काठमाडौँ — नेकपा (एमाले)को बिहीबार काठमाडौं जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा मुख्यमन्त्रीसमेत रहेकी पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरेको आग्रहलाई अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् ।

त्यस्तै, १० बुँदे कार्यान्वयन गर्ने भन्दै एमालेमा नै रहेको भीम रावल, शाक्य, घनश्याम भुसाल, योगेश भट्टराईलगायतको समूहले माग गर्दै आएको २०७५ जेठ २ को पार्टी संरचनालाई पनि कार्यान्वयन गरिएन ।

कार्यकर्ता प्रशिक्षण कार्यक्रममा शाक्यले माधव नेपालले लिएको बाटो सही नभएको बताएकी थिइन् । लामो समय नेपालको पक्षमा लागेकी उनी वाग्मती प्रदेशको मुख्यमन्त्री बन्नु केही पहिला मात्रै ओलीको पक्षमा लागेकी थिइन् ।

कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पनि शाक्यले माधव नेपाललाई पार्टीमा फर्कन आग्रह गरिन् । उनले मुलुकमा फुटको नभई जुटको राजनीति आवश्यक रहेको बताइन् । ‘माधव नेपाल हामी सबैको नेता हो । माधव नेपाल हाम्रो अग्रज हो र उहाँले त्यै ढंगले काम गर्दै आउनुभएको छ । आज आफूले त्याग गरेको, दु:ख गरेको, समर्पण गरेको, सम्पूर्ण शक्ति, आफ्नो जीवन दिएको पार्टीलाई चटक्क त्यागेर नयाँ पार्टी गठन गरेर अनि जनमत सिर्जना गर्छु, आन्दोलन सिर्जना गर्छु भनेर भनेको कुरा सही हुन सक्दैन,’ यति समीक्षा सुनाएपछि शाक्यले भनिन्, ‘म अनुरोध गर्न चाहन्छु उहाँलाई आफूले दु:ख गरेको पार्टी, आफूले त्याग गरेको पार्टी, आफूले जन्माएको पार्टी, हामी सबै नेताहरू यसरी लागेको पार्टीमा फेरि पनि एकचोटी समीक्षा गर्नुस् । मनमनैमा समीक्षा गर्नुस् । फर्केर आउनुस् र एमालेलाई सुदृढ एमाले बनाउनको लागि तपाईंको भूमिका आवश्यकता छ ।’

आफूसँग गएको पार्टी कार्यकर्ता र नेताको पंक्तिलाई अल्मल्याएर नराख्न र एमालेमा फर्किन माधव नेपाललाई मुख्यमन्त्री तथा उपाध्यक्ष शाक्यले अनुरोध गरेकी थिइन् ।

एमाले विभाजनको डीलमा पुगेपछि वाग्मती प्रदेशको मुख्यमन्त्रीको पदमा पुगेकी शाक्य विभाजनपछि अल्पमतमा छिन् । नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले मुख्यमन्त्री पदमा दाबी गरिरहेको छ र गठबन्धनका कांग्रेस र माओवादीसँग छलफल गरिरहेको छ । शाक्यलाई मुख्यमन्त्रीबाट हटाएर आफू हुनुपर्ने नेकपा (एस)को दाबी र पहल छ । यस्तो अवस्थामा शाक्यले नेपाललाई पार्टीमा फर्किन र एमालेलाई सुदृढ बनाएर अगाडि बढाउन अनुरोध गरेकी थिइन् ।

शाक्यको उक्त अनुरोधलाई अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरिदिएका छन् । कार्यक्रमको अन्तिममा बोलेका ओलीले माधव नेपाललाई पार्टीमा ठाउँ नभएको भन्दै के गर्न बोलाएको हो ? भनेर प्रश्न समेत गरे । ‘हुन त केही साथीहरू अहिले पनि भन्नुहुन्छ ‘माधव कामरेड आउनुस्, तपाईंको आवश्यकता छ’ भनेर । फुटाउनलाई आवश्यकता छ अब उहाँको यहाँ ? फेरि फुटाउने ? के गर्न आवश्यकता छ माधव कामरेडको ? म त बुझ्दिनँ । केलाई आवश्यकता छ ?,’ उनले एकपछि अर्को प्रश्न गरेर नेपालको किन आवश्यकता छ भनेको भनेर सोधेका थिए ।

नेपाल पार्टीमा रहेको बेलासम्म गुटबन्दीबाहेक केही नभएको ओलीको भनाइ थियो । उनले आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष रहेको बेला नेपालले पार्टी र सरकारको पक्षमा एक शब्द नबोलेकोमा पनि असन्तुष्टि जनाए । प्रतिपक्षीले पनि नगर्ने विरोध नेपालले गरेको ओलीको भनाइ थियो ।

लामो समय सँगै काम गरेकाले फर्किए हुन्थ्यो भन्ने लाग्ने तर त्यस्तो मान्न छोडिदिन ओलीले सुझाए । ‘लामो समय सँगै काम गरेपछि अलि माया ममता हुन्छ क्या, त्यसकारण अलिअलि लोभ लाग्छ साथीभाइको त्यो लोभ छोडिदिनुपर्छ अब । काम छैन त्यस्तो लोभको,’ उनले भने ।

ओलीले माधव नेपाललाई नभई उनीसँग गएका नेता र कार्यकर्ताहरूलाई भने पार्टीमा फर्किन आग्रह गरेका थिए । ‘म माधव नेपाललाई भन्दिनँ । माधव नेपालले अल्मल्याइएका, झुक्याइएका, भ्रममा पारिएका साथीहरू फर्किनुस् । कार्यकर्ता फर्किनुस् । झुक्किएका साथीहरू फर्किनुस्,’ उनको आग्रह थियो ।

थापा नै एमाले वाग्मती प्रदेशको ईन्चार्ज !

कार्यकर्तालाई प्रशिक्षण दिनका लागि वाग्मती प्रदेश मुख्यमन्त्री तथा उपाध्यक्ष शाक्यसँगै माओवादीबाट एमालेमा लागेका रामबहादुर थापा पनि उपस्थित थिए ।

थापाले २०७७ फागुन २३ गतेको सर्वोच्चको फैसलापछि पुनर्जिवित भएको एमाले रोजेका थिए । सोही फागुन २८ गते पार्टी विधानको बाधा अड्काउ फुकाउ गरेर अध्यक्ष ओलीले वाग्मती प्रदेश पार्टी संगठनको इन्चार्ज रामबहादुर थापालाई बनाएका थिए ।

असार २७ गतेको १० बुँदे सहमतिपछि एमाले २०७५ जेठ २ गतेको पार्टी संगठन संरचना र नेतृत्वमा ब्युँतिने भनियो । सोही अनुसार भीम रावल, अष्टलक्ष्मी शाक्यलगायत एमालेमै रहे । लामो समय माधव नेपालाई साथ दिएका उनीहरूलाई पुरानै जिम्मेवारी दिइने भनिएको थियो । तर वाग्मतीको इन्चार्ज रहेकी शाक्य र सुदूरपश्चिमको इन्चार्ज रहेका रावलले उक्त जिम्मेवारी पाएका छैनन् ।

काठमाडौंका कार्यकर्ता प्रशिक्षण कार्यक्रममा जहाँ अध्यक्ष ओली पनि उपस्थित थिए । कार्यक्रम सञ्चालकले शाक्यलाई मुख्यमन्त्री र पार्टी उपाध्यक्षका हैसियतमा प्रशिक्षण दिन बोलाएका थिए ।

रामबहादुर थापालाई भने वाग्मती प्रदेशको इन्चार्ज तथा स्थायी कमिटी सदस्यका हैसियतमा कार्यकर्तालाई प्रशिक्षण दिन भनिएको थियो ।

सुदूरपश्चिम प्रदेशको इन्चार्जमा पनि ओलीले गत फागुन २८ गते जिम्मेवारी पाएका लेखराज भट्टलाई नै निरन्तरता दिएका छन् । रावलले १० बुँदे सहमति अनुसार उक्त जिम्मेवारी फिर्ता माग्दा पनि ओलीले २०७५ को जेठ २ जस्ताको तस्तै नफर्किने जवाफ दिएका छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS