काठमाडौं। अष्ट्रियाकी आरोही जोहाना फर्बरले नचाहेको विवादको सामना गर्नुपरेको छ । रुसमा भइरहेको आरोहण विश्व च्याम्पियनसिपमा उनको शरीरका केही विवादित क्लोज अफ शटहरु लाइभ टिभिमा देखाइयो । अब यस विषयमा स्पोर्ट क्लाम्बिङको अन्तर्राष्ट्रिय महासंघले फार्बरसँग माफी मागेको छ । आइएफएससीले सामाजिक संजालमा आफ्नो माफीनामा शेयर गरेको छ । महासंघले खेलाडीहरुको शरीरलाई वस्तुकरण गरिएकोप्रति निन्दा समेत गरेको छ ।

फार्बर यस्तो किसिमको विवादमा परेको पहिलो पटक होइन । यसअघि जूनमा भएको विश्वकपको क्रममा पनि प्रसारकले फर्बरसँग माफी मागेको थियो किनकि त्यतिबेला पनि प्रसारकले फार्बरका केही यस्ता तस्वीर प्रसारण गरेको थियो जसका कारण निकै विवाद भएको थियो । खासमा फार्बरको शरीरको कम्मरमुनिको भागको स्लो मोसन सिक्वेन्स तयार गरेर प्रसारण गरिएको थियो । त्यसपछि नै मानिसहरुले प्रसारकको निन्दा गर्र्दै महिलाको शरीरको वस्तुकरण बन्द गर्न माग गरेका थिए ।

फार्बरले पनि एक बयान जारी गर्दै घटनाका कारण आफूले लज्जित महसुस गर्नुपरेको बताएकी थिइन् । त्यसपछि सामाजिक संजालमा महिला खेलाडीको शरीरलाई यौनिक दृष्टिले देखाउन नहुने र उनीहरुको खेलप्रति ध्यान दिइनुपर्ने आवाज उठेको थियो । अहिलेको घटनामा भने फार्बरले अहिलेसम्म कुनै बयान जारी गरेकी छैनन् ।

पछिल्लो घटनापछि आइएफएससीका अध्यक्ष मार्को स्कोलारिसले यसरी पटक पटक एउटै गल्ती दोहोरिनु नहुने बताएका छन् । उनले भने ‘आखिर कहिलेसम्म हामी एउटै गल्ती गरिरहन्छौं । हामीले आफ्ना गल्तीबाट पाठ सिक्नुपर्छ ।’

 

तपाईको प्रतिक्रिया

RELATED POSTS