धेरैका लागि यो तस्वीर पुँजीवादी असमानताको एक आदर्श तस्वीर हो । मेक्सिकोको तिजुआना सहरमा अमेजनको विशाल वितरण केन्द्रको चारैतर्फ रहेको गरिबीको तस्वीर छिमेकको सम्पन्नताको ठ्याक्कै विपरित छ ।

इन्टरनेट प्रयोगकर्ताको ध्यान यसतर्फ गएको छैन कि कसरी संसारको सबैभन्दा धनी व्यक्तिको तथा पृथ्वीको सबैभन्दा विश्वव्यापी बनेको व्यवसायको रुपमा रहेको अमेजनको नजिकै पनि दुईछाक खानका लागि तड्पिरहेको मानिसहरु बस्दछन् ।

ट्वीटरमा कसैले २ करोड १० लाख डलर लगानीको उक्त वितरण केन्द्रको तस्वीरलाई दुर्भाग्यपूर्ण भनेका छन् भने कसैले लेखेका छन्, ‘पुँजीवाद आखिर किन खराब छ ?’

भाइरल बनेको एक फोटो पत्रकारको तस्वीर

फोटो पत्रकार उमर मार्टिनेजले खिचेको एक हवाई तस्वीर सार्वजनिक भएसँगै त्यो चर्चाको विषय बन्यो र त्यसमाथि बहस छेँडियो ।

४१ वर्षका मार्टिनेज मेक्सिकोको कुआर्टोस्कोरो एजेन्सीमा कार्यरत छन् र उनी अमेरिकाको सीमाक्षेत्रमा पर्ने मेक्सिकन सहर तिजुआनामा बस्दछन् ।

मार्टिनेजले भनेका छन्, ‘मैले आफ्नो सहरमा रहेको ठूलो विसंगतिलाई देखाउने उद्धेश्यले उक्त तस्वीर खिचेको हुँ । मेरो तस्वीरले व्यापक बहस सिर्जना गरेकोमा म खुसी छु ।’

उनका अनुसार त्यो तस्वीर खिच्न निकै मुस्किल थियो, किनकी त्यो क्षेत्रमा सीमानामा पर्नुका साथै असुरक्षित पनि छ । अन्त्यमा उनले ड्रोनबाट उक्त तस्वीर खिचे ।

उक्त ठाउँ एउटा ढल नहरको छेउँमै छ । त्यहाँ धेरै गुण्डाहरु तथा लागुऔषत कारोबारी बस्दछन् । त्यसैले त्यो निकै असुरक्षित ठाउँ हो ।

विश्वव्यापी पुँजीवाद

क्यालिफोर्निया विश्वविद्यालयको वैश्विक अध्ययन विभागका सहायक प्राध्यापक चार्माइन चुआले यस विषयमा ट्वीटरमा लेखेका छन्, ‘नयाँ तिजुआना डिसी वितरण केन्द्र स्थानीय बजारको आवश्यकताका लागि बनेको होइन । यसले सीमापारबाट आयात भएर आउने मालसामानलाई छुट्टाउनका लागि मेक्सिकोका अतिशोषित श्रमिकलाई रोजगारी दिनेछ ।’

चुआका अनुसार यो क्षेत्र लस एन्जल्स लंग बीचको बन्दरगाह परिसरको नजिकै छ र अमेजनले आफ्नो ४० प्रतिशत व्यापारका लागि यसको प्रयोग गर्दछ ।

अमेरिका र चीनबीच व्यापार युद्ध तिव्र बनेको छ । त्यसैले भन्सारका कारण दुई देशबीचको सिधा व्यापार निकै महंगो बनेको छ । चुआ भन्छन्, ‘अनि यसको सामाधान के त ? मेक्सिको ।’

सस्तो श्रम

अमेरिका-मेक्सिको सीमामा बन्दोबस्तीका विषयमा शोध गरिरहेका क्यालिफोर्निया इरविन विश्वविद्यालयका शोधकर्ता स्पेन्सर पोटिकरका अनुसार अमेरिकाको तुलनामा मेक्सिकोमा श्रमको लागत निकै कम छ ।

उनी भन्छन्, ‘अमेरिकामा एकजना कर्मचारीको ज्याला कम्तिमा १५ डलर प्रतिघण्टा छ, जबकि मेक्सिकोमा यो २ देखि ४ डलर सम्म मात्रै रहेको छ ।’

तिजुआनामा रहेको अमेजनको वितरण केन्द्रले विश्वव्यापी असमानताको प्रतिनिधित्व गर्दछ र सीमाको दुबैतर्फ वितरण केन्द्रहरुको विकासको बढ्दो प्रवृत्तिलाई पनि देखाउँदछ ।

रोयटर्सले गत अप्रिलमा प्रकाशित गरेको एक रिपोर्टले मेक्सिको सिटी नजिकै रहेको अमेजनको एक वितरण केन्द्रमा कर्मचारीहरुलाई निर्धारित समयभन्दा बढि काम गर्न बाध्य पारिएको खुलासा गरेको थियो । उक्त रिपोर्ट अनुसार धेरै काम नगर्ने मजदुरहरुलाई कामबाटै निकालिएको थियो ।

अमेरिकामा काम गर्ने माहौल पनि विवादले घेरिएको छ । गत वर्षको अप्रिलमा अमेजनले आफ्ना केही गाडी चालकहरुले कम समयमै सामान आपूर्ति गर्नुपर्ने बाध्यताका कारण बोतलमै पिसाब फेर्नुपर्ने बाध्यता रहेको स्विकार गरेको थियो ।

वितरण केन्द्रबाट विकास

सोसल मिडियामा अमेजनको वितरण केन्द्र निकै विवादित बने तापनि तिजुआनाका मेयर भने त्यस्तो आलोचनालाई खारेज गर्दछन् । अमेजनको गोदाम तथा वितरण केन्द्रका कारण त्यस ठाउँको विकास हुने उनको दाबी छ ।

उनका अनुसार नयाँ लगानीबाट नयाँ रोजगारी सिर्जना हुन्छन् र आर्थिक गतिविधिमा बढोत्तरी हुन्छन् जसले त्यहाँका बासिन्दालाई नै लाभ पुग्दछ ।

अमेजन कम्पनीको भनाई पनि त्यस्तै छ । आफ्नो कम्पनीले जुन देशमा सञ्चालित हुन्छ सो देशको विकासका लागि आफु प्रतिबद्ध हुने अमेजनको दाबी छ । अमेजनका अनुसार तिजुआनास्थित सो गोदाम मेक्सिकोमा रहेको अमेजनको ११ औँ गोदाम हो ।

अमेजनले भनेको छ, ‘मेक्सिकोमा आएसँगै हामीले १५ हजार भन्दा धेरैलाई रोजगारी दिइसकेका छौँ । अहिले हामी तिजुआनामा २ सय ५० जनालाई रोजगारी दिइरहेका छौँ । हामी सबै कर्मचारीहरुलाई राम्रो तलब र लाभका साथै रोजगारीको अवसर दिइरहेका छौँ ।’ बीबीसी

 

तपाईको प्रतिक्रिया

RELATED POSTS