विद्युतका पोलमा राखिएको तारले शहरको सुन्दरता हराएकाले त्यसलाई व्यवस्थित गर्न पोल भाडा बढाएको विद्युत प्राधिकरणले प्रष्ट्याएको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले शहरको सुन्दरता फर्काउन पोल भाडा बढाएको बताए ।

यसका साथै, विद्युतका पोलले थेग्नै नसक्ने गरी पोलहरु राखिएकाले त्यसलाई व्यवस्थित गर्न समेत भाडा बढाउनु परेको उनको भनाई छ । तर, बढाइएको भाडाले प्राधिकरणलाई ठूलो नाफा नहुने उनले बताए । उनले भने, ‘पोल भाडा नबढाउँदा इन्टरनेट सेवा प्रदायकमार्फत प्राधिकरणले २५ करोड उठाउँदै आएको थियो । अब बढेर ५० करोड होला । तर, समग्रमा यो प्राधिकरणका लागि ठूलो रकम होइन ।’

पोलमा इन्टरनेट व्यवसायीले राखेको तारमध्ये ९५ प्रतिशत तार काम नलाग्ने घिसिङले बताए । ‘पोलमा टाँगिएका तारमध्ये काम लाग्ने तार ५ प्रतिशत मात्र छन् । बाँकी सबै तार बिग्रेका र काम नलाग्ने छन्,’ घिसिङले भने, ‘ती तारलाई काट्न बाध्य बनाउनकै लागि पोल भाडा बढाइएको हो ।’

पोल भाडा वृद्धि गरेपछि इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले सामूहिक तार राख्न बाध्य हुने घिसिङले उल्लेख गरे । सबै इन्टरनेट कम्पनीले एउटै तारमा इन्टरनेट वितरण गर्न मिल्ने भएपनि नेपालका सेवा प्रदायकले आफ्ना आफ्नै तार राख्दै आएका छन् ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS