काठमाडौँ — पार्टीका नेता–कार्यकर्ताको अभिलेखीकरणमा माओवादी केन्द्र कति भद्रगोल होला ? तीन सदस्यीय कार्यदलले हालै पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई बुझाएको प्रतिवेदनलाई हेर्ने हो भने माओवादीका कैयौं नेता–कार्यकर्ता सम्पर्कविहीन छन् । प्रतिवेदनमा ती व्यक्तिहरू पार्टीमै छन् वा अन्य पार्टीमा गए भन्ने अनुसन्धानको विषय रहेको उल्लेख छ । २०७४ जेठ २ देखि २०७५ भदौ २८ सम्म एकतामार्फत माओवादी केन्द्रमा समाहित पार्टी, समूह र व्यक्तिको पछिल्लो अवस्थाबारे तथ्य संकलन गर्न माओवादी केन्द्रको भदौ ६ को स्थायी कमिटी बैठकमार्फत कार्यदल बनाएको थियो । स्थायी कमिटी सदस्यद्वय गिरिराजमणि पोखरेल र वर्षमान पुन तथा केन्द्रीय सदस्य श्रीराम ढकाल रहेको तीन सदस्यीय कार्यदलले भदौ २८ मा पार्टी अध्यक्ष दाहाललाई प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनमा विभिन्न पार्टी, समूह र स्वतन्त्र व्यक्तिहरूले अध्यक्ष दाहाल र पार्टी एकता वार्ता समिति संयोजक अमिक शेरचन लगायत विभिन्न नेताहरूको उपस्थितिमा पार्टी एकता, ध्रुवीकरण तथा समायोजन गरेपनि उनीहरूलाई ठोस रुपमा जिम्मेवारी दिन नसकिएको अवस्था देखिएको उल्लेख छ । त्यसमध्ये केही त सम्पर्कमै समेत नरहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार एकतामा समाहित पार्टी, समूह र व्यक्तिको अभिलेख हेर्दा सामान्यतयाः पाँचवटा अवस्था देखिएको उल्लेख छ । पहिलो, एकतामा आएका कतिपयलाई माओवादी केन्द्रमा समाहित गरिसकिएको छ । दोस्रो, कतिपयले एकतापछिको कुनै पनि जिम्मेवारी प्राप्त नगरेको अवस्था छ । तेस्रो, पार्टी एकतामा जिम्मेवारी लिएर समितिका बैठकमा सहभागी भएको तर नेकपा गठनपछि जिम्मेवारीविहीन भएका व्यक्ति पनि छन् । चौथौ, नेकपाको विभाजनपछि एमाले पृष्ठभूमिबाट नेकपा माओवादी केन्द्रमा रहेका पनि जिम्मेवारीविहीन भएको प्रतिवेदनमा उल्लेख छ ।

सबैभन्दा रोचक तथ्य पाचौँ अवस्थामा छ । प्रतिवेदनमा भनिएको छ, ‘एकता भएर पनि कार्यदलसँग सम्पर्क हुन नसकेका समूह र व्यक्तिहरू पनि देखिएका छन् ।’ अर्थात उनीहरू माओवादीमा प्रवेश गरे पनि सम्पर्कविहीन छन् । एकतामा आएका नेताहरूसँग छलफल गरेर प्राप्त सुझावको आधारमा प्रतिवेदन तयार गरिएको र प्रतिवेदनमा माग गरिएको पद र विभागहरूको विषय पनि उल्लेख छ ।

२०७४ जेठ २ देखि २०७५ भदौ २८ सम्म नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नयाँ शक्ति पार्टी, नेपाल, सद्भावना पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेकपा (विप्लव), नेकपा (क्रान्तिकारी माओवादी), युनाईटेड नेपाल रिपब्लिकन पार्टी, माओवादी केन्द्र, अग्रगामी संघीय मोर्चा नेपाल, फोरम लोकतान्त्रिक, जनमुक्ति पार्टी, राप्रपा (पशुपति शमसेर राणा), नेपाली कांग्रेस, नेकपा (टंक राई), तराई–मधेश–पहाड–हिमाल एकता पार्टी लगायतका ४५ शक्ति माओवादी केन्द्रमा समाहित भएको कार्यदलको प्रतिवेदनमा उल्लेख छ । तर, ती पार्टीबाट आएका सबैले जिम्मेवारी नपाएको उल्लेख छ ।

ती पार्टीहरूबाट आएकालाई पार्टी समिति (केन्द्रीय निकाय, प्रदेश तथा स्थानीय समितिहरू) र जनवर्गीय, पेशागत र मोर्चा संगठनहरूको समितिमा जिम्मेवारी दिन कार्यदलले सिफारिस गरेको छ । प्रस्तावलाई यथाशीघ्र निर्णय गरी जिम्मेवारीविहीनताको अन्त्य गर्न जरुरी रहेको कार्यदलको सुझाव छ ।

कार्यदलको थप सुझाव छ, ‘अब उप्रान्त कसैसँग पनि पार्टी एकता गर्दा वा प्रवेश गराउँदा विधि,पद्दति अपनाउन, सम्बन्धित पार्टी संगठनको राय लिन, जिम्मेवारीबारे पहिले नै ठोस समझदारी बनाउन र सबै सहमतिको अभिलेखिकरण गर्न पनि कार्यदलले पार्टीलाई सुझाव दिन चाहन्छ ।’

माओवादी केन्द्रले आगामी पुसमा पार्टीको राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ । त्यस अगाडि पार्टी सदस्यता नविकरण र नयाँ सदस्यता वितरण, असोज १० गते सेल र टोल भेला गरी कमिटी गठन/पुनर्गठन, असोज २० मा वडा सम्मेलन, कार्तिक ६ मा गाउँपालिका र नगरपालिका सम्मेलन, कार्तिक ७ देखि मंसिर १४ सम्म संगठन सुदृढीकरण र जनपरिचालन तथा मंसिर १५ मा प्रदेश सम्मेलन गर्ने माओवादीको तयारी छ । यही सिलसिलामा माओवादी केन्द्रले पार्टीमा समाहित नेता–कार्यकर्ताको खोजी गरेको हो ।

तपाईको प्रतिक्रिया

RELATED POSTS