नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता र शक्तिको दुरूपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरिरहेको आरोप लगाएका छन्। वरिष्ठ नेता पौडेलले सभापति देउवाले सत्ता र शक्तिको दुरूपयोग गरेर सम्पन्न गरिएका कतिपय वडा अधिवेशनहरू आफूहरूलाई मान्य नहुने चेतावनी समेत दिए।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफू पक्षका नेता, कार्यकर्ताहरूलाई पाखा लगाउने काम पार्टी नेतृत्वले गरेको भन्दै आक्रोश समेत व्यक्त गरे।

उनले पार्टीको आगामी महाधिवेशनमा नेतृत्व रूपान्तरण गरेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे। त्यसो गरेरमात्रै कांग्रेसलाई लोकतान्त्रीकरणको बाटोमा हिँडाउन सकिने वरिष्ठ नेता पौडेलको बुझाइ छ।

उनले भने, ‘वडा अधिवेशनहरू भयो भनेर नाटक रच्न खोजिएको छ। हामी यसलाई मान्दैनौं। हामी त्यसको विरूद्धमा, यस्तो चुनाव हुनुहुँदैन, त्यसरी धाँधलीका प्रपञ्च रच्न, यसरी सत्ता र शक्तिको दुरूपयोग गर्न नेपाली कांग्रेसजस्तो पार्टीलाई सुहाउँदैन। नेपाली कांग्रेसजस्तो लोकतन्त्रको पाठशाला भएको पार्टीलाई आज यस किसिमले सत्ता र शक्तिको प्रयोग गरेर यसको चुनावलाई अपवित्र पार्ने काम, साथीहरूलाई पाखा लगाउने काम, जो भएको छ। हामी त्यसको विरोध गर्न चाहन्छौं। यस किसिमले देशैभरि पार्टीमा क्रियाशील सदस्यतादेखि नै धाँधली गरेर सत्ता हत्याउने कोसिस, जो गर्न खोजिएको छ, त्यो दुस्साहस हो। हामी हुन दिँदैनौं। नेपाली कांग्रेसलाई हामी लोकतन्त्रको बाटोबाट कुनै पनि हालतमा बिचलित हुन दिँदैनौं।’

वरिष्ठ नेता पौडेलले सभापति देउवाले पार्टीको क्रियाशील सदस्यता छानबिन गर्ने काममा समेत देशभर धाँधली गरेको आरोप समेत लगाए। उनले पार्टीको आगामी महाधिवेशनबाट सही नेतृत्व चयन गर्नेगरी अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे।

तपाईको प्रतिक्रिया

RELATED POSTS