काठमाडौँ — नेकपा (माओवादी केन्द्र) ले पार्टीको स्थानीय तहदेखि केन्द्रसम्मको आन्तरिक निर्वाचनका लागि निर्वाचन आयोग गठन गरेको छ । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराकाअनुसार मंगलबार बसेको स्थायी कमिटी बैठकले विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन आयोग गठन गरेको हो । ‘विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन आयोग गठन गरिएको छ । आयोगलाई आफ्नो नियमावली र निर्देशिकालगायतका कुरा बनाउने जिम्मा दिइएको छ । आयोगले पार्टीको स्थानीय तहदेखि केन्द्रसम्मका पार्टीका निर्वाचन गराउनेछ,’ महराले भने ।

त्यस्तै, पार्टीको विधानबारे पनि निर्णय भएको महराले जानकारी दिए । उनले भाषा र केही हेरफेर गर्नुपर्ने भएमा गर्ने र राष्ट्रिय सम्मेलनबाट पारित गर्ने गरी विधानको टुंगो लगाइएको बताए ।

माओवादीसँग एकता गरेका विभिन्न पार्टी र नेताहरूको जिम्मेवारी कुन तहमा कसरी गर्ने भन्ने तय गर्न गठित कार्यदलको समय थप गरिएको पनि उनले बताए । उक्त कार्यदललाई समायोजनको कार्य सम्पन्न गर्न भनिएको छ ।

प्रदेश समितिका पदाधिकारी बारेमा थप गृहकार्य गरेर निर्णय लिइने पनि उनले बताए । संसद्मा एमालेले गरिरहेको अवरोध हटाउनका लागि संवादलाई अगाडि बढाउनुपर्ने र मन्त्रिपरिषद्लाई छिटो पूर्णता दिनुपर्ने पनि माओवादीको धारणा रहेको प्रवक्ता महराले बताए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS