प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले माधवकुमार आगामी निर्वाचनमा एक सिट पनि नजित्ने दाबी गरेका छन्। रुपन्देहीको बुटवलमा बुधबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा उनले यस्तो दाबी गरेका हुन्।  उनले नेकपा माओवादी केन्द्र र एमालेबीच एकता गरेर कुनै गल्ती नगरेको पनि उल्लेख गरेका छन्। ‘दुई पार्टी एकता गरेर कुनै गल्ती भएको थिएन। तर माओवादीले धैर्यता देखाउन सकेन’, उनले भने, ‘पार्टीलाई विभाजित गरेर भए पनि सत्तामा पुग्ने आकांक्षाले समस्या बढायो।’

उनले माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतिर लक्षित गर्दै कांग्रेसको पछि लागेर कोही पनि वामपन्थी नहुने बताएका छन्। ‘कांग्रेसको पछि लागेर कोही वामपन्थी हुँदैन। दक्षिणपन्थीको पछि लाग्नेहरू कम्युनिष्ट हुँदैनन्,’ उनले भने, ‘आगामी निर्वाचनमा हामी एमालेको तागत र हैसियत देखाउँछौँ। जनताको समर्थन लिएर एमाले सरकारको नेतृत्वमा आउँछ। एमालेबाहेक अरु कसैले मुलुक बनाउन सक्दैन।’

शेरबहादुर देउवा नेतृत्वको सरकारलाई उनले अध्यक्ष केपी शर्मा ओलीले जस्तै टालाटुली बाटुलीको संज्ञा दिए। ‘देउवा सरकार टालाटुली बटुली जस्तै हो। दुई महिनासम्म सरकार विस्तार गर्न नसकेका देउवाले केही गर्न सक्दैनन्’, उनले भने, ‘यो सरकारसँग कुनै अपेक्षा छैन। यो परमादेशबाट आएकाले जनताप्रति जिम्मेवार पनि छैन।’

पौडेलले सभामुख अग्नि सापकोटालाई दलको सदस्य मात्रै भएको बताए। ‘प्रतिनिधिसभा अवरुद्ध भइरेको छ। तर सभामुख एउटा दलको सदस्य बनेका छन्’, उनले भने, ‘सभामुख दल फुटाउने खेलमा लागेका छन्।

उनले देउवा सरकारले केही गर्न नसक्ने पनि बताए। ‘यो सरकारले केही गर्नेवाला छैन। छिटोभन्दा छिटो जनताको विश्वास जितेर हामी सत्तामा जान्छौँ’, उनले भने, ‘एमालेबाहेक अरुले देशको विकास गर्न सक्दैन।’

पौडेलले माधव नेपालले देशमा एक सिट पनि नजित्ने दाबी गरे। ‘माधव नेपाल नेतृत्वको झुण्डको धेरै कुरा नगरौँ। पार्टी केन्द्रमा बराबरी फुट्दा पनि २०५४ सालमा मालेले देशभर एक सिट जितेको थिएन’, उनले भने, ‘स्वार्थ, इर्श्या र कुन्ठाले विभाजित भएको झुण्डले आगामी चुनावमा एक सिट जित्दैन। जमानत जोगाउन सक्दैन।’

उनले माधव नेपालबारे धेरै टिप्पणी नगर्ने बताउँदै आगामी चुनावमा एमाले सरकारमा फर्किने दाबी गरे। ‘आगामी निर्वाचनबाट एमाले सत्तामा फर्किन्छ। चुनाव जित्न एमालेले सरकारमा बस्नै पर्दैन’, उनले भने, ‘जनताको मनमा घर बनाएर चुनाव जित्छौँ र सरकारमा फर्किन्छौँ।’

तपाईको प्रतिक्रिया

RELATED POSTS