काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीलाई कहिल्यै नफुटाउने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति, भक्तपुरले सोमबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले कम्युनिस्ट र नेपाली कांग्रेसको भन्दा फरक विचारधारा बनाएर हिँडेको राप्रपा अब कहिल्यै नफुट्ने बताएका हुन् ।

अध्यक्ष थापाले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई व्यक्ति नभई विचार र नेताको पछि नभइ नीतिको पछि लाग्न पनि आग्रह गरे । उनले आगामी कार्तिक २७ गतेदेखि काठमाडौंमा पार्टीको केन्द्रीय महाधिवेशन हुने भन्दै नयाँ विधानअनुसार महाधिवेशन गर्न लागेको बताए ।

अध्यक्ष थापाले भने, ‘हामी राप्रपालाई कहिल्यै नफुटाउने र फुट्न नदिने अठोटका साथ अघि बढेका छौँ, कम्युनिस्ट र कांग्रेसभन्दा फरक पहिचान बनाउन लागि परेका छौँ ।’

कार्यक्रममा पार्टीका अर्का अध्यक्ष पशुपति शम्शेर जबराले कम्युनिस्ट सरकारलाई विस्थापित गरेर आएको नयाँ गठबन्धनले २ महिना बितिसक्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको बताए । नेपालका ठूला पार्टी भनेको ‘नमुना’ भएको भन्दै यसबाट नेपाली जनताले मुक्ति खोजेको उनले बताए ।

‘४ वर्षअघि मुलुकका दुई ठूला कम्युनिस्टहरु मिली चुनाव लडे, झन्डै साढे तीन वर्षसम्म झन्डै बहुमत ल्याएर मुलुक चलाए, तर त्यो समयमा जनताले के पाए भन्दा हात्ती आयो हात्ती आयो फुस्सा, साम्यवादी शक्ति भनेर आएकाहरुको समयावधि साढे तीन वर्षमै तीन टुक्रा भएर चकनाचुर भएको छ, त्यसपछि आएको नयाँ गठबन्धनले २ महिना बितिसक्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेको छैन, अब पार्टी फुट्नेछैन साथीहरु, एक ढिक्का भएर मुलुकमा के गर्ने भनेर हामीले देखाउनुपर्यो,’ राणाले भने ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS