पोखरा । अर्थमन्त्री जनार्दन शर्माले पोखरा विमानस्थलमा वर्षायामको पानी निकासका लागि बजेट व्यवस्था गर्ने बताएका छन् । शनिबार पोखरा विमानस्थलको निरीक्षण गर्न पुगेका उनले पानी निकासका लागि आवश्यक बजेट व्यवस्था गर्ने बताएका हुन् ।

विमानस्थल छिर्ने पानी डाइभर्सन गरी विजयपुर खोलामा पुर्‍याउने र दक्षिणका किसानलाई सिञ्चाइ पनि मिलाउने गरी व्यवस्थापन गर्न पोखरा विमानस्थल आयोजनाले ३८ करोड रुपैयाँको स्टिमेट निकालेको छ । तर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि भएको ठेक्का सम्झौताभित्र नपर्ने भएपछि आयोजनाकै टाउको दुखाइ बनेको थियो । शनिबार मन्त्री शर्माले भेलका कारण पहिरो गएको र कटान गरेको क्षेत्रको स्थलगत निरीक्षणसमेत गरे ।

‘३८ करोड बजेट नभएर यति ठूलो आयोजनाको काम रोकिने कुरा हुँदैन । तत्काल योजना अगाडि बढाउनुस्, हामी बजेटको व्यवस्था गर्छौं,’ निरीक्षणपछि अर्थमन्त्री शर्माले भने, ‘विमानस्थल सञ्चालनका लागि अवरोध हुने सबै समस्या हल गर्न म मन्त्रीस्तरबाटै पहल गर्ने छु ।’

विमानस्थल आयोजनाका उपप्रबन्धक कृष्ण पौडेलले अर्थमन्त्री शर्मालाई विमानस्थलको प्रगति र समस्याबारे बिफ्रिङ गरेका थिए ।

ठूलो पानी पर्‍यो कि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र जालाम्य भइहाल्छ । फूलबारी, शीतलादेवी, काहुँखोला, कुँडहरदेखिको बाढी विमानस्थलमै पुग्छ ।

यो बाढी विमानस्थल जानबाट रोक्ने गरी विजयपुर खोलामा झार्न बनाइएको नहर नै भत्काइदिन्छ भने विमानस्थलको पूर्वी उत्तरी क्षेत्रमा पहिरो जाने समस्याले विमानस्थल सञ्चालनमै बाधा पुर्‍याउने आयोजनाले जनाएको छ ।

विमानस्थल सञ्चालनका लागि पूर्वको रिट्ठेडाँडा काट्नुपर्ने अध्ययन प्रतिवेदनले देखाएको छ । तर, कटानमा ढिलाइ हुँदा विमाास्थल निर्माण सकिएर पनि अवरोध हुने हो कि भन्ने चिन्ता छ । रिट्ठेपानी डाँडाको वन क्षेत्र कटान गर्न पूरक वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्नुपर्ने छ ।

ईआईएको लामो प्रक्रियाका कारण ढिलाइ हुने भएकाले तत्काल योजना बढाउन मन्त्रिपरिषदबाट निर्णय गर्नुपर्छ । अर्थमन्त्री शर्माले मन्त्रिपरिषदबाट तत्काल निर्णय गराउने प्रतिवद्धता व्यक्त गर्दै डाँडा काट्ने प्रक्रिया अगाडि बढाउन निर्देशन दिए । ‘क्याबिनेटबाट निर्णय हुन्छ । प्रक्रियाअनुसार ईआईए पनि हुँदै गर्छ, यहाँ काम पनि अगाडि बढ्छ,’ मन्त्री शर्माले भने ।

विमानस्थल सञ्चालनका लागि सार्नुपर्ने पोखराको ल्याण्डफिल साइटका लागि आफूले समन्वय गर्ने अर्थमन्त्री शर्माले बताए । यसैगरी आयल निगमले विमानस्थलभित्र बनाउने भनेको डिपो पनि अझै बनाएको छैन । ‘ल्याण्डफिल साइट सार्ने र डिपो निर्माण गर्न समन्वय हुन्छ,’ अर्थमन्त्री शर्माले भने, ‘पोखरा महानगर र प्रदेश सरकारबाट हुने कामलाई ढिला नगर्न म निर्देशन दिन्छु ।’

कोरोनाका कारण थपिएको म्यादभन्दा अगाडि नै विमानस्थल निर्माणको काम सकिने भन्दै अर्थमन्त्री शर्माले खुसी ब्यक्त गरे । ‘नेपालकै पर्यटनको राजधानी भएको पोखरामा यो एयरपोर्ट बनिरहँदा अन्तर्राष्ट्रिय स्तरमा जोडिने भएपछि पर्यटकहरु सहज रुपमा यहाँ आउने अवस्था सिर्जना हुन्छ,’ अर्थमन्त्री शर्माले भने ।

२०१७ नोभेम्बर १ बाट सुरु विमानस्थल निर्माण २०२१ जुलाइ १० मा सक्ने लक्ष्य थियो । कोरोना महामारीका कारण समयमै सक्न सम्भव नभएपछि गत साउनमा १ वर्षका लागि निर्माण सम्झौताको म्याद थपिएको थियो ।

अहिले विमानस्थल निर्माण ८७ प्रतिशत सकिएको आयोजनाका सहप्रबन्धक पौडेलले जानकारी दिए । चीनको सीएएमसी इञ्जिनियरिङ कम्पनीले निर्माण कार्यको जिम्मा पाएको छ । २२ अर्ब चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS