बिहीबार राती आठ बजे टिकटकमा एक भिडिओ भाइरल बन्यो। विवेक खड्का नाम ह्यान्डल भएको टिकटक अकाउन्टबाट पोस्ट भएको सो टिकटकमा गायिका इन्दिरा जोशी र फेसन डिजाइनर शरद केडिया हुन्छन्।

भिडिओमा शरदको हातको औंठी हुन्छ र उनी आफ्नो घुँडामा टेकेर इन्दिरालाई विवाहको प्रस्ताव राख्छन्। शरदले आफूतिर औंठी तेर्स्याएपछि इन्दिरा अच्चमित र खुसी हुन्छिन्।

उनले शरदको प्रस्ताव स्वीकार गरेर औंठी लगाउँछिन्। यो दृश्य खुम्बुस्थित एक डाँडामा भएको हो। इन्दिरा र शरद आफ्नो टिमसँग त्यहाँ एक कार्यक्रमका लागि गएका थिए। त्यही मौका पारेर फेसन डिजाइनर शरदले इन्दिरालाई सर्प्राइज विवाह प्रस्ताव राखेका हुन्।

इन्दिरा र शरद विगत दुई वर्षदेखि प्रेम सम्बन्धमा छन्। यसअघि धेरैलाई उनीहरूको सम्बन्धबारे जानकारी थिएन।

गत वर्षको फागुनमा इन्दिराले इन्स्टाग्राममा आफ्नो हातमा लगाएको औंठीको फोटो खिचेर पोस्ट गरेकी थिइन्।

फोटो तल क्याप्सनमा उनले लेखेकी थिइन्, ‘दुई वर्षको साथ र आउँदो जीवनका समयको निरन्तरता…अन्तिम साससम्म हामी सँगै हुनेछौं।’

त्यतिबेला नै इन्दिराको पोस्ट देखेर धेरैले उनको इन्गेजमेन्ट भएको अनुमान लगाएका थिए। उनले आफ्नो प्रेमीको अनुहार र नाम भने खुलासा गरेकी थिइनन्।

बिहीबार भने इन्दिरा र शरदको भिडिओ सार्वजनिक भएलगतै उनीहरूको इन्गेजमेन्ट पक्का भएको हल्ला चलेको हो।

आफ्नो इन्गेजमेन्ट भएको कुरा सामाजिक सञ्जालभर फैलिरहँदा इन्दिराले भने आफ्नो अझै पनि औपचारिक इन्गेजमेन्ट नभएको बताएकी छन्। उनका अनुसार शरदले उनलाई केबल विवाहका लागि प्रस्ताव गरेका हुन् र उनी त्यसमा राजी भएकी हुन्।

‘म आफ्नो व्यक्तिगत जीवनका कुरा धेरै बाहिर ल्याउन रूचाउँदिनँ। तर शरदले मलाई विवाह प्रस्ताव गरेको भिडिओ एकजना साथीले टिकटकमा हाल्दिनुभएछ,’ इन्दिराले सेतोपाटीसँग भनिन्, ‘यो मेरो जीवनको यादगार क्षण भएको छ र यसलाई म सधैं सँगालेर राख्छु।’

इन्दिरा र शरदको चिनजान भएको तीन वर्षजति भयो। उनीहरूको भेट कामको दौरान साथीहरूमार्फत् भएको थियो। त्यहीक्रममा उनीहरू प्रेममा परेको इन्दिराले बताइन्।

इन्दिरा नेपाल आइडलकी निर्णायक हुँदा उनले सेटमा लगाउने लुगाहरू शरदले नै डिजाइन गरेका हुन्। शरदको ‘दामी’ नामक आफ्नै फेसन स्टुडियो छ।

‘शरदको विवाह प्रस्तावपछि हामी आफ्नो प्रेम सम्बन्धलाई अब अझै माथि लैजाँदै छौं,’ इन्दिराले भनिन्, ‘तत्काललाई हामी इन्गेजमेन्टको तयारीबारे कुरा गरिरहेका छौं। बिस्तारै उचित समय मिलाएर विवाह पनि हुनेछ।’

 

तपाईको प्रतिक्रिया

RELATED POSTS