नेकपा एमालेले विधान महाधिवेशनमा पेस गरिने विभिन्न प्रतिवेदन पारित गरेको छ। आइतबार तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठानिक प्रतिवेदन र उपमहासचिव बिष्णु पौडेलको विधान मस्यौदा प्रतिवेदन सुझावसहित पारित भएका हुन्।

तीन प्रतिवेदनमा एमाले उपमहासचिव घनश्याम भुषालले फरक मत राखेका छन्। उनीनिकट एक नेताका अनुसार भुसालले  राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवादबारे प्रष्ट नभएको भन्दै फरक मत राखेका हुन्।

‘एमालेले अब जबजलाई कसरी अँगाल्ने हो भन्ने विषय प्रष्ट छैन, संसद विघटन संविधानविपरीत थियो भन्ने कुरा उल्लेख छैन र समाजवादबारे राजनीतिक प्रतिवेदनमा स्पष्ट नभएको भन्दै उहाँले फरक मत राख्नुभएको हो,’ ती नेताले भने।

यसअघि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले संसद विघटनको बचाउ गरेका थिए।

ओलीले गत पुस र वैशाखमा प्रतिनिधि सभा विघटन गरेका थिए। दुबै पटक सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद विघटन असंवैधानिक भएको आदेश दिएको थियो।

सर्वोच्चले नेपालको संविधानमा संसदबाट नयाँ सरकार बन्न सक्ने अवस्था रहुन्जेल संसद विघटन नहुने व्यवस्था रहेको व्याख्या गरेको छ।

कुनै प्रधानमन्त्रीले चाहँदैमा संसद विघटन हुन नसक्ने सर्वोच्चको आदेशमा उल्लेख छ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS