अर्थमन्त्री जनार्दन शर्माले रंगशाला निर्माणका लागि धुर्मुस-सुन्तली फाउण्डेशनलाई सहयोग गर्ने बताएपछि फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले रंगशाला निर्माण हुने आशा बढेको बताएका छन्। धुर्मुसले अर्थ र युवा तथा खेलकुद मन्त्रीसँग रंगशाला निर्माणको विषयमा पटक-पटक सकारात्मक कुराकानी भएको बताए।

‘उहाँहरु दुबै जना अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम अघि बढ्नुपर्छ भन्नेमा सकरात्मक हुनुहुन्थ्यो, अर्थमन्त्रीले निरास नहुनु सहयोग गर्छु भनेर सार्वजनिकरुपमै बोल्नुभएको सुन्दा खुसी लाग्यो,’ उनले भने, ‘यसले रंगशाला निर्माणको काम फेरि अघि बढ्नेमा आशावादी बनाएको छ।’

कलाकारद्वय धुर्मुस र कुञ्जना घिमिरे (सुन्तली) को अगुवाईमा फाउण्डेशनले चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको छ। तर निर्माणका क्रममा करिब १७ करोड ऋण लागेपछि साउन १५ देखि निर्माणको काम रोकिएको थियो। फाउण्डेशनका अध्यक्ष धुर्मुसले रंगशाला निर्माणका लागि गरिएको महायज्ञमा बोलकबोल गरिएको करोडौं रुपैयाँ नउठेको र निर्माण सामग्री किन्दाको उधारो रकम तिर्न नसक्दा काम रोक्न बाध्य भएको बताउँदै आएका थिए।

उनले रंगशाला निर्माणमा सरकारको सहयोग आवश्यक भएको भन्दै अभिभावकत्व ग्रहण गरिदिन आग्रह गरेका थिए। भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री शर्माले रंगशाला निर्माणमा सरकार सकारात्मक रहेको बताए। उनले धुर्मुसलाई निराश नभई अघि बढ्न आग्रहसमेत गरेका थिए।

उनले कलाकारले अघि बढाएका महत्वपूर्ण योजना रंगशाला निर्माणलाई पूर्णता दिइने बताएका थिए। आर्थिक अभावले रंगशाला निर्माण रोकिएपछि धुर्मुसले अर्थमन्त्रीलाई भेटेर सहयोग गर्न आग्रह गरेका थिए।

‘त्यतिखेर खेलकूद मन्त्रायल खालि थियो, मन्त्री नियुक्त भएपछि हामीले उहाँलाई भेट्यौं। उहाँ असाध्यै सकरात्मक देखिनु भयो,’ धुर्मुसले भने, ‘रंगशाला निर्माणका लागि सरकारबाट आर्थिक सहयोग हुनेमा हामी आशावादी छौं।’

तपाईको प्रतिक्रिया

RELATED POSTS