क्विटो — इक्वेडरको जेलमा दुई समूहबीच भएको हिंसात्मक झडपमा परी मृत्यु हुनेको संख्या सयभन्दा बढी पुगेको छ । ग्वायास प्रान्तमा रहेको मुलुककै सबैभन्दा ठूलो जेलमा मंगलबार राति भएको झडपमा कम्तीमा ११६ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

त्यस्तै करिब ८० जना झडपमा परी घाइते भएका छन् । कारागार व्यवस्थापनको इतिहासमै इक्वेडरमा मंगलबारको घटना सबैभन्दा ठूलो भएको बताइएको छ ।

यसअघि फेब्रुअरीमा विभिन्न जेलमा भएका झडपमा कम्तीमा ७९ जनाको मृत्यु भएको थियो । क्षेत्रीय प्रहरी कमान्डर फाउस्टो बुएनानोका अनुसार अहिले पनि जेलको पाइपलाइन भाएका शवको पहिचान भइरहेको छ । दुई समूहबीचको झडप नियन्त्रणमा लिन सेना नै परिचालन गरिएको थियो । त्यस्तै कैदीबन्दीबाट केही हतियारसमेत बरामद गरिएको थियो ।

कोलम्बिया र पेरुको बीचमा रहेको इक्वेडर विश्वकै प्रमुख कोकिन उत्पादकका रूपमा रहेको छ । अमेरिका र युरोपमा कोकिन ओसारपसारका लागि इक्वेडर प्रमुख ट्रान्जिट हो । यही वर्षको जनवरीदेखि अगस्टसम्ममा इक्वेडरको सुरक्षा निकायले ११६ टन लागूऔषध बरामद गरेको थियो ।

इक्वेडरका जेलमा धेरैजसो लागूऔषध मुद्दामा सजाय तोकिएका कैदीबन्दी रहेका छन् । त्यसैले जेलमा हुने धेरैजसो ‘ग्याङ फाइट’ मेक्सिकन लागूऔषध तस्करसँग सम्बन्धित छन् । बढीजसो झडप सिनालोआ र जालिस्को न्यु जेनेरसन समूहबीच हुने गरेको छ ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS