पछिल्लो समय अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चीनमा लोडसेडिङ भइरहेको र बेलायतमा पेट्रोलियम पदार्थको अभाव भएको समाचार आइरहेका छन्।

अलजजिरा टेलिभिजनका अनुसार उत्तरपूर्वी चीनमा अहिले लाखौं मानिसका घरमा बिजुली छैन भने सयौं उद्योगले उत्पादन बन्द गरेका छन्। चीनका ३१ मध्ये २० प्रान्तका उद्योगले बिजुलीको समस्या भोग्नु परेको छ। उनीहरूले दैनिक कम्तीमा चार घन्टा उद्योग बन्द गर्नुपरेको छ। भेन्टिलेसन बन्द हुँदा फ्याक्ट्रीभित्र निस्सासिएका केही कामदार अस्पताल भर्ना भएका छन्।

उत्तरी गोलार्द्धमा चिसो याम सुरू हुन लागेका बेला देखिएको यो समस्याले ती देशका नागरिकलाई त समस्यामा पार्छ नै त्यसको असर बाँकी विश्वलाई पनि पर्छ। उर्जाको मूल्य आकाशिएका बेला अमेरिकामा भने कोइला उत्पादन गर्ने कम्पनीहरूलाई माग पूरा गर्न हम्मेहम्मे परिरहेको छ।

कतिपय विश्लेषकहरूले अहिलेको परिस्थिति आउनुमा कोरोना महामारीको पनि भूमिका रहेको बताएका छन्। सन् २०१९को डिसेम्बरदेखि चीनको वुहानबाट सुरू भएको कोरोनाभाइरसको महामारीका कारण त्यसपछि विश्व अर्थतन्त्र सुस्तायो। लामो समय लकडाउन र अन्य प्रतिबन्ध झेलेपछि विश्वको आपूर्ति प्रणालीमा पनि असर पर्‍यो।

गत वर्ष कोरोनाभाइरसविरूद्ध खोप बनेपछि र त्यसयता मानिसहरूले खोप लगाउन थालेपछि अहिले लगभग सबै देशले अर्थतन्त्र खोलेका छन्। अर्थतन्त्र चलायमान हुनासाथ बजारमा वस्तुको माग बढेको छ। माग बढेपछि ‘संसारको फ्याक्ट्री’ चीनमा रहेका उद्योगमा काम बढ्नु र त्यसका लागि बढी बिजुली चाहिनु स्वभाविक हो। ती उद्योगलाई चाहिनेजति बिजुली चीनसँग छैन र मागेजति बिजुली नभएपछि लोडसेडिङ भएको हो।

चीनमा अहिले पनि झन्डै दुई तिहाइ उर्जाका लागि कोइला र प्राकृतिक ग्यासको प्रयोग गरिन्छ। त्यसका लागि चीनले विभिन्न देशबाट ठूलो मात्रामा कोइला आयात गर्छ। कोइला निर्यात गर्नेमध्ये एउटा मुलुक अष्ट्रेलिया हो। पछिल्लो समय चीन र अष्ट्रेलियाको सम्बन्ध चिसिएको छ। बेलायती पत्रिका द गार्डियनका अनुसार अहिले चीनले अष्ट्रेलियाबाट हुने आयातमा अनौपचारिक प्रतिबन्ध लगाएको छ। संसारको दोस्रो ठूलो कोइला निर्यातकर्ता अष्ट्रेलियामाथि प्रतिबन्ध लगाएपछि चीनले अन्तबाट महंगोमा कोइला किन्नु परेको छ।

कोइलाको मूल्य बढेकाले त्यसबाट उत्पादन हुने उर्जाको मूल्य पनि बढेको छ। तर चीनमा बिजुलीको मूल्य सरकारले तोकेको छ। कम्पनीहरूले लगानी बढ्यो भन्दैमा आफूले उत्पादन गर्ने बिजुलीको मूल्य बढाउन पाउँदैनन्। अहिले बिजुलीको माग बढे पनि मूल्य नबढेकाले कोइलाबाट बिजुली उत्पादन गर्ने कम्पनीहरूले आफ्नो उत्पादन नबढाएको अलजजिराले उल्लेख गरेको छ। चीनमा उद्योगले प्रयोग गर्ने बिजुलीको मूल्य बढ्नासाथ सामानको लागत बढ्छ र त्यसले संसारभरिका उपभोक्ता असर गर्ने देखिन्छ।

चीनमा ठूलो फ्याक्ट्री भएको अमेरिकी कार उत्पादक कम्पनी टेस्लाले बिजुलीको समस्या निकै बढेकाले आउने साता फ्याक्ट्रीको काम प्रभावित हुने सूचना निकालिसकेको छ। धेरै विश्लेषकहरूले मागअनुसारको उर्जा उपलब्ध गराउन चीन सरकारलाई अझै केही महिना लाग्न सक्ने बताएका छन्।

उता बेलायतमा भने केही सातादेखि पेट्रोल पम्पमा ‘सरी, आउट अफ युज’ लेखिएको देखिन्छ। बेलायतमा अहिले एकातिर पेट्रोलियम पदार्थको भाउ बढिरहेको छ भने अर्कातिर पछि नपाइने हो कि भनेर मानिसहरूले चाहिनेभन्दा बढी जोहो गर्न थालेका छन्।

अलजजिराका अनुसार बेलायतका पम्पमा पेट्रोल-डिजेल नहुनुको मुख्य कारण ढुवानी हो। बेलायतमा तेल ढुवानीका लागि लोरी चलाउने चालकको अभाव छ।

युरोपियन युनियनबाट बेलायत अलग्गिएपछि उसले अरू युरोपेली मुलुकका आप्रवासी कामदारको आगमनमा कडाइ गरेको छ। बेलायतमा लोरी चलाउनेहरूमध्ये अधिकांश पूर्वी युरोपका मुलुकबाट जाने गर्थे। अहिले बाहिरका चालकलाई बेलायतमा ड्राइभरको काम गर्न कडा पारिएको छ।

समस्या समाधान गर्न बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले तत्कालै १० हजार विदेशी लोरी चालकलाई अस्थायी रूपमा काम गर्न भिसा दिने बताएका छन्। बेलायतमा अहिले झन्डै १ लाख लोरी चालक चाहिएका छन्। सरकारले ढुवानी समस्या समाधान गर्न सैनिकका ड्राइभरलाई पनि प्रयोग गर्ने जनाएको छ

( अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका विवरणहरूमा आधारित)

 

तपाईको प्रतिक्रिया

RELATED POSTS