काठमाडौं । संसदको गत्यावरोध अन्त्यको प्रयासमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेटेका छन् । बिहीबार नेकपा एमालेका अध्यक्ष ओलीलाई भेटेका कानूनमन्त्री कार्कीले बजेटसँगै महत्वपूर्ण अध्यादेशहरु पास गर्नुपर्ने भएकाले संसद सुचारु गर्नुपर्ने बताएका थिए । ओलीसँग आफ्नो लामो छलफल भएको भन्दै उनले भने, ‘संसद सुचारु गरौं । बजेट पास गरौं । अघिल्लो सरकारले ल्याएका धेरै महत्वपूर्ण अध्यादेशहरु छन्, त्यसलाई चाँडै पारित गरौं भनेर आग्रह गरेको छु ।’

तर एमालेले भने यथास्थितिमा ४ असोजका लागि बोलाइएको बैठकमा पनि अवरोध कायमै राख्ने बताएको छ । आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर दल विभाजनमा भूमिका खेलेको भन्दै एमालेले सभामुखमाथि प्रश्न उठाएर २३ भदौयता संसदमा नाराबाजी गर्दै आएको छ । एमालेको नाराबाजीका बीच राजनीतिक दलसम्बन्धी ऐन र बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश भयो ।

तर ३० भदौभित्र प्रतिस्थापन विधेयक पास नभएका कारण सरकारले खर्च गर्न नपाउने अवस्था आएको छ ।

संसदको अवरोध हटाउने प्रयासमा सभामुखले सर्वदलीय बैठक बोलाएका थिए, तर एमाले सहभागी नै भएन । यद्यपि सत्तापक्षसँग सम्वाद गर्न भने आफूहरु तयार रहेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए । ‘त्यसअनुसार कुराकानी भइरहन्छ, तर मुद्दामा कुनै प्रगति भएको छैन,’ उनले भने ।

तपाईको प्रतिक्रिया

RELATED POSTS