नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले १४ औं महाधिवेशनका सन्दर्भमा पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठकले गरेको निर्णयप्रति आपत्ति जनाएका छन् । शुक्रबार बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकमा असोज ९ गते ६४ जिल्लामा पालिका अधिवेशन गर्ने र दसैँअघि २१ जिल्लामा मात्र जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।
उक्त निर्णयबारे नेता कोइरालाले समाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका हुन् । उनले वडा अधिवेशन सकिएका हिमाली जिल्लामा पहिले र बाँकीमा पछि जिल्ला अधिवेशन गर्नुको कारण माग गरे ।

‘नेपाली काँग्रेसको क्रियाशील सदस्यता सार्वजनिक भएर वडा अधिवेशन सकेका हिमाली जिल्लामा पहिले र बाँकीमा पछि अधिवेशन गर्नु पर्नुको कारण के हो ?,’ उनको प्रश्न छ, ‘सँगैको जिल्लामा गर्ने र छिमेकी जिल्लामा नगर्ने भन्ने पनि हुन्छ ?’
नेपाली कांग्रेसको क्रियाशील सदस्यता सार्वजनिक भएर वडा अधिवेशन सकेका हिमाली जिल्लामा पहिले र बाँकीमा पछि अधिवेशन गर्नु पर्नाको कारण के हो ?…… pic.twitter.com/aIJx64mPef
— Dr Shekhar Koirala (@Shekharnc) September 24, 2021
उनले अगाडि लेखेका छन्, ‘पदाधिकारी बैठकमा केन्द्रीय महाधिवेशनको मिति सार्ने विषयले प्रवेश पायो भन्ने सुन्नमा आए छ । महाधिवेशनको मिति सार्ने अधिकार पदाधिकारीहरूलाई कसले दियो ?’
शुक्रबारको निर्णयले पदाधिकारी र पूर्व पदाधिकारीहरुले नै महाधिवेशन नचाहेको संकेत देखिएको उनको आरोप छ । क्रियाशील सदस्यता विवाद भनिएका १३ जिल्लाको समस्या किन समाधान नभएको भनेर प्रश्न उठाएका छन् ।
कोइरालाले भने, ‘क्रियाशील सदस्यतामा अझै कति धाँधली गर्ने प्रयास भइरहेको छ ?’ यस्तै केन्द्रीय सदस्य नेता गगन थापाले पनि पदाधिकारी तथा पूर्व पदाधिकारीले अधिवेशन मिति सारेकोमा असन्तुष्टि जनाए ।
कति सजिलै सर्छ अधिवेशनको मिति!
१३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन।कहिल्यै विधिमा चल्नु नपर्ने,थितिमा वस्नु नपर्ने,वेथितिको जिम्मा लिनै नपर्ने।
बस नेताले आदेश दिए पुग्ने,कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने!
अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने?सोचौं। #कांग्रेसपुनर्निर्माण— Gagan Thapa (@thapagk) September 24, 2021
उनले भने, ‘कति सजिलै सर्छ अधिवेशनको मिति ! १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन। कहिल्यै विधिमा चल्नु नपर्ने, थितिमा बस्नु नपर्ने, बेथितिको जिम्मा लिनै नपर्ने ?’ उनले ट्विटरमा लेखेका छन् ।
नेताले आदेश दिए पुग्ने र कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने भन्दै थापाले आक्रोश प्रकट गरेका छन् । थापाले भने, ‘अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने ? सोचौं। ’