अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयमा छापामार शैलीमा आएर कागजात नियन्त्रणमा लिएकोमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आपत्ति जनाएका छन्। प्रक्रिया पूरा नगरी मुख्यमन्त्री ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत भएको साइकल खरिदमा व्यापक अनियमितता भनी उजुरी परेपछि बुधबार दिउँसो अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले छापा मारेकोमा उनी आक्रोशित भएका हुन्।

अख्तियारको टोलीले साइकल खरिदसम्बन्धी सबै कागजात नियन्त्रणमा लिएर फर्केको केहीबेरपछि मुख्यमन्त्री निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले संघीयता नरुचाउने व्यक्तिले प्रदेश सरकारको बदनाम गर्न जालझेल गरेको बताए।

‘एक तप्का छ जसलाई प्रदेश सरकारको काम मन पर्दैन। संघीयता मन पर्दैन। प्रदेशलाई बदनाम गर्न जालझेल गर्ने समूह सुरूदेखि लागेको छ। आज आक्रमण भएको छ,’ मुख्यमन्त्री राउतले भने, ‘अख्तियारको टोली छापामार शैलीमा आयो, मानौं कि त्यहाँबाट प्रमाण लोप भइरहेको छ। कसैले त्यसलाई नाश गर्न लागेको छ। अख्तियारको बर्दिबास कार्यालयको जुन लिला र प्रस्तुति देखियो त्यो आपत्तिजनक छ। त्यसो हुनुहुँदैनथ्यो। मसँग फाइल मागेको भए म दिन्थें।’

प्रदेश सरकारको सर्वोच्च निकाय मुख्यमन्त्री कार्यालय सुशान कायम गर्न प्रतिबद्ध रहेको र त्यसैअनुसार प्रदेश जनलोकपाल आयोग गठन गरेको उनको भनाइ थियो।

‘सरकार प्रमुखको कार्यालयमा जानुहुन्छ भने विधि प्रक्रिया अनुसार जानुपर्छ। अख्तियारको प्रमुख प्रेम राईसँग पनि मैले फोनमा यो तरिका ठिक भएन भने उहाँले पनि स्वीकार गर्नुभयो,’ मुख्यमन्त्री राउतले भने।

प्रक्रिया पूरा गरी सार्वजनिक खरिद ऐन अनुसार प्रदेशका सचिवले साइकल खरिद गरेको उनले बताए।

साइकल खरिदमा अनियमितता भएको समाचार भ्रामक रहेको उनले टिप्पणी गरे।  ‘प्रदेश सरकार सुशासन र संघीयताका लागि प्रतिबद्ध छ, कटिबद्ध छ। बदनाम गर्न समाचार प्रकाशन गरिएको सरकारको ठम्याइ छ,’ मुख्यमन्त्री राउतले भने।

तपाईको प्रतिक्रिया

RELATED POSTS