गतबर्षको दशैं, तिहार, शिवरात्री, माघे संक्रान्ती, नयाँ बर्ष बिदा हुने समयमा समेत चलचित्र रिलिज गर्न नपाएका नेपाली चलचित्रका निर्माता यो बर्ष केही आशावादी थिए । अझ, प्रशासनले भदौंमा नै हल खोल्न दिने निर्णय गरेसँगै अब त माहोल बन्छ कि भन्नेमा आशावादी थिए, निर्माता । प्रदर्शकले पनि दशैंबाट नै चलचित्र रिलिज गरेर डेढ बर्ष लामो घाटालाई विस्तारै पुर्ती गर्दै लैजाने सोच बनाए ।

तर, यो बर्षको दशैंमा पनि दर्शकले नेपाली चलचित्रको मज्जा लिन नपाउने भएका छन् । यो बर्षको दशैंमा शोभित बस्नेतको निर्देशनमा बनेको ‘डाँडाको वर पीपल’ रिलिज हुनेछ । प्रदर्शक तथा वितरकले पहिलो चरणको कोरोना भन्दा अगाडि नै प्रदर्शन मिति तय गरेका आशातित चलचित्र रिलिज गर्ने प्रयास नगरेका होइनन् । तर, निर्माताले चलचित्र रिलिजमा खासै वास्ता गरेनन् ।

अब भने तिहारबाट नेपाली चलचित्रले आउँदो बर्षको अन्त्यसम्म हिन्दी चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ । तिहारमा निर्देशक रोहित सेट्टीले ‘सूर्यवंशी’ चलचित्रको प्रदर्शन मिति तय गरेसँगै सुरु भएको बलिउड चलचित्रको रिलिजको सिलसिला सन् २०२२ को क्रिसमससम्म पुगेको छ । यो लामो लाइनले सन् २०२३ पनि चाडै भरिने पक्का छ ।

भारत र नेपालका धेरै चाडपर्व र बिदाहरु मिल्ने भएकाले पनि नेपाली चलचित्रसँग अब एउटै विकल्प छ, कि हिन्दी चलचित्रलाई छलेर सामान्य दिनमा चलचित्र रिलिज गर्ने वा विदेशी चलचित्रसँग भिड्ने ।

किनकी, बलिउड चलचित्रले हरेक पर्वमा चलचित्र रिलिज गर्ने क्यालेन्डर सार्वजनिक गरिसकेका छन् । अझ, यसमा साहरुख खान, सलमान खान जस्ता स्टारको चलचित्रको प्रदर्शन मिति सामेल छैन । नेपाली चलचित्रका निर्माता ‘सूर्यवंशी’ रिलिज हुने भएपछि उत्साहित भएपनि अब भने निराश छन् ।

नेपालमा हिन्दी चलचित्रको प्रभाव बलियो भएकाले पनि बक्स अफिसमा बलिउड स्टारका चलचित्रले नेपाली चलचित्रलाई नराम्रो धक्का लगाउने गर्छन् । यसैले, पनि करोडौं बजेटमा बनेका चलचित्रको अब सहज रिलिजको संभावना छैन ।

तपाईको प्रतिक्रिया

RELATED POSTS