पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भावुक हुँदै आफूलाई आत्महत्या गर्ने सोच आएको बताएका छन्।  बिहीबार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनी भावुक बनेका हुन्। उनले प्रतिनिधिसभा विघटनपछि लड्ने कि मर्ने ‘आत्महत्या’को सोच आएको बताएका छन्। भगत सिंहको फिल्मको सन्दर्भ निकाल्दै उनले आफू मर्ने कि लड्ने अवस्थामा पुगेको बताए।

‘भगत सिंहको फिल्म तपाईंहरूले हेर्नुभएको होला। चन्द्रशेखर आजाद छन्। लड्दै गर्दा चारैतिर दुश्मनले घेरा हालेको छ। अब फुत्किने ठाउँ रहेन चन्द्रशेखरको,’उनले भने, ‘एउटा रूखमुनि बसेका हुन्छन्। पेस्तोल हुन्छ उनीसँग। अब मार्ने नै भए प्रतिक्रियावादीहरूले भनेर एक मुठ्ठी माटो समाउँछन् र समाएर भन्छन्- धर्ती माँ, मैले यत्ति नै गर्न सकेँ भनेर आफैंले आत्महत्या गर्छन्।’ त्यसैगरी आफ्नो पनि झण्डै आत्मसमर्पण गरी आत्महत्या गर्नुपर्ने वा लड्नुपर्ने विकल्प रहेको बताए।

‘झण्डै-झण्डै मेरो अगाडि अब फेरि लडाइँ गर्ने कि! आत्मसमर्पण त गर्न सक्दिनँ, गर्न हुँदैन। हजारौं सहिद, बेपत्ता, घाइते, अपाङ्ग योद्दाहरूको सबै ऋण मेरो टाउकोमा छ। या त मैले सकिनँ यत्ति नै रहेछ भनेर आत्महत्या गर्नुपर्ने। या त लड्न पर्ने। लड्ने कि मर्ने,’ उनले थपे।

केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि लडाइँको बाटो रोजेको उनले बताए। साथै नेकपामा रहँदा आफूले राखेको १९ बुँदा दस्तावेजलाई ‘हेडक्वाटरमा बम’ हान्ने घटना भनेका छन्।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS