियस्तरमा भूमिका छ। उहाँ सुदूरपश्चिममा मात्रै खुम्चिन मिल्दैन। उहाँ पार्टीको उपाध्यक्ष हो। उपाध्यक्षको काम विधानले नै प्रष्ट पारेको छ,’ थापाले भने, ‘पार्टी अध्यक्षले पनि उपाध्यक्षको हैसियतमा केन्द्रमै रहेर काम गर्न भन्नुभएको छ। भोलि जिम्मेवारी हेरफेर भयो भने एउटा कुरा होला। अर्को निर्णय नहुँदासम्मका लागि भट्ट नै इन्चार्ज हुनुहुन्छ।’

२०७७ पुस ५ गतेअघि भीम रावल तत्कालीन नेकपाको सुदूरपश्चिम संयोजक थिए। २०७५ जेठ ३ मा एमाले र माओवादी एकता भएर नेकपा गठन हुनुभन्दा अघि पनि रावल एमाले उपाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज थिए।पुस ५ पछि नेकपामा फेरिएको समीकरणका कारण भट्ट इन्चार्ज बनेका थिए।

२०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादीलाई विभाजन गरिदिएपछि पनि भट्ट एमालेमै बसे। त्यसयता भट्ट नै सुदूरपश्चिमका इन्चार्ज छन्।

नेकपा एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने लगायतका दस बुँदे सहमति कार्यान्वयन गर्ने ओलीको प्रतिबद्धतापछि रावलसहित दस जना स्थायी कमिटी सदस्यले माधव नेपालको साथ छाडेका थिए।

गत असार २७ गते भएको दस बुँदे सहमति कार्यान्वयनका लागि सुदूरपश्चिम प्रदेशमा सहजीकरण गर्न भीम रावल, लेखराज भट्ट र कर्ण थापा रहेको कार्यदल समेत बनेको छ।

रावलनिकट सांसद एवम् केन्द्रीय सदस्य झपट रावलले कर्ण थापाले सहजीकरणको नाममा पार्टी एकता भाँड्न खोजेको आरोप लगाए। तर थापाले भने आफूले पार्टी एकताका लागि सहजीकरण गरिरहेको दावी गरे।

‘हामीले त पार्टीलाई तलसम्म एकता गर्न प्रयास गरिरहेका छौं। अहिलेको परिस्थितिमा भीम रावलजीले नै म अब एउटा निश्चित प्रदेशमा केन्द्रित हुँदिनँ भन्नुपर्ने हो,’ उनले भने, ‘रावलजीलाई इन्चार्ज दिँदा एकता हुने, नत्र षड्यन्त्र हुने भन्ने गलत कुरा हो।’

तपाईको प्रतिक्रिया

RELATED POSTS