यातायात व्यवस्था विभागले गत साउनदेखि लागू हुने गरी सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षाका लागि नयाँ मापदण्ड व्यवस्था गर्‍यो। तर अहिलेसम्म यातायात कार्यालयहरू पुरानै प्रणालीअनुसार लिखित तथा ट्रायल परीक्षा सञ्चालन गरिरहेका छन्।

गत वैशाख १५ गतेदेखि कोभिड जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगन गरिएको थियो। परीक्षा सञ्चालनमा आउँदा आवेदन दिइ बायोमेट्रिक गरिसकेका, लिखित परीक्षा दिइ ट्रायलमा संलग्न हुन बाँकी र एक पटक प्रयोगात्मक परीक्षा अनुत्तीर्ण गरी बसेकाका लागि पुरानै प्रणालीअनुसार हुने विभागले बताएको थियो।

अनलाइन आवेदन दिइ लिखित परीक्षाको पर्खाइमा बसेकालाई भने नयाँ व्यवस्था लागू हुने विभागका महानिर्देशक नमराज घिमिरेले बताएका थिए। तर गत भदौ २० गतेदेखि आएको परीक्षा ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०७७’ अनुसार सञ्चालन हुन सकेन।

नयाँ प्रणाली कार्यान्वयनबारे कुनै पनि निर्देशन नआइसकेकाले आफूहरूले पुरानै प्रणालीमार्फत परीक्षा सञ्चालन गरिरहेको यातायात व्यवस्था कार्यालय एकान्तकुनाका प्रमुख राजुभाइ कुस्माले बताए।

पहिले नै फारम भरिसकेकाको परीक्षा भइरहेको छ। अब नयाँ फारम भर्नेको मात्रै नयाँ व्यवस्थाअनुसार हुने होला,’ प्रमुख कुस्मा नै यो विषयमा प्रस्ट छैनन्।

विभागका सूचना अधिकारी डा. लोकनाथ भुसाल भने विभागले देशभरका यातायात व्यवस्था कार्यालयलाई नयाँ निर्देशिका कार्यान्वयनबारे जानकारी गराइसकेको बताउँछन्।

‘अब कार्यान्वयन प्रदेश सरकारले गर्ने हो। नयाँ व्यवस्था कार्यान्वयनमा नआएको कुरा बाहिर-बाहिर सुनिएको छ। हामीलाई औपचारिक जानकारी आएको छैन,’ उनले भने।

नयाँ प्रणालीमा के व्यवस्था छ? 

निर्देशिकामा वर्ग ‘क’ (ए) मोटरसाइकल, स्कुटर, मोपेड र वर्ग ‘ख’ (बी) कार, जिप, डेलिभरी भ्यानको लाइसेन्स लिने सहज व्यवस्था गरिएको छ।

निर्देशिकाको दफा ५ (२) बमोजिम वर्ग (क/ट), (ए/के) र वर्ग ‘ख’ (बी) का लागि लिइने लिखित परीक्षाका लागि ५००/५०० वटा प्रश्नको दुइटा प्रश्न संग्रहसमेत विभागले सार्वजनिक गरेको छ।

यो व्यवस्थाअनुसार लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्था सम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियम पालना तथा सवारी साधनको प्राविधिक पक्ष सम्बन्धी सामान्य व्यवहारिक ज्ञानका विषय समेटी १०० पूर्णांकको प्रश्न सोधिनेछ। यसमा चार/चार अंकका २५ वटा वस्तुगत उत्तर दिने प्रश्न हुन्छन्।

लिखित परीक्षाको अवधि ३० मिनेटको हुनेछ। सम्बन्धित कार्यालयले विद्युतीय माध्यमबाटसमेत लिखित परीक्षा सञ्चालन गर्न सक्ने व्यवस्था छ।

निर्देशिकामा भएको व्यवस्थाअनुसार परीक्षार्थीले ट्रायलमा ७० अंक ल्याए लाइसेन्स प्राप्त गर्न सक्छन्।

यसअघि विभागले परीक्षार्थीले आफ्नै सवारी समेत प्रयोग गर्न सक्ने व्यवस्था गरेको थियो। तर यो व्यवस्था कार्यान्वयनमा नआउँदै संशोधन गरिएको छ। अब कार्यालयले तोकेका तथा उपलब्ध गराएका सवारी मात्र प्रयोग गर्न सकिन्छ।

ट्रायलका लागि प्रयोग हुने मोटरसाइकल–स्कुटर पेट्रोलबाट चल्ने र कार, जिप, भ्यानहरू पेट्रोल, डिजेल वा ग्यासबाट चल्ने हुनुपर्नेछ। त्यस्तै सबै सवारी दर्ता प्रमाणपत्र अद्यावधिक भएको वा बहाल अवधि बाँकी रहेको तथा तेस्रो पक्ष बीमा भएको हुनुपर्नेछ।

प्रयोगात्मक परीक्षा १०० पूर्णांकको हुनेछ। यसको अंकभार यसप्रकार छः

  • घुमाउरो आठ– २० अंक।
  • साँघुरो फलेक– १० अंक।
  • युटर्न– १० अंक।
  • ट्राफिक संकेत– १५ अंक
  • बम्प्स (उबडखाबड)– १५ अंक।
  • उकालो– २० अंक।
  • परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकन– १० अंक

यस्ता छन् ट्रायलमा अंक काटिने अवस्थाहरूः

  • घुमाउरो आठमा एक पटकसम्म अंकित रेखा छोएमा ५ अंक घट्ने छ।
  • एक पटकसम्म खुट्टाले भुइँ टेकेमा थप ५ अंक घट्ने छ।
  • युटर्नमा टर्निङ इन्डिकेटर लाइट नबाले १० अंक घट्ने छ।
  • ट्राफिक संकेत पालना नगर्दा १५ अंक घट्ने छ।
  • उबडखाबडमा एक पटकसम्म भुइँमा टेकेमा ५ अंक घट्ने छ।
  • एक पटक सवारीको स्टार्ट बन्द भए ५ अंक घट्ने छ।
  • सवारी चलाउनु अगाडि सवारीको ब्रेक, टायर र ऐनाहरूको सामान्य निरीक्षण गर्नुपर्नेछ। यसो नगरे ३ अंक घट्नेछ।
  • हेलमेटको लक नलगाई सवारी चलाएमा ४ अंक घट्नेछ।
  • असंयमित भएर सवारी चलाए ३ अंक घट्नेछ।

फेल हुने अवस्थाहरूः

  • एक पटकभन्दा बढी भुइँमा टेके अर्थात् स्टार्ट बन्द भएमा।
  • एक पटकभन्दा बढी अंकित रेखा छोएमा वा खुट्टा भुइँमा टेकेमा।
  • ठीक दिशाबाट ठीक तरिकाले ८ नबनाएमा।
  • सवारीको स्टार्ट बन्द भएमा।
  • साँघुरो फलेकमा खुट्टाले भुइँ टेक्दा अर्थात् फलेकको लम्बाई पार गर्नु अगाडि नै सवारी फलेक बाहिर निस्किएमा।
  • उकालोमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अगाडि बढेमा वा रोकिएको अवस्थाबाट सवारीको पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा।
  • उकालो सकेर ओरालो झर्ने क्रममा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढे फेल भइनेछ।

तपाईको प्रतिक्रिया

RELATED POSTS