कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानका कर्मचारी विसनकुमार मण्डल सात दिनअघि राजविराज गएका थिए। उनले १६-१७ वर्षदेखि क्रिकेट मैदानको ख्याल राख्दै आएका छन्। उनी परिवारसहित कीर्तिपुर बस्छन्। त्यहाँ उनले एउटा कुकुर पनि पालेका थिए। कालो रंगको कुकुरलाई सबैले मायाले ‘काले’ भनेर बोलाउँथे।

अघिल्लो मंगलबार बिहान मण्डल घर जाने तयारीमा थिए। उनलाई लिन माइक्रो पनि आइसकेको थियो। उनी आफूबाट टाढिन लागेको थाहा पाएर होला काले उनको काखमा बस्न गयो। त्यतिबेला काले आमा-बुवाले छाडेर जाँदा सँगै जान नपाएको बच्चा रोएजसरी नै रोएको थियो रे!

‘माइक्रो चढेर म घर जान लाग्दै थिएँ। बिहान म जान लागेको भन्ने थाहा पाएर मेरो काखमा बस्न आयो। अअअअ… निन्याउरो भएर रोएको थियो,’ मण्डलले मंगलबार सेतोपाटीसँग भने।

कालेको हेरचाह गर्ने जिम्मा दिदीलाई दिएर उनी मण्डल सप्तरी गए। उनीहरूबीचको त्यो भेट नै अन्तिम बन्यो।

मंगलबार (भदौ २९) बिहान करिब ७ बजे कीर्तिपुर क्रिकेट मैदान बाहिरको सडकमा मोटरसाइकलले ठक्कर दिँदा कालेको मृत्यु भएको छ।

मैदानको गेटबाट प्राय: बाहिर नजाने काले आज खेल्ने क्रममा बाहिर निस्किएको थियो।

काले सडकमा निस्किँदा मोटरसाइकलले एक्कसी ठक्कर दिएको मण्डलले बताए।

उनलाई पनि बिहान काले मरेपछि दिदीले फोन गरेर जानकारी दिएकी थिइन्। कालेलाई ठक्कर दिएपछि मोटरसाइकल लडेको थियो। चालक पनि घाइते भएका छन्।

‘बिहान मलाई दिदी र भिनाजुले फोन गरेर कुकुरलाई मोटरसाइकलले हान्दा मर्‍यो भन्नुभयो। कुकुरलाई हानेपछि दिदीले गाली गर्छु भनेर पनि जानुभएछ। तर चालक घाइते भएको रहेछ,’ उनले भने, ‘पछि अर्को मोटरसाइकलमा बसेर उपचार गराउन गयो भन्थ्यो। कहाँ गएको रहेछ थाहा भएन।’

मण्डलका अनुसार कालेको टाउकोमा चोट लागेको थियो। ठक्करले घाइते भएपछि पनि ऊ क्रिकेट मैदानको कम्पाण्डभित्र पसेको थियो। र भित्रै रगत छादेर मरेको उनले बताए।

सडकमा तीव्र गतिमा सवारीसाधन चलाएकै कारणले आफ्नो कुकुर मरेको मण्डलको भनाइ छ।

‘मोटरसाइकलले हानेपछि काले बाटोमै मरेन। टाउकोमा चोट लागेपछि भित्र आएर रगत छादयो। इनारजस्तो बनाएको ठाउँमा आएर मर्‍यो,’ उनले भने, ‘दु:ख लागेको छ। बच्चैमा पाल्न ल्याएको थिएँ मैले। कस्तो नराम्रो लाग्यो।’

मण्डलले कालेलाई तीन वर्षअघि घर ल्याएका थिए। कीर्तिपुरको नयाँबाटोमा फेला परेको कुकुरलाई पाल्न ल्याएका थिए। त्यत्तिबेला कालेसँगै अरू कुकुरका बच्चा पनि थिए।

साना कुकुरका बच्चाहरू देखेपछि उनले तीन वटा कुकुर पाल्न ल्याए।

कालो कुकुरलाई उनले काले नाम राखिदिए। अर्कोलाई चंखे। बाँकी एउटा भने मैदानमा आएका व्यक्तिलाई दिएर पठाए। चंखेलाई भने उनले राजविराजमा लगेर पालेका छन्।

कालेलाई मैदानमा खुला छाडिन्थ्यो। ऊ मैदानमा उफ्रिने, दौडिने र भुक्ने गर्थो। अहिलेसम्म कसैलाई टोकेको थिएन।

‘ग्राउन्डमा जो आए पनि खेल्ने गर्थ्यो। खेलाडीहरूसँग पनि खेल्थ्यो। टोक्ने बानी नै थिएन,’ मण्डलले भने,’खाली भुक्नेमात्रै। कसैलाई पनि न टोक्ने। उफ्रिने, दौडिने गर्थ्यो। खेलाडीहरू सबैले माया गर्थे उसलाई।’

सोमबार मात्रै पनि कालेलाई नयाँ बेल्ट ल्याइदिएको थियो। नयाँ बेल्ट लगाइदिएपछि काले खुसी भएको मण्डलले बताए।

‘हिजोमात्रै नयाँ बेल्ट किनेर लगाइदिएको भन्दै थियो दिदीले। आज बिहानै यस्तो खबर सुनेर कस्तो नरमाइलो लाग्यो,’ उनले भने।

काले मरेको खबर सुनेर मण्डलमात्रै दु:खी छैनन्, उनीसँगै क्रिकेट खेलाडीसमेत दु:खी छन्।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले पनि काले मरेको देखेका थिए।

पूर्वकप्तान खड्काले ट्विटरमा कालेको फोटो राखेका छन्। उनले फोटो राखेर कालेको बिदाइ गरेका छन्।

उनले लेखेका छन्, ‘भारी मनका साथ दुर्घटनामा मरेको टियू मैदानको गार्डियन एन्जल कालेको बिदाइ गर्न चाहन्छु। वि लभ यू एन्ड वि विल मिस यू।’

 

 

खड्काले कालेलाई केही वर्ष अघिदेखि मैदानमा देखेका थिए। अभ्यास गर्न जाँदा उसलाई पनि खाजा खुवाउने गरेको उनले सुनाए।

‘केही वर्षदेखि कालेलाई ग्राउन्डमा देखिराखेको हो। सबै खेलाडीहरूसँग उसको निकटता थियो। हामीले बिहान अभ्यास गरेपछि उसलाई पनि खाजा खुवाउँथ्यौं। आज बाइक दुर्घटनामा परी मरेको देख्दा दु:ख लागेको छ,’ पूर्वकप्तान खड्काले सेतोपाटीसँग भने।

कालेसँग ठोक्किएको मोटरसाइकलका चालकको अवस्था के छ भन्ने थाहा छैन। कीर्तिपुर प्रहरीले उक्त घटना आफ्नो रेकर्डमा नरहेको बताएको छ।

घटनाबारे आफूलाई जानकारी नभएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।

‘त्यहाँ दुर्घटना भएको भन्ने‍ थाहा भएन,’ उनले भने,’ढल्पातिर मोटरसाइकलले ठक्कर दिएर कुकुर मर्‍यो भन्नेचाहिँ आएको थियो। तर त्यहाँको आएन।’

तपाईको प्रतिक्रिया

RELATED POSTS