काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान मिच्दा पनि सञ्चार माध्यम चुप लागेर बसेको भन्दै असन्तुष्टि जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा उनले अहिलेको सरकारलाई सञ्चार माध्यमले आफ्नो सरकारलाई जति खबरदारी नगरेको बताए । ‘संविधान मिचिँदा पनि सञ्चार माध्यम चुप लागेको जस्तो देखियो’ उनले भने ।
पूर्वप्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई खबरदारी नपुगेको पनि बताए । आफ्नो सरकारलाई सञ्चार माध्यमले खबरदारी गरेर धेरै सहयोग गरेको भन्दै ओलीले त्यसका लागि सम्पादकहरुलाई धन्यवाद दिए । ‘सरकारलाई खबरदारी गरेर भने लापरवाहजस्तो हुँदो रहेछ, जस्तो अहिलेको सरकार’ उनले भने, ‘अहिलेको सरकारलाई खबरदारी पुगेन कि जस्तो लाग्छ, संविधान कानुनको मतलब छैन ।’
![](http://localhost/recentnews/wp-content/uploads/2020/06/GET-YOUR-SITE-LIVE-1.png)
ओलीले सञ्चार माध्यमसँग आफ्नो उद्देश्य मिल्ने भन्दै कहिँ समस्या भए समाधान गर्नुपर्ने बताए । ‘प्रेस र मेरो उद्देश्य समान छ- लोकतन्त्र सुदृढीकरण । कहिँ खटपट छ भने अब त्यो सकिनुपर्छ’ उनले भने । ओलीले आफ्नो पार्टी फुटाउने मनसायले नै सरकारले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएका छन् ।
ओलीले परमादेशबाट सरकार बन्दा केहीलाई हाइसन्चो भए पनि यसले लोकतन्त्र कमजोर पार्ने बताए । ‘अहिले कतिलाई हाइसन्चो छ तर दीर्घकालमा देश र लोकतन्त्रले हार्छ । हामी लोकतान्त्रिक प्रणालीको भविष्य प्रति चिन्तित छौं’ उनले भने ।
सरकारले २ भदौमा संसदीय दल वा पार्टीको केन्द्री समितिको २० प्रतिशत संख्या भएमा दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो ।
उक्त अध्यादेश अनुसार नेकपा एमाले विभाजन भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भयो भने जनता समाजवादी दल विभाजन भएर महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी बनेको छ । उक्त अध्यादेश सरकारले सोमबार भने खारेज गरेको छ ।
संघीय संसद चलिरहेको अवस्थामा देशलाई तत्काल आवश्यक परेमा मात्र अध्यादेश ल्याउन सकिने भन्दै ओलीले चलिरहेको संसद अचानक बन्द गरेर अध्यादेश ल्याउनु संविधान विपरीत र अलोकतान्त्रिक भएको बताए ।
‘पछिल्लो पल्ट त त्यही उद्देश्य (अर्काको पार्टी विभाजन) का साथ चलिरहेको अधिवेशन अन्त्य गरेर भोलिपल्ट विहान अध्यादेश ल्याउने काम भयो । यो संविधानसम्मत भएन’ ओलीले भने ।