काठमाडौँ । हुम्लामा नेपाल र चीनबीचको सीमा समस्या अध्ययन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ । समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्री खाँणलाई प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदन बुझ्दै मन्त्री खाँणले समितिले स्थलगत अध्ययन गरेर सत्य तथ्य पत्ता लगाइ तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने प्रतिवद्धता जनाए । ‘यहाँहरूले स्थलगत अध्ययन गरी हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे सत्य तथ्य जानकारी समेटेर प्रतिवेदन बनाउनुभएको छ । यसले मुलुकका अन्य स्थानमा रहेका सीमाबारे पनि अध्ययन गर्न बाटो खुलेको छ,’ प्रतिवेदन बुझ्दै मन्त्री खाँणले भने, ‘अध्ययनमा यहाँहरूले औल्याउनुभएका विषयवस्तु कार्यान्वयन गर्न सरकारले पहल गर्नेछ ।’
![](http://localhost/recentnews/wp-content/uploads/2020/06/GET-YOUR-SITE-LIVE-1.png)
मन्त्री खाँणले विकट स्थानमा पुगेर काम सम्पन्न गरेकोमा अध्ययन टोलीलाई धन्यवादसमेत दिए । हम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्ने टोलीमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीपकुमार पाल र राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक किशोरकुमार श्रेष्ठ सदस्य थिए । मन्त्रिपरिषद् बैठकले १६ भदौमा सो सीमा अध्ययनका लागि समिति बनाएको थियो ।