काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले मुलुकमा अझै पनि भ्रष्टाचार भइरहेको बताएका छन् । नेपाल निजामती कर्मचारी संगठनको आठौं केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै मुलुकमा सेटिङमा अनियमितता भइरहेको आरोप लगाए ओलीले भने, ‘देशमा अझै पनि भ्रष्टाचार छ । देखे कारबाही गर्ने नदेखे त फेरि, नदेखेको त एकदम राम्रै शुद्धै भइगो !’

कर्मचारीले नदेखिने गरी पनि भ्रष्टाचार गर्न नहुने ओलीले बताए । एमाले निकट संगठनमा रहेका कर्मचारीले स्वच्छताको प्रतीक र उदाहरण हुनुपर्ने निर्देशन दिँदै उनले भ्रष्टाचारको विरोध गर्ने उदाहरणीय बन्नुपर्ने बताए । प्रधानमन्त्रीमा नियुक्त भएकै दिन आफूले भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने नीति लिएको उनले स्मरण गरे ।

कर्मचारीले ‘कसैले घूस दिए खान्न भन्ने हिम्मत गर्नुपर्ने’ ओलीको भनाइ थियो । उनले कर्मचारीलाई सरकारले तलब दिएकाले जनताको सेवामा लाग्नुपर्ने र सरकारलाई भ्रष्टाचार गर्न नदिनका निम्ति खबरदारी पनि गर्नुपर्ने उनले निर्देशन दिए । कर्मचारीको कर्तव्य सेवा उपलब्ध गराउने भएकाले त्यसमा तलमाथि गर्न नहुने उनको भनाइ थियो ।

सरकारले सेटिङमा अर्बौँ रुपैयाँ तलमाथि पर्ने गरी करको दर हेरफेर गरेको ओलीको भनाइ थियो । आम मानिस र सञ्चार माध्यमले समेत सरकारको सेटिङको बारेमा कुरा उठाइरहेको भन्दै उनले सरकारले सेटिङ गरेको छैन भन्ने ठाउँ नरहेको पनि दाबी गरे । ‘आज देखिन थाल्या छ, सोझै सेटिङमा कसलाई भन्सार छुट दिने, कसलाई भन्सार नदिने, के गर्ने कसो गर्ने भन्ने यो अर्बौँको खेल भइसक्यो । कसरी यतिबेर यो बिचमा आएर करका दरहरू, यत्रो ठूलो ढंगले देशलाई करोडौंको, अर्बौंको मात्र होइन खर्बौँको तलमाथि पर्नेगरी कसरी हेरफेर गरियो ? सबै सेटिङ होइन भन्न सकिने ठाउँ छैन,’ उनले भने, ‘मान्छेहरू खुलेआम भनिराखेका छन् यो सेटिङ हो, सञ्चार माध्यम लेखिराखेको छ, बोलिराखेको छ सेटिङ भयो । भएन भन्ने ठाउँ छैन ।’

अध्यक्ष ओलीले आफ्नो पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनमा आबद्ध कर्मचारीहरूलाई जुनसुकै पार्टीको भएपनि वर्तमान सरकारलाई सहयोग गर्न निर्देशन दिएका थिए । जुन पार्टीको सरकार भएपनि कर्मचारीहरूले आफ्नो कर्तव्य, नियम, कानूनको परिधिभित्र रहेर सक्रियताका साथ भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । ‘हाम्रो काम देशको सेवा गर्ने हो । जनताको सेवा गर्ने हो । कर्तव्यनिष्ठ भएर सेवा गर्ने हो । त्यसकारण कुन सरकार छ भन्ने कुरा होइन, आफ्नो कर्तव्य नियम, कानून बमोजिम, नियम, कानूनको परिधिभित्र रहेर आफ्नो कर्तव्य जुनसुकै सरकार आओस् तपाईहरूले सक्रियताका साथ निर्वाह गर्नुपर्छ । सरकारलाई असहयोग गर्ने होइन,’ उनले भने ।

कर्मचारीहरुले कुनै पार्टीको सदस्य नभएर राष्ट्रको सेवकको रुपमा सेवा पुर्‍याउनुपर्ने अध्यक्ष ओलीले बताए । सेवाग्राहीको सेवा पाउने अधिकार भएकाले कर्मचारीको सेवा दिनुपर्ने कर्तव्य ठानेर काम गर्न उनले आग्रह गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS