काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले आफ्नो कुनै पनि कार्यक्रममा खादा माला प्रयोग नगर्ने भएको छ । बुद्धनगरमा बसेको केन्द्रीय कमिटी बैठकबाटै खादा माला प्रयोग गर्न छाडेको प्रवक्ता सञ्जीव राईले बताए । ‘युुवा संघको केन्द्र, प्रदेशदेखि सबै संगठनले गर्ने कार्यक्रममा खादा माला प्रयोग गर्दैनौं,’ राईले भने । अनुत्पादक र अनावश्यक भएकाले खादा माला प्रयोगको प्रचलन तोड्ने उनले बताए ।

कार्यक्रमको शैली पनि परिवर्तन गर्ने युवा संघले निर्णय गरेको छ । अब युवा संघको कार्यक्रममा अध्यक्ष मात्रै अगाडि बस्नेछन् । अतिथिहरु सहभागीहरुसँग बस्नेछन् ।

बिहीबार शुरु भएको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपाल सहभागीहरुसँगै बसेका थिए । ‘बैठक चलाउँदा अध्यक्ष अगाडि बसेर सहभागीहरुलाई हेर्नुहुन्छ, सहभागीहरुले विषयवस्तुप्रति ध्यान दिए वा नदिएको अवलोकन गर्नुहुन्छ,’ राईले भने, ‘यसले बैठकमा भाग लिने, तर मोबाइल चलाएर बस्ने प्रवृत्तिको पनि अन्त्य हुन्छ ।’

तपाईको प्रतिक्रिया

RELATED POSTS