उच्च  अदालत जनकपुरले स्थानीय तहको निर्वाचन सकेको चार वर्षपछि महोत्तरीको मनरासिस्वा नगरापलिका वडा नम्बर १० मा पुन:मतगणना गर्न आदेश दिएको छ। २०७४ असोज २ मा भएको निर्वाचनमा विजयी भएर आएका वडाध्यक्षको पद सकिन लाग्दा अदालतले त्यहाँ पुन: मतगणना गर्न आदेश दिएको हो।

न्यायाधीशहरू हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको इजलासले भनेको छ- कात्तिक ७ गते बिहान ११ बजे वडा नम्बर १० को मतगणना गर्नू। २ असोज २०७४ मा भएको निर्वाचनमा समान मत आएको भन्दै गोलाप्रथाबाट अरुण कुमार चौधरीलाई वडाध्यक्ष चुनिएको थियो। ८ असोज २०७४ राति भएको उक्त मतगणनामा धाँधली भएको भन्दै वडाध्यक्षका अर्का उम्मेदवार रमेश रायले उच्च दालतमा रिट दायर गरेका थिए।

पुन: मतगनणा गर्न आदेश जारी गरिपाउँ भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरविरूद्ध उनले हालेको रिटमा सुनुवाइ गर्दै पुन: मतगणना गर्न आदेश दिएको थियो।

उच्च अदालतको आदेशविरूद्ध वडाध्यक्ष चुनिएका विपक्षी चौधरीले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। तर सर्वोच्चले पनि उच्च अदालतको आदेश सदर गरेको थियो।

सर्वोच्चले आफ्नो आदेश सदर गरेपछि जनकपुर उच्च अदालतले पुरानो मुद्दा ब्युँताएर कात्तिकमा पुन: मतगणना गर्ने मिति तोकिदिएको हो।

भएको के थियो ? 

वडाध्यक्षका उम्मेदवार रमेश रायका अनुसार दुर्गा माध्यमिक विद्यालयमा ८ असोज राति करिब ३ बजे मतगणना सकिन लागेको थियो। मतगणना स्थलबाट स्वतन्त्र उम्मेदवारी दिएका रायको चुनाव चिन्ह पान छाप जित्यो भनेर हल्ला भयो। पान छापमा २ सय ६७ र रुख छापमा २६४ मत आएको प्रत्यक्षदर्शीले देखेर आफ्नो पक्षमा जयजयकार गरेको स्वर सुनिन थालेको रायको भनाइ छ। तर लगत्तै जेनेरेटर बन्द गरेर गिन्तीको क्रममा धाँधली गरिएको उनको आरोप छ।

निर्वाचन अधिकृतले दुबै जनाको २६७ मत आएको भन्दै गोलाप्रथाबाट चौधरी विजयी भएको घोषणा गरेका थिए। तर जेनेरेटरको लाइन काटेर अँध्यारो कोठामा बदर भएको मत चौधरीकोमा जोडिएको उनको दाबी छ।

‘मतगणना सकिनै लागेको बेला अन्तिममा तेल सक्यो,  समस्या आयो भनेर २/३ पटक जेनेरेटरको लाइन काटियो, बत्ती बन्द भयो। अँध्यारोमा मतगणनामा खटिएका अधिकृतले बदर भएर बाहिर राखिएको तीन वटा मतपत्र निकालेर रुख छापमा सदर गरिदिए,’ त्योबेलाको घटना स्मरण गर्दै रायले भने।

त्यतिखेर धाँधली भएको भन्दै विरोध गरी फेरि-फेरि मतगणनाका लागि पटक-पटक आग्रह गरे पनि निर्वाचन अधिकृतले नमानेको उनको आरोप छ।

‘अर्को ठाउँमा २/३ पटक गिन्ती भएको थियो। फेरि मतगणनाका लागि मारपिट गर्नुपर्छ भन्ने थाहा थिएन, पहिलो पटक चुनाव लडेको थिएँ। मारपिट गरेको भए त्यतिखेरै मतगणनना भइहाल्थ्यो होला,’ उनले भने ‘निर्वाचन अधिकृतले दसैंमा घर जानुछ मलाई ढिलो भइसक्यो, राजनीतिक दबाब पनि उत्तिकै छ भनेर दोह्रोर्याएर गिन्ती गर्दिनँ भन्नुभयो। सही नगर्नुस, मुद्दा हाल्नु ३ महिनामा फेरि मतगणना हुन्छ भनेर सल्लाह पनि उहाँले नै दिनुभयो।’

वकिलको सल्लाह अनुसार १५ दिनभित्र उच्च अदालतमा रिट दायर गरेको उनले बताए। कोरोना महामारीका कारण निर्वाचनको मिति तोक्न ढिलाइ भएको उनले बताए। सर्वोच्चको आदेशले न्याय पाएको महसुस भएको उम्मेदवार रायको भनाइ छ।

‘देशमा पैसावालाको मात्र बोलबाला छैन, न्याय पनि पाइन्छ मैले देखें,’ उनले भने। तर न्यायका लागि निकै दौडधुप गर्नु परेको उनले अनुभव सुनाए।

‘काम छोडेर दर्जनौं पटक अदालतमा दौड्नु पर्यो। जनकपुरसम्म मोटरसाइकल र काठमाडौं जाँदा बस चढेर गएँ। निकै मेहेनत गर्नुपर्यो तर मैले हार मानिनँ,’ रायले भने।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS