अजय कुइँकेल बुढानिलकण्ठ नगरपालिका-१२, कपनको मिलन चोकमा बस्छन्। उनी त्यहीँ हुर्किएका हुन्। दिउँसो एउटा सहकारीमा जागिर खान्छन् र साँझपख बुवाको ‘कुमार बेकरी एन्ड डेरी पसल’ मा बस्छन्। मंगलबार राति उनी सधैंझैं पसलमा बुवालाई सघाउँदै थिए। बाहिर झमझम पानी पर्दै थियो।

अजयको घरअगाडि एउटा बाटो छ जहाँ कुनै समय खहरे खोला बग्थ्यो। यही खोला काठमाडौं-६ र बुढानिलकण्ठ-१२ को सिमाना पनि हो। बढ्दो सहरीकरणले नदीखोला मिच्दै जाने क्रममा कपनको यो खहरे खोलामाथि ग्राभेल बाटो बन्यो र बाटोमुनि खोलाको पानी पठाउन ह्युम पाइप राखियो।

ग्राभेल गरिएको बाटो जुन ठाउँमा पुगेर ढलान सडकसँग जोडिन्छ, त्यहीँनिर बीच बाटोमै धेरै दिनदेखि ढल ह्वांगै छ। झमझम वर्षा हुँदा यो ह्वांग ढलमा पानी बढेर बाटो जलाम्य हुन्छ। घर-घरमा पानी पस्छ। मंगलबार पनि पानी बढेर घुँडासम्म आएको अजय बताउँछन्।

‘पानी घट्ने छाँट नदेखेपछि मैले पसलबाहिर टाँगिएका सामान हतारहतार भित्र थन्क्याएँ, अनि पसलबाट बाहिर हेर्दै बसेँ,’ उनले भने, ‘यस्तो बेला मलाई ह्वांग परेको ढलमा कोही खस्छ कि, बाइक दुर्घटनामा पो पर्छ कि भन्ने चिन्ता लागिरहन्छ।’

त्यत्तिकैमा अन्दाजी १० वर्षको बालक पानीमा रुझ्दै, उफ्रिँदै, नाच्दै आयो। ऊ आफ्नै सुरमा थियो। बच्चालाई त्यसरी हुत्तिँदै आएको देखेपछि अजयलाई डर लाग्यो। उनी पसलबाटै आत्तिँदै कराए, ‘भाइ… पख पख… एकछिन पख।’

उनी चिच्याएको सुनेर वरिपरि पसलका मान्छे हेर्न आए। तर एक सुरमा रमाउँदै दौडिरहेको बालकले अजय कराएको सुनेन वा वास्ता गरेन। ऊ हेर्दाहेर्दै ढलमा खस्यो।

‘त्यो भाइले ठूलो मान्छेले भनेको किन मान्नु भन्ठान्यो कि! बाटोमा पानी जमेको होला, म त्यही पानीमा छप्ल्यांग गर्दै उफ्रिन्छु पो भन्ठान्यो कि!’ बालकलाई ढलमा खसेको प्रत्यक्ष देखेका अजयले भने, ‘पख भाइ पख भन्दाभन्दै ऊ ढलमा खसिहाल्यो। सबैतिर पानी जमेकाले कहाँ ढल हो, कहाँ बाटो भन्ने पनि राम्ररी देखिएको थिएन।’ बालक ढलमा हराएपछि वरिपरिका सबै नजिक गए तर बचाउन सकेनन्।

लगत्तै अजयले राति ८ बजेर २० मिनेट जाँदा प्रहरीको कन्ट्रोल नम्बर १०० मा खबर गरे। केही बेरमै प्रहरी आइपुग्यो। तर पानीको तीव्र बहावका कारण कसैले केही गर्न सकेनन्। प्रहरीले राति ११ बजेसम्म खोजतलास गर्दा पनि बालक फेला परेन।

त्यति बेलासम्म बालकको पहिचान पनि खुलेको थिएन। बालक हराएको कुनै उजुरी प्रहरी कार्यालयमा आइसकेको थिएन।

केही सिप नलागेपछि प्रहरी र स्थानीय घर फर्किए। अजय पनि घर फर्किए। उनलाई रातभरि त्यो घटना झल्झल्ती याद आइरह्यो। बालक देखापरिहाल्छ कि भनेर कयौंचोटि झ्यालबाट पनि हेरे। तर, त्यहाँ छ्यालब्याल पानीबाहेक बच्चाको नामनिसान थिएन। आफूले रोक्ने प्रयास गर्दागर्दै बच्चा ढलमा खसेकाले पनि पछुतो लागिरहेको उनी बताउँछन्।

‘आफ्नै गल्ती हो कि जस्तो लागिरहेको छ,’ अजयले भने, ‘खोला मात्रै भइदिएको भए पौडिएर बचाउन सकिन्थ्यो होला तर त्यत्रो झरी बेला ढलमा एकचोटि खसेपछि चाहेर पनि केही गर्न सकेनौं। खस्नेबित्तिकै एक सेकेन्डमै ह्युम पाइपभित्र बच्चा कता हरायो कता!’

उनका अनुसार त्यो ह्वांग ढलमाथि ढलान गर्ने काम केही महिना अघिसम्म चल्दै थियो। बर्खा सुरू भएपछि काम रोकियो। त्यो ठाउँ खुल्लै रह्यो। दुर्घटना नहोस् भनेर स्थानीयले केही नगरेका पनि होइनन्। उनीहरूले चारैतिरबाट बाँस लगाएर रिबन टाँगेका थिए। तर बाढीले बाँसको बार र रिबन पनि बगायो।

‘यति गहिरो ढल यत्तिकै खुला राख्नुहुन्न भनेर बारम्बार भन्दा पनि कसैले वास्ता गरेनन्। अहिले यस्तो दुर्घटना भोग्नुपर्यो,’ अजयले भने।

महानगरीय प्रहरी प्रभाग कपन र सामाखुसीस्थित विपद व्यवस्थापनबाट १३ जनाको प्रहरी टोलीले बुधबार बिहानै घटनास्थल पुगेर बालकको खोजी सुरू गरेको थियो। ह्युम पाइपभित्रै पसेर खोज्दा पनि बालक फेला नपरेको कपनकी प्रमुख प्रहरी निरीक्षक भगवती तिमल्सेनाले बताइन्।

‘टोलीले पाइपभित्र हेर्न मिल्ने जति सबै ठाउँमा खोज्यो। यो ढलबाट बग्ने पानी धोबीखोलामा मिसिन्छ, हामीले त्यहाँ पनि गएर हेर्यौं। तर अहिलेसम्म बालक फेला परेको छैन,’ उनले भनिन्।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बालकको खोजी जारी रहेको र यसको निम्ति सबै संयन्त्रलाई पत्राचार गरिएको जानकारी दिए।

कपनको प्रहरी कार्यालयमा अहिले दुईवटा बच्चा हराएको उजुरी परेको छ। एउटा बच्चा बिहानैदेखि हराएको र अर्को बेलुकी हराएको भन्ने उजुरी परेको हो। बेलुकी हराएको भनिएको बालक नै ढलमा खसेर बेपत्ता भएको हुनसक्छ तर नभेटिएसम्म पहिचान ठ्याक्कै भन्न नसकिने प्रहरी अधिकारीहरू बताउँछन्।

उजुरी परेकामध्ये एउटा बालक गएराति हजुरबुवासँग फुपूको घरबाट निस्किएका थिए। फुपूको घर कपनको खरिबोटमा छ। हजुरबुवा र हजुरआमा साततले भन्ने ठाउँमा बस्छन्। ती बालक सानैदेखि आफ्ना हजुरबुवा-हजुरआमा र फुपूसँग हुर्किएका हुन्। गएराति हजुरबुवा र नाति खरिबोटबाट साततले फर्कंदै थिए। पानी धेरै परेको हुँदा उनीहरू बीचबाटोमै ओत लागेर बसे। त्यति बेला हजुरबुवाले रक्सीसमेत खाएको खुलेको छ।

ओत लाग्ने क्रममा नाति कति बेला छुटे भन्ने हजुरबुवाले पत्तो नै पाएनन्। केही समयमा पानी रोकिएपछि बल्ल उनलाई नाति आफूसँग नभएको थाहा भयो। एक्लै घर गयो कि भन्ठानेर उनी सरासर घरै गए। त्यहाँ पनि नातिलाई नदेखेपछि फुपूकै घरमै फर्कियो कि भन्ठाने। तर बुधबार बिहान फुपूलाई सोध्दा ऊ त्यहाँ पनि थिएन।

प्रहरीले ढलमा खसेको बालक उही हो कि भनेर उसको तस्बिर प्रत्यक्षदर्शीहरूलाई देखाएका पनि थिए। तर रातको समय र झमझम पानी परिरहेकाले बालकको अनुहार कसैले याद गर्न भ्याएनन्।

‘तस्बिर हेर्दा मैले उही हो भनेर भन्न सकिनँ। घटना यति छिटोछिटो भयो, मलाई अनुहारै याद छैन,’ अजयले भने।

बुढानिलकण्ठ नगरपालिका-१२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराईका अनुसार यो सडक ढलान सिँचाइ विभागले गर्दै आएको थियो। बर्खा सुरू भएपछि उसले काम बन्द गर्यो।

‘गत वर्ष ४० लाखको बजेट थियो,’ वडाध्यक्ष भट्टराईले भने, ‘उनीहरू आफैंले टेन्डर पारे। बाँकी ४५ मिटर दोभानसम्मको बाटो बनाउन अर्को टेन्डर गराइँदैछ। उनीहरू काम गर्न आइसकेपछि मात्र हामीलाई थाहा हुन्छ। हामीसँग न सम्झौता हुन्छ, न समन्वय गरिन्छ।’

उनले अगाडि भने, ‘अहिले जो बच्चा त्यहाँ खसेर हरायो, उसको ठाउँमा तपाईं-हाम्रो जसको पनि बच्चा पर्न सक्थ्यो।’ यो घटनापछि उनले सडक विभागमा गएर छलफल गरे। अहिले त्यहाँ ढल वरिपरि स्टिलका बार लगाइएका छन्।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS