काठमाडौँ — अर्थ मन्त्रालयमा नयाँ सरकारी सवारी साधन खरिदका लागि दिनदिनै माग आइरहेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा नयाँ गाडी खरिदको माग बढ्न थालेकाले पुराना सरकारी सवारी साधनको सूची मागेको मन्त्री शर्माले बताए । समितिको मंगलबारको बैठकमा मन्त्री शर्माले भने, ‘सरकारी सम्पत्ति कति छ थाहा छैन । गाडी किन्ने माग आइरहन्छन् अर्थ मन्त्रालयमा । पहिला मैले भएका सरकारी गाडीको सूची मागेको छु । कति छन् नेपाल सरकारका गाडी चाहियो नि त । कतिवटा छन् अहिले ?’

सबै मन्त्रालय, संवैधानिक निकाय र विभागहरूबाट सवारी साधनको सूची माग गरिएको बताइएको छ । हाल सरकारसँग कति सवारी साधन छन् र कता कसले गुडाइरहेका छन् भन्ने तथ्यांक नरहेको मन्त्री शर्माले बताए ।

‘कतिवटा गाडी चाहियो ? रेकर्ड चाहियो नि त ? रेकर्ड भेटिँदैन । गाडी किन्दै जाने तर कहाँ चलाइरहेको छ, थाहा नहुने । त्यो सूची चाहियो,’ मन्त्री शर्माले थपे, ‘गाडी रहेछन् झिकेर दिउँला किन किन्नपर्‍यो ? नभए आवश्यक परे किनौँला ।’

तपाईको प्रतिक्रिया

RELATED POSTS