नेकपा(एमाले)का स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले आफूहरूको सहयोगबिना संसदबाट एमसिसी पास गर्न चुनौती दिएका छन्। शुक्रबार काठमाडौंमा आयोजित ‘नयाँ सरकारको कूटनीतिक अभिमुखीकरण:सम्भाव्य विश्लेषण’ विषयक विचार गोष्ठीमा बोल्दै नेता ज्ञवालीले वर्तमान सरकारसँग बहुमत रहेकाले प्रतिपक्षी दलको सहयोगबिना एमसिसी संसदबाट पास गर्न चुनौती दिएका हुन्।

विगतमा एमाले नेतृत्वको सरकारले एमसिसी पास गर्न खोज्दा वर्तमान सत्ता गठबन्धनकै दलहरूले सडकमा आगो बालेको भन्दै सम्झौता गलत भए किन सम्झौता गरेको भन्ने प्रश्न समेत गरे। उनले सम्झौता सही थियो भने संसदबाट पास गर्न किन रोकिएको हो भन्ने प्रश्न पनि गरे।

एमसिसी पास गर्न प्रतिपक्षको सहयोग मागेको भन्दै उनले अब सरकारले संसदमा प्रस्ताव ल्याएपछि मात्रै आफूहरूको धारणा सार्वजनिक गर्ने स्पष्ट पारे।

उनले भने, ‘त्यो सम्झौता ठिक थियो भने अघिल्लो सरकारले यसलाई अगाडि बढाऔं भनेकै हो। किनभने दुई देशबीचको सम्झौता भइसकेपछि सरकार आएपिच्छे फेर्दै जाने हो भनेदेखि त त्यो त कहिल्यै पनि दुई देशबीचका सम्बन्ध दीगो हुन सक्दैनन्। सरकार भनेको एउटा अविछिन्न उत्तराधिकारीवाला संस्था हो। अघिल्लो सरकारले गरेको भए पनि यसलाई अगाडि बढाऔं भन्दा आगो बाल्नु भो उहाँहरूले। सम्झौता गर्ने उहाँहरू गाली खाने केपी ओली। सम्झौता गर्ने उहाँहरू गाली खाने हामी त्यतिबेलाका सरकारमा रहेका मान्छेहरू। यदि त्यो गलत थियो भने सम्झौता किन गर्नुभो तपाईंहरूले ? यदि सही थियो भने त्यसलाई पास हुनबाट रोक्नु भो किन तपाईंहरूले ? अनि आज प्रतिपक्षको सहयोग खोजिरहनुभएको छ। आज उहाँहरूसँग संख्या छ उहाँहरूले अगाडि बढाउने हो भने अगाडि बढाए हुन्छ। जे भन्नुपर्ला प्रस्ताव आइसकेपछि त्यति नै बेला हामीले आफ्नो पोजिसनहरू क्लियर गरौंला।’

नेता ज्ञवालीले एमसिसीलाई आन्तरिक राजनीतिको किचलोको विषय बनाउनु नहुने बताए। यसले छिमेकी राष्ट्रहरूमा देशको विश्वसनीयतालाई कमजोर गराउने उनको तर्क छ। उनले सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समस्याको रूपमा लिएको भन्दै सीमा समस्या नै नभएको चीनसँग भने सीमा समस्या देखाएर सम्बन्धमा चिसोपन निम्त्याउने काम गरेको बताए।

उनले भने, ‘जहाँ समस्या छ, त्यहाँ समाधान नखोज्ने। त्यहाँ पहल नगर्ने। जहाँ समस्या छैन त्यहाँ एकतर्फी ढंगले हल्लाखल्ला गरेर सीमा मिचिएको पहिल्यै निष्कर्ष निकालेर, पहिलै निष्कर्ष निकालिसक्नु भो उहाँहरूले। यो नियमित अनुगमन त होइन। पहिल्यै मिचिएको निष्कर्ष निकालेर जे गर्नुभएको छ यो वर्तमान सरकारले दुई देशबीचको सम्बन्धलाई अनावश्यक चिसोपन निम्त्याउने काम गरेको छ।’ नेता ज्ञवालीले दुवै छिमेकी राष्ट्रहरूसँग सन्तुलित र परिपक्व सम्बन्ध राखेर अघि बढ्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया

RELATED POSTS