काठमाडौं– ‘वर्षमानले ३० नम्बर ल्याए, जनार्दनले ४० नम्बर ल्याए’– नेकपा एमालेसँग एकता हुनुअघि नेकपा माओवादी केन्द्रका नेताहरुबीच यस्तो ठट्टा चल्थ्यो।

माओवादी केन्द्रभित्र वर्षमान पुन र जनार्दन शर्मालाई प्रतिस्पर्धीका रुपमा हेरिन्छ। २०७४ सालको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा माओवादी केन्द्र, नेपाली कांग्रेस वा नेकपा एमालेसँग तालमेल गर्ने तयारीमा थियो। वर्षमान नेपाली कांग्रेससँग तालमेलका लागि भागवण्डाको बाँडफाँट मिलाउन सक्रिय थिए। जनार्दनलाई भने एमालेसँग तालमेलका लागि वार्ता गर्ने जिम्मेवारी दिइएको थियो। खासमा जनार्दन एमालेसँगै तालमेल गरेर जानुपर्ने पक्षमा थिए।

त्यो प्रयत्न चलिरहँदा कांग्रेसले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा ७० प्रतिशत उम्मेदवार आफूले उठाउने र ३० प्रतिशत मात्र माओवादीलाई छाड्ने निधो गरेको थियो। उता जनार्दनले भने माओवादी केन्द्रले ४० प्रतिशत सिट पाउने गरी एमालेसँग भागबन्डाको सहमति गराए। माओवादी केन्द्रले स्वाभाविक रुपमा जनार्दनको प्रस्ताव अगाडि बढायो। यसैलाई नेताहरुले ठट्टाको विषय बनाएका थिए।

एमालेसँग चुनावी गठबन्धन बन्ने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उत्साहित भए। उनले पार्टी एकता नै गर्नेगरी छलफल अघि बढाउन जनार्दनलाई थप जिम्मेवारी दिए। अनि दुई पार्टी एक हुने अवस्था बन्यो। त्यसमा वर्षमान भित्रैदेखि सहमत थिएनन्। एकता गरेर ठूलो पार्टी बनाउँदा संगठनले राम्रोसँग काम गर्न नसक्ने हुँदा चुनावी मोर्चाबन्दी मात्र गर्नुपर्ने उनको तर्क थियो।

तर, पार्टी नेतृत्वले गरेको निर्णय अस्वीकार गरेर जाने स्थिति थिएन। प्रचण्ड, जनार्दन शर्मालगायत नेताको जोडबलमा एमाले र माओवादीबीच चुनावी गठबन्धन बन्यो, अनि २०७५ जेठ ३ मा एमाले र माओवादीबीच एकता भएर नेकपा बन्यो।

आखिर वर्षमानले भने जस्तै भयो- पार्टी एकता लामो समय टिकेन। पार्टी अनेक विवादको भुमरीमा फस्यो। अन्ततः सर्वोच्च अदालतले नै २३ फागुन २०७७ मा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् रुपमा फर्काइदियो।

त्यसपछि ६ महिनासम्म पनि माओवादी केन्द्रले आफ्ना कमिटी र पार्टी कार्यालय पुनर्गठन गर्न सकेन। गएको भदौ ६ मा ‘आफ्नै धरातलमा टेक्ने गरी’ माओवादी केन्द्रमा नेताहरुको जिम्मेवारी तय गरियो। यो निर्णयपछि वर्षमान र जनार्दन फेरि चर्चामा आएका छन्।

अर्थमन्त्रीसमेत रहेका जनार्दनले पार्टीमा महत्वपूर्ण मानिने संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका छन्। वर्षमान अर्थ तथा योजना विभाग प्रमुख भएका छन्। उनलाई केन्द्रीय कार्यालय इञ्चार्जको जिम्मेवारीसमेत दिइएको छ।

पार्टीमा अध्यक्ष प्रचण्डपछिको वरीयतामा रहेका स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठलाई प्रवास कमिटी इञ्चार्ज बनाइएको छ। पार्टी प्रवक्ताको जिम्मेवारी उनीबाट कृष्णबहादुर महरातिर सारिएको छ। तर, यो निर्णयबाट श्रेष्ठलाई किनारा लगाउन खोजिएको भन्दै उनीनिकट नेता असन्तुष्ट छन्। यो कार्य विभाजनले माओवादी केन्द्रमा दुई नेता, वर्षमान र जनार्दनलाई नेतृत्वमा स्थापित गराउने प्रयास थालिएको विश्लेषण कतिपयको छ।

तत्कालीन नेकपामा जनार्दन निकै सक्रिय थिए। नेकपा गठनपछि वर्षमानले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग निकटता बढाएको आरोप थियो। ओली सरकारमा उनी उर्जामन्त्री थिए। त्यतिबेलै उनी प्रचण्डलाई छोडेर ओलीतिर गएको चर्चा थियो। तर, ओलीले गएको पुस ५ मा पहिलो पटक प्रतिनिधि सभा विघटन गरेपछि वर्षमान पनि मन्त्री पदबाट राजीनामा दिएर सडक संघर्षमा उत्रिए।

माओवादी केन्द्र ब्युँतिएपछि पार्टीमा फेरि वर्षमानको पल्ला भारी हुन थालेको नेताहरु बताउँछन्। केहीले भने वर्षमानले नेकपामा खेलेको भूमिकाका कारण अहिले उनलाई थन्काउन कम महत्वको जिम्मेवारी दिइएको पनि बताउँछन्।

माओवादी केन्द्रका स्थायी समिति सदस्य गणेश साह भने भविष्यमा पार्टी नेतृत्वमा पुर्‍याउने गरी वर्षमान र जनार्दनसँगै पम्फा भुसाललाई पनि ‘ग्रुम’ गर्न थालिएको बताउँछन्। ‘प्रचण्डपछिको नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा हुनुहुन्छ, उहाँहरु विकल्प बन्न नसके जनार्दन, वर्षमान र महिलामा पम्फा भुसाल नै तयार हुने हो,’ साहले भने, ‘तर, नेतृत्वमा पुग्नु चानचुने कुरा होइन। त्यसअनुसार आफूलाई विकसित गर्न सक्नुपर्छ।’

वर्षमानको बल

वर्षमान बल्ल ५० वर्षका भए। दुई पटक सांसद र तीन पटक मन्त्री भइसकेका छन्। उनी पहिलो संविधानसभा निर्वाचनमा ललितपुर–१ बाट निर्वाचित भई ३६ वर्षकै उम्मेरमा संसद भवन छिरे। झलनाथ खनाल नेतृत्वको सरकारमा शान्तिमन्त्री हुँदा ३९ वर्षका थिए। बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थ मन्त्रालयको बागडोर सम्हाल्दा ४० वर्षका थिए।

उनी लामो समयदेखि पार्टीको निर्णायक तहमा छन्। माओवादी केन्द्रले चुनावी तालमेल गर्दा होस् वा पार्टी एकताको निर्णय गर्दा, प्रचण्डलाई नजिकबाट सघाउनेमध्ये उनी पनि थिए। उनको राजनीतिक चातुर्य र व्यवस्थापन आश्चर्यलाग्दो भएको तत्कालीन नेकपा तथा अहिले एमालेका एक नेता बताउँछन्।

‘राजनीतिक चातुर्य, अन्तरविरोधलाई सजिलै हल गर्न सक्ने र विरोधीलाई पनि मिलाउन सक्ने उहाँमा अचम्मको क्षमता छ, रोल्पामा जन्मिएका नेतामध्ये राजनीतिक रुपमा त्यति सार्प कमै छन्,’ ती नेताले भने। त्यही क्षमताले नै वर्षमान पार्टीभित्र लगातार नेतृत्वको सिढीँ उक्लिरहेको विश्लेषण हुनथालेको छ।

पार्टी एकताका बेला उनले राखेको अडान त्यतिबेला प्रभावी बनेन, तर पछिबाट भने सान्दर्भिक ठहरियो। तत्कालीन नेकपा विभाजनपछि उनले एक भेटमा भनेका थिए– ‘नेपालमा पार्टी एकता गरेर ठूलो बनाउने भन्दा पनि आ–आफ्नै पार्टी चुस्त–दुरुस्त बनाएर गठबन्धनको सरकार बनाउँदा राम्रो हुँदोरहेछ भन्ने पुष्टि भयो। अब सबैले आ–आफ्नै पार्टी बलियो र व्यवस्थित बनाउन लाग्नु पर्छ।’

‘भेनेजुएलामा जस्तै गठबन्धनको सरकार बनाएर काम गर्नुपर्छ, मन्त्री र सांसद पनि उसैप्रति बफादार हुन्छन्,’ उनी भन्छन्, ‘त्यसपछि पार्टीमा यो गुट त्यो गुटको मान्छे बचाउने/फाल्ने लफडा हुँदैन।’ त्यसैले कुनै पार्टीसँग एकता नगरी माओवादी केन्द्रलाई आफ्नै संगठनमा जरा टेकाउनु पर्ने उनको मान्यता छ। वर्षमानको त्यही सोच बुझेरै प्रचण्डले उनलाई अहिले अर्थ विभागको जिम्मेवारी दिएका छन्।

उनको शक्ति भनेको पार्टी संगठनमा पकड पनि हो। माओवादी केन्द्रमा देशैभरिको पार्टी र जनवर्गीय संगठनमा वर्षमानको बलियो पकड छ। तर, पार्टीभित्र उनलाई ‘आर्थिक पारदर्शिता कमजोर भएको’ आरोप लाग्ने गरेको छ। एकाएक बढेको उनको ‘आर्थिक सामर्थ्य’लाई धेरैले आश्चर्यको रुपमा लिएका छन्।

त्यहीकारण पार्टीभित्र समकालीन नेता उनीसँग टक्कर लिनेभन्दा सहकार्य गर्नेतिर लाग्छन्। विपक्षी पनि उनको बढ्दो आर्थिक हैसियतकै कारण ‘टकराव’ भन्दा सहकार्यलाई महत्व दिन्छन्। विगतमा उनी आर्थिक चलखेलका केही काण्डमा फसेको चर्चा पनि थियो।

उनीमाथि पारिवारिक मोह देखाएको आरोप पनि छ। वर्षमान र श्रीमती ओनसरी घर्ती आलोपालो शक्तिमा रहने गरेका छन्। ओनसरी पूर्वसभामुख हुन्। माओवादीकै कतिपय नेताहरु उनको राजनीतिक र व्यक्तिगत जीवन पनि पारदर्शी नभएको टिप्पणी गर्छन्। तर, वर्षमाननिकट नेताहरु भने उनको प्रगति हेर्न नचाहनेहरुले आरोप लगाएको टिप्पणी गर्छन्

वर्षमानका उतारचढाव

वर्षमान २०२८ जेठ १८ मा रोल्पा नगरपालिका–७, माडिचौरमा जन्मिएका थिए। उनी माओवादी प्रवक्ता तथा तत्कालीन शिक्षक कृष्णबहादुर महराका विद्यार्थी पनि हुन्। विद्यालयमा महराले विज्ञान र गणित विषय बढाउँथे। बिहान बेलुका ट्यूसन पढाउँदा मार्क्सवादको पनि शिक्षा दिन्थे। त्यही कारण वर्षमान १४ वर्षकै उमेरमा वामपन्थी विद्यार्थी राजनीतिमा जोडिए।

त्यसपछि उच्च शिक्षा अध्ययन गर्न दाङको महेन्द्र बहुमुखी क्यापस झरे। दाङमा उनका सहकर्मी नन्दकिशोर पुन ‘पासाङ’, कुलप्रसाद केसी ‘सोनाम’, शक्तिबहादुर बस्नेतलगायत थिए। त्यहाँ आईएसम्मको अध्ययन पूरा गरेपछि उनी कानून पढ्न काठमाडौं हानिए।

तर, तत्कालीन नेकपा माओवादीले सशस्त्र संघर्षमा जाने निर्णय गरेपछि उनी पनि भूमिगत भए। ‘जनयुद्ध’कै क्रममा २०५३ सालमा रोल्पा जिल्ला सेक्रेटरी भएका उनी २०५५ सालमा केन्द्रीय सदस्य भएपछि सैन्य र राजनीतिक नेतृत्वमा तिखारिँदै गए।

त्यसलगत्तै सैन्य फाँटतर्फ पूर्वी क्षेत्रको कमाण्डर भए। त्यो उनको लागि भौगोलिक, भाषा र संस्कृतिका हिसाबले फरक प्रकारको चुनौती थियो। तर, त्यस चुनौतीलाई अनुकूलतामा बदलेर उनले माओवादी संगठन विस्तार गर्नुका साथै सैन्य हस्तक्षेप बढाउँदै लगे।

उनी २०५७ सालमा माओवादीको वैकल्पिक पोलिटब्यूरो सदस्य भए। त्यसको दुई वर्षपछि २०५९ सालमा पोलिटब्यूरो सदस्य र सैन्य क्षेत्रमा डेपुटी कमाण्डर भए।

वर्षमान २०६४ सालमा पहिलो संविधानसभामा निर्वाचित भएपछि २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा शान्ति तथा पुनर्निर्माण मन्त्री भए। अर्को वर्ष बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दा ‘बन्दुक समाउनेले कस्तो नेतृत्व गर्लान्!’ भन्दै शंका व्यक्त गरिएको थियो। अहिले वर्षमानलाई अर्थसम्बन्धी जानकार पूर्वअर्थमन्त्री समेत भन्ने गरिन्छ। दोस्रो संविधानसभा निर्वाचनमा उनले ठूलो चुनौती उठाए। पश्चिम क्षेत्रमा हुर्के बढेका उनी पूर्वको मोरङमा उम्मेदवार बने। तर, त्यहाँ पराजित भएपछि झण्डै चार वर्ष सत्ताबाहिरै रहे।

तर, २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा भने उनी आफ्नो गृहजिल्ला रोल्पा नै फर्किए र विजयी भए। एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा भएपछि उनको भूमिका केही खुम्चिएको थियो। तर, माओवादी केन्द्र फेरि अस्तित्वमा आएसँगै उनले प्रभाव फर्काउन थालेको देखिँदैछ। पछिल्लो कार्य विभाजनपछि भविष्यमा उनलाई माओवादी केन्द्रको नेतृत्वकर्ताको रुपमा समेत एकथरीले हेर्नथालेका छन्।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS