उमेर बढेसँगै हाम्रो स्मरण शक्ति कमजोर हुन थाल्छ भन्ने हाम्रो मान्यता छ । तर केही नयाँ शोधले हामीले यो प्रक्रियालाई रोक्न सक्ने र यसलाई फिर्ता पाउने सक्ने संकेत दिन्छ । यो कुरा तपाईंले कति खानुहुन्छ भन्नेमा निर्भर हुन्छ । लण्डनको किङ्ग्स कलेजमा डाक्टर गाइल्सले यो विषयमा थप जानकारी जुटाउनका लागि एक शोधमा भाग लिए ।

शोधः

मुसामाथि गरिएको शोधबाट क्यालोरीको मात्रा कम गर्दा दिमागले नयाँ कोसिका वा न्यूरोन्स पैदा गर्ने पत्ता लागेको छ । यो प्रक्रियालाई न्यूरोजेनेसिस भनिन्छ । वैज्ञानिकले स्मरण शक्ति राम्रो भएको फेला पारे । किङ्ग्स कलेजका डाक्टर सेन्ड्रिन ठूरेट र क्यूरी किमले यस्तो मानिसमा पनि हुनसक्छ कि भनेर थप अनुसन्धान गरिरहेका छन् ।

प्रयोगः

किङ्ग्स कलेजका डाक्टर गाइल्ससमेत ४३ जनालाई परीक्षणका लागि चुनियो । उनीहरुको उमेर ४५ देखि ७५ को बीचमा थियो । चार हप्ताका लागि उनीहरु सबैलाई कम क्यालोरीयुक्त खाना दिइयो । उनीहरुलाई हप्ताको दुई दिन ५००–६०० क्यालोरी मात्रै दिइयो । अन्य पाँच दिन उनीहरु सामान्य दिन जति खान्थे, त्यति खान पाउँथे ।

प्रयोगको चार हप्ताको सुरुवात र अन्तिममा हरेक व्यक्तिको स्मरण शक्तिको परीक्षण गरियो । यसलाई प्याटर्न सेपरेशन टेस्टको नामबाट चिनिन्छ । पहिला नै खिचिएको तस्बिर र नयाँ तस्बिरबीच त्यसपछि फरक खोज्नुपर्ने हुन्छ ।

प्रयोगमा समावेश हरेक व्यक्तिको रक्त परीक्षण गरियो जसमा रगतमा प्रोटिनको मात्रा परीक्षण गरियो । यो प्रोटिनलाई क्लोथो भनिन्छ । उमेरसँगै व्यक्तिको शरीरमा यसको कमी हुने गर्छ । शोधमा पाइए अनुसार क्लोथो बढेसँगै नयाँ कोसिका र न्यूरोन्स पैदा हुन्छन् जसबारे माथि नै जानकारी दिइएको छ ।

परिणामः

प्रयोगको नतिजा निकै उत्साहजनक रह्यो । परीक्षणमा समावेश सबै व्यक्तिको प्याटर्न सेपरेशन राम्रो भएको थियो, उनीहरुको क्लोथोको स्तर पनि बढेको थियो । यो प्रयोगले कम खाँदा मानिसहरुको स्मरण शक्ति बढ्छ भनेर देखाउँछ । क्लोथोको स्तर बढ्नु भनेको त्यसमा न्यूरोजेनेसिस भएको संकेत हो ।

यद्यपि, यसका केही अपवाद पनि रहे । डाक्टर गाइल्सको प्याटर्न सेपरेशन पहिलाको भन्दा कम भयो र क्लोथो प्रोटिनको स्तरमा पनि परिवर्तन भएन ।

विशेषज्ञका अनुसार यसका केही कारण पनि हुन सक्छन् । मिठो निद्राको न्यूरोजेनेसिससँग गहिरो सम्बन्ध छ । तर पूरा अध्ययनका बेला डाक्टर गाइल्सको निद्रा कम रह्यो । सायद भोकका कारण यस्तो भएको होला ।

पूरा समूहमा गाइल्स सबैभन्दा कम उमेरका व्यक्ति थिए । उनी नियमित रुपमा व्यायाम गर्छन् । अर्थात्, थोरै अन्तरालमा गरिएको उपवासको असर कम हुनेछ ।

अब ६० वर्षमाथिका व्यक्तिमाथि अनुसन्धान गरेर वयोवृद्धमा यसले कसरी काम गर्छ भनेर पत्ता लगाउने कोसिस गरिँदै छ ।

तपाईंले के गर्नुपर्छ ?

परिणामले यो बताउँछ यदि तपाईं ज्येष्ठ नागरिकको पंक्तिमा समावेश हुनुहुन्छ र खासै धेरै कसरत गर्नुहुन्नँ भने हप्तामा दुई दिन ब्रत बस्दा तपाईंको स्मरण शक्ति बढ्न सक्छ । ब्रत बसेका दिन महिलाले आफ्नो क्यालोरी ग्रहण गर्ने मात्रालाई ५०० र पुरुषले ६०० मा सिमित गर्नुपर्छ । हप्ताको पाँच दिन तपाईंले सामान्य दिनमा जति खानुहुन्छ, त्यति नै खान सक्नुहुन्छ ।

बीबीसी

तपाईको प्रतिक्रिया

RELATED POSTS