काठमाडौँ — एमाले उपाध्यक्ष भीम रावलले चालु केन्द्रीय कमिटीको बैठकमा १० बुँदे सहमति कार्यान्वयनको विषय एजेन्डा बनाउन माग गरेका छन् । शुक्रबार भएको केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले सुदूरपश्चिममा १० बुँदे सहमति र अन्तर पार्टी निर्देशन (अपानी) कार्यान्वयन नभएको भन्दै कार्यान्वयनको विषयलाई एजेन्डा बनाउनु पर्ने माग गरेका थिए ।

‘बैठकमा रावलले अहिलेसम्मा १० बुँदे सहमति र अपानी सुदूरपश्चिम प्रदेशमा कार्यान्वयन नभएको भन्दै कार्यान्वयनको विषय एजेन्डा बनाउन माग गर्नुभयो’, एक केन्द्रीय सदस्यले भने, ‘एमाले र नेकपाकालमा पनि आफू सुदूरपश्चिमको इन्चार्ज रहेको भन्दै कार्यान्वयन भएको छैन । सबै काम ठप्प भएको छ ।’

रावलको सो भनाइलाई सांसद तथा केन्द्रीय सदस्य झपट रावल र भानुभक्त जोशीले साथ दिएका थिए । तर अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनको विषयमा छलफल गर्नका लागि बसेको कारणले सो विषयमा स्थायी कमिटीमा छलफल हुने बताए । रावलले एमालेभित्र देखिएको विवाद समाधानका लागि प्रस्ताव तयार पार्न गठन गरिएको कार्यदलमा माधवकुमार नेपाल समूहको तर्फबाट संयोजक थिए । त्यही कार्यदलमै साउन २७ गते एमालेभित्रको विवाद समाधान गर्नका लागि १० बुँदे सहमति भएको थियो । जसमा २०७५ जेठ २ को एमालेको संगठनात्मक संरचनामा फर्काउने सहमति थियो । एमाले र माओवादी केन्द्र एकीकरणपूर्व र नेकपा गठन भएपछि पनि रावल नै सुदूरपश्चिमको इन्चार्ज रहेका थिए । नेकपाभित्रको विवाद चर्किदै जाँदा अध्यक्ष ओली पक्षले रावललाई हटाएर लेखराज भट्टलाई इन्चार्ज तोकेको थियो ।

यसअघि ओलीले सुदूरपश्चिमका नेताहरुसँग अनौपचारिक बैठक राखेर रावललाई उपाध्यक्षको रुपमा केन्द्रमा सक्रिय हुन र भट्टलाई इन्चार्जमा कामय राख्न भनेका थिए । तर रावलले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS