लुगा नकिनेर र महँगो होटलमा खाना नखाएर १६ करोड रुपैयाँ बचाउन सकिँदो रहेछ । यो कहानी एक यस्ती महिलाको हो जसले फजुलखर्च नगरेर १० करोड रुपैयाँ जोगाएको र ३५ वर्षको उमेरमा नै कामबाट अवकाश लिएको दाबी गरेकी छिन् । यी महिलाको नाम केटी डोनेगन हो । पछिल्लो दुई वर्षदेखि केटी आफ्ना श्रीमान् एलनसँग थुप्रै विदेशको भ्रमण गरिरहेकी छिन् ।

केटी डोनेगनले ‘द सन’ सँगको कुराकानीमा आफूलाई सानैबेलादेखि फजुल खर्च गर्न मन नपर्ने बताइन् । उनले भनिन्, ‘हामीसँग साधारण जीवनयापनका लागि पैसा थियो तर विलासी तरिकाले बिदा मनाउन वा महँगो होटलमा खाना खाने पैसा थिएन । म सधैं आफ्नो ‘पकेट मनी’ बचाउँथे । यो पैसा खर्च गर्नभन्दा पनि बढेको देखेर खुसी हुन्थेँ ।’

सस्तो ठाउँमा खाना खाइन् र पैसा जोगाइन्ः

केटी डोनगनले थपिन्, ‘सुरुमा मैले ९ पाउन्ड प्रति घण्टाको हिसाबले काम गरेँ । त्यसपछि जनवरी सन् २००५ मा कोस्टा रिका गएँ र त्यहाँ एलनसँग भेट भयो । त्यसपछि पुनः म पढ्नका लागि यूके गएँ, त्यति नै बेला मैले फजुलखर्च रोकेँ, नयाँ कपडा किनिनँ, सस्तो रेष्टुरेन्टमा खाना खाएँ र कसैबाट पनि ऋण लिइनँ ।’

‘सन् २००८ मा ग्रेजुएशनपछि हामी ह्याम्सफायरस्थित एलनकी आमाको घरमा बस्न थाल्यौं । यसो गरेर हामीले घरका लागि पैसा जोगाउन सक्थ्यौं । त्यतिबेला मैले वार्षिक २८,५०० पाउन्ड कमाउँथे । एलनका आम्दानीका विभिन्न स्रोत थिए । उनी अध्यापनसमेत गर्दथे ।’

‘हामीले प्याक गरिएका खाना खायौं, सेकेन्ड ह्यान्ड स्कोडा चढ्यौं र महँगो नाइटआउटमा जानुको साटो साथीहरुलाई घरमा नै बोलायौं । हामीले धेरै पैसा बचत गर्न सफल भयौं र सन् २०१० को नोभेम्बरमा १६७,६५० पाउन्डको दुई बेडरुम फ्ल्याटको लागि ४२,००० पाउन्ड एडभान्स तिर्न सफल भयौं । हामीले सन् २०१३ मा विवाह गर्यौं । यसका लागि सामुदायिक भवन बुक गर्यौं, इमेलमार्फत् निम्तो पठायौं, साथीहरुले विवाह स्थल सिँगारे र निकै कम खर्चमा विवाह सम्पन्न भयो । ’

‘सन् २०१४ मा थुप्रै पटक प्रोमोसन भएपछि मैले ५८,००० पाउन्ड कमाइरहेकी थिएँ । यो रकम ठूलो थियो तर म आफ्नो भ्रमणलाई कम नै राख्ने कुरामा दृढ थिएँ । एलनले वार्षिक ६३,००० पाउन्ड घर ल्याउँथे । हामीले मासिक ३ हजार पाउन्ड बचत गर्ने गर्दथ्यौं ।’ ‘सन् २०१५ मा मैले FIRE (Financial Independence, Retire Early)​ पढेँ । यसमा आफ्नो भ्रमणलाई सकेसम्म कम गरिन्छ र आफूले सकेजति बचत गरिन्छ । मैले आफ्नो बचत सेयरमा लगानी गरेँ र अन्त्यमा बचतबाटै कमाई गर्न थाल्यौं ।’

‘त्यतिबेलासम्म हामीले २९१,००० पाउन्ड बचत गरेका थियौं । एलनले सन् १९९६ देखि बचत गरिरहेका थिए र मैले भने आफ्नो स्नातक पछि उनलाई यसमा सहयोग गरेँ । त्यसपछि हामीले ३ वर्षभित्र १ मिलियन पाउन्ड जम्मा गरिसक्ने योजना बनायौं ताकि अवकाश लिन सकौं ।’

‘हामीले खासमा काम मननपरेका कारण अवकाश लिन चाहेका थिएनौं । यसमा आर्थिक स्वतन्त्रता र गुणस्तरीय जीवन समेटिएको थियो । थप पैसा कमाउन मैले आफ्नो जागिर छोडिदिएँ र कन्ट्र्याक्टरको रुपमा काम गर्न सुरु गरेँ ।’

‘कति साथीहरुले हामीलाई पागल भन्थे । हामीलाई पुरानै फ्ल्याट र कारमा टाँस्सिरहेको देख्दा उनीहरुले यसो भन्ने गर्थे तर हामीले स्टक मार्केटमा कसरी लगानी गर्ने भनेर पढ्यौं ।’

सेप्टेम्बर सन् २०१८ मा हामीले लगानी र बचत गरी ८९८,००० जम्मा गर्न सफल भएका थियौं । त्यतिबेलासम्म पनि हामीले हाम्रो १ मिलियन पाउन्डको उद्देश्य प्राप्त गर्न सकेका थिएनौं । तर मार्च र अप्रिल २०१९ मा हाम्रो सम्पत्तिमा ४६,००० पाउन्डको वृद्धि भयो । यसको अर्थ हामीसँग अब अवकाश लिन पर्याप्त रकम थियो । ’

‘काम नगर्ने मेरो निर्णयलाई एलनले साथ दिए । उनले पूर्ण अवकाश लिने सोच बनाएका छैनन् । उनले आफ्नो व्यापार बढाउने सोच बनाइरहेका छन् तर दैनिक काममा भने उनी सहभागि हुँदैनन् ।’

‘त्यसपछि हामीले हाम्रो फ्ल्याट भाडामा लगाउन पायौं । हामी फिरन्ते जीवनमा रमाउन पायौं । थाइल्याण्डदेखि मेक्सिकोमा साइक्लिङ, हाइकिङ गर्न पायौं र आफूले आफैंलाई फिट राख्न पायौं । कोभिडको कहर सुरु हुँदा हामी न्यू ओर्लिन्समा थियौं । यसकारण हामीले केही समयका लागि आफ्नो भ्रमण स्थगित गर्नुपर्यो । त्यसपछि सन् २०२० मा हामी बेलायत फर्कियौं ।’

तपाईको प्रतिक्रिया

RELATED POSTS