सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरूलाई पदबाट राजीनामा दिन चुनौती दिएका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई २/२ चोटि विघटन गर्ने एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने टिप्पणी समेत गरे।

सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले अलिकति पनि नैतिकता छ भने एमालेका सांसदहरूले संसद अवरूद्ध पारेर बस्ने नभई राजीनामा गरेर जनताको बीचमा जानुपर्ने प्रतिक्रिया दिए।

अध्यक्ष भट्टराईले सर्वोच्चको फैसला मान्दैनौं भन्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्नु सरमको विषय भएको पनि दोहोर्‍याए।

उनले भने, ‘जसले संसदलाई २/२ चोटि विघटन गर्छ। ती मान्छेहरूले लाजै पचाएर संवैधानिक सर्वोच्चता कायम गर भन्ने! सर्वोच्चको फैसला मान्दैनौं भन्ने अनि संवैधानिक सर्वोच्चता भन्ने ? अनि संसदीय मर्यादा कायम। जुन संसदलाई विघटन गरिसक्यो, उसले त्यो संसदमा आउन त लाज हुनुपर्ने हो। मैले पार्टी छोडिसकेपछि दोस्रो संविधान सभापछि २०७२ सालमा तुरून्तै राजीनामा गरेको थिएँ। उहाँहरूमा अलिकति पनि नैतिकता छ भने राजीनामा गरेर जनताबीच जानुपर्छ।’

भट्टराईले एमालले आफैंले विघटन गरेको संसदमा अवरोध सृजना गरेर निर्लज्जताको पराकाष्ठ देखाएको उल्लेख गर्दै त्यसबारे आफूले थप टिप्पणी गर्न नचाहेको बताए।

तपाईको प्रतिक्रिया

RELATED POSTS