मोरङ — सत्तारुढ दल कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक हिसाबले अघि बढेको आरोप लगाएका छन् । विराटनगरमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले संसद् छलेर अध्यादेशबाट देश चलाउनु लोकतान्त्रिक तरिका हो भन्दै प्रतिप्रश्न गरेका हुन् ।

‘चलिरहेको संसद् बन्द गरेर दल विभाजनसम्बन्धी अध्यादेश सरकारले ल्यायो,’ उनले भने, ‘संसद् छलेर अध्यादेश त ल्याउनु हुँदैन नी ! सरकार अलोकतान्त्रिक हिसाबले अघि बढ्दै छ भन्ने कुरा त देखिराख्या छ त ।’

कांग्रेस नेतृत्वकै सरकार भएपनि गलत कुराहरुको विरुद्धमा बोल्नैपर्ने कोइरालाको भनाइ थियो । सरकार गठन भएको ६७ दिन बित्दा पनि मन्त्रिपरिषद् विस्तार हुन नसक्नु र ५ जनाले सरकार चलाउन नसक्नुलाई लोकतान्त्रिक सरकार भन्न मिल्छ भन्दै कोइरालाले प्रश्न गरे ।

कांग्रेसलाई लोकतान्त्रिक पार्टी भनिन्छ तर अलोकतान्त्रिक प्रवृत्तिबाट विधि, विधान सबैलाई मिचेर अगाडि बढिरहेको भन्दै उनले प्रश्न उठाए । ‘अहिले पनि प्रधानमन्त्री समेत रहनु भएका सभापति देउवाले पार्टीको विभागहरुमा नाम ल्याइराख्नु भएको छ,’ उनले भने, ‘त्यसको विरुद्ध हामी लडिरहेका छौं ।’

उनले नेतृत्व परिवर्तनले मात्रै कांग्रेस लोकतान्त्रिक तरिकाले अघि बढ्न सक्ने बताए । ‘हामीले पार्टीको नेतृत्व परिवर्तनका लागि जिल्ला अधिवेशनपछि उम्मेदवारी घोषणा गर्छौं,’ उनले भने, ‘कोइराला परिवार बाहेकका पनि धेरै जना सभापतिका आकांक्षी हुनुहुन्छ त्यसैले सबैलाई मिलाएर हामी अघि बढ्छौं ।’

कोइरालाले एमसीसीको विषयमा राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्ने बताए । ‘एमसीसीमा केही प्रावधानहरु छन् । देशका कानुनहरु भनेको छ तर कानुन र संविधान भनेको दुई बेग्ला बेगलै कुरा हुन्,’ उनले भने, ‘संविधानमाथि त एमसीसीको कानुन लागू हुँदैन होला । त्यो नेताहरुले बुझाउन सक्नु पर्यो नी ।’ उनले एमसीसीको विषयमा सबभन्दा पहिले देशमा प्रधानमन्त्री भइसकेका व्यक्तिहरु एक ठाउँ उभिएर सहमति गरी अघि बढ्नुपर्ने बताए ।

यस्तै,नेता कोइरालाले प्रदेश १ र वाग्मती प्रदेशमध्ये एउटामा कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गरे । उनले निर्वाचनमा अहिलेको गठबन्धनसँग मिलेर कांग्रेस नजाने पनि बताए ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS