काठमाडौं । भारतीय योग गुरु रामदेव र आचार्य बालकृष्ण अहिले नेपाल भ्रमणमा छन् । नेपाल बसाइको क्रममा पशुपतिमा योग शिविर चलाउनेदेखि चन्द्रागिरि डाँडासम्म पुगेर उनले ध्यान शिविर चलाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले त रामदेवलाई पर्यटनको सद्भावना दूत नै बन्न प्रस्ताव गरे । पतञ्जली आयुर्वेदका संस्थापक समेत रहेका रामदेव र बालकृष्णको नेपाल भ्रमणसँगै नेपालमा ‘वेलनेस टुरिजम’को सम्भावनाबारे पनि बहस शुरु भएको छ ।

पर्यटनका अनेक आयाम हुन्छन् । स्वीट्जरल्याण्डले मर्न आउने मान्छेलाई पैसा लिएर ‘सुसाइड टुरिजम’को अवधारणा ल्याएको छ । बुढेसकालमा दुःख पाउनुभन्दा कुनै पीडाविना नै मर्न दिने यो पर्यटनको अवधारणा विश्वका अधिकांश मुलुकले स्वीकार्न सकेका छैनन् । जुनसुकै नयाँ कुरा पनि पर्यटकीय खपतको विषय बन्छ । त्यसैले नेपालमा पनि पर्यटनको अनेक आयाम खोज्नुपर्ने माग विभिन्न क्षेत्रका विज्ञहरुको छ ।

पर्यटनका आयाममध्ये स्वास्थ्य पर्यटन (वेलनेस टुरिजम) पनि नेपालको लागि उपयुक्त रहेको विज्ञहरुको राय छ । नेपालमा वेलनेस टुरिजमको सम्भावनाको विषयमा बहस गर्दै आएका अकुपञ्चरिस्ट सुदर्शन बस्नेतसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश :

नेपाल जडीबुटी उत्पादनको हिसाबले पर्याप्त सम्भावना बोकेको मुलुक हो । नेपाल स्वास्थ्य पर्यटनका हिसाबले कति सम्भावना बोकेको क्षेत्र हो ?

स्वास्थ्य पर्यटन वा वेलनेस टुरिजम स्वास्थ्य उपचारको लागि पर्यटक बोलाउने अवधारणा हो । स्वास्थ्य पर्यटनको हिसाबले नेपाल पर्याप्त सम्भावना बोकेको मुलुक हो । स्वास्थ्य पर्यटनमध्ये पनि प्राकृतिक चिकित्साको लागि नेपाल बढी सम्भावना बोकेको क्षेत्र हो । आयुर्वेदिक पर्यटन वा जडीबुटी पर्यटनको हिसाबले पनि नेपालमा ठूलो सम्भावना छ । वातावरणको हिसाबले पर्याप्त सम्भावना बोकेको ठाउँ भएपनि राज्यले यसमा बेवास्ता गर्दा यसलाई अघि बढाउन सकिएको छैन । पर्यटनको दृष्टिले राज्यको तर्फबाट अहिलेको मोडलमा परिवर्तन गर्ने हो भने यसले सिंगो विश्वमा उदाहरणीय काम गर्न सक्छ भन्ने विश्वास छ ।

अहिले हामी पर्यटन भन्नेबित्तिकै ट्राभल र ट्रेकिङलाई मात्रै बुझ्छौं । तर पर्यटनका अनेक आयामतिर हाम्रो ध्यान जाँदैन । हिमाल चढ्ने र पदमार्गमा पैदल हिँड्नु मात्रै पर्यटन होइन । थाइल्याण्डको टुरिजम मोडल होस् या त स्वीट्जरल्याण्डको टुरिजम मोडलले पर्यटनको अनेक पक्षलाई चिनाउन सहयोग गरेको छ । त्यसैले प्राकृतिक चिकित्सालाई पर्यटनको दृष्टिबाट विकास गराउनु आवश्यक छ ।

जडीबुटी पर्यटन वा प्राकृतिक उपचार पर्यटन प्रवर्द्धनका लागि नेपालले कस्तो योजना बनाउनु पर्छ ?

नेपालमा स्वास्थ्य पर्यटनको सम्भावना पर्याप्त रहेको कुरामाथि उल्लेख भइसकेको छ । यसको प्रबद्र्धनका लागि कस्तो योजना बनाउने भन्ने कुरा मुख्य कुरा हो । यसका लागि त उचित ठाउँमा जडीबुटी खेती गर्ने, प्राकृतिक चिकित्साको उपचार केन्द्रहरु निर्माण गर्ने र यसको मार्केटिङमा ध्यान दिनु नै सबैभन्दा महत्वपूर्ण कुरा हो । यसको लागि निजी क्षेत्रबाट त प्रयास भइरहेको छ । यसलाई सरकारी तवरबाट पनि ध्यानदिनु जरुरी छ ।

प्राकृतिक चिकित्सा पर्यटन शहरी भेगमा सञ्चालन गर्न सम्भव छैन । यसलाई चाहिने आधारभूत कुराहरु जस्तो, तरकारी होस् या अन्य वातावरण पनि अग्र्यानिक हुनुपर्छ । यसको लागि नयाँ–नयाँ ठाउँको खोजी गर्न सकिन्छ । जस्तो, शिवपुरीको सिरानमा यसको लागि उपयुक्त ठाउँ हुन सक्छ । यसको लागि त्यहाँसम्म जाने बाटो राम्रो बनाउने र त्यहाँ लगानी गर्न आकर्षित गरेर सरकारले सहयोग गर्न सक्छ । सामान्यतया यो चिसोभन्दा पनि न्यानो ठाउँमा उचित हुने भएकाले सोही अनुसार व्यवहार गर्नुपर्छ ।

प्राकृतिक चिकित्सा र जडीबुटी पर्यटनमा उदाहरणीय काम कसले गरेको छ ?

सामान्यतया प्राकृतिक चिकित्सालाई पर्यटनको हिसाबले धेरै मुलुकले विकास गरिसकेका छैनन् । छिमेकी मुुलुक भारतको कर्नाटक र केरलमा भने वेलनेस टुरिजममा उदाहरणीय काम भएको छ । यसबाहेक दक्षिण एसियाली अर्काे मुलुक श्रीलंकामा पनि वेलनेस टुरिजमको विकास गरिएको छ । यसबाहेक पनि फिलिपिन्स लगायतका मुलुकले प्राकृतिक चिकित्सालाई पर्यटनको रुपमा पनि विकास गरेको पाइन्छ । विश्वमा चलेका प्राकृतिक उपचार विशेषगरी गर्मी ठाउँमा प्रभावकारी देखिएको छ । तर यस्ता उदाहरण धेरैतिर देख्न सकिन्छ ।

भारतमा जस्तै नेपालमा के–कस्ता उपचार पद्धतिबाट पर्यटन आकर्षित गर्न सकिन्छ ?

नेपालका लागि उपयुक्त भनेको योग पर्यटन हो । नेपाल पहिलेदेखि नै पावन तपोभूमिको रुपमा रहेकाले अहिले पनि मनशान्तिको लागि योग पर्यटन नै नेपालको लागि उपयुक्त हुन्छ । आयुर्वेदिक थेरापी सम्बन्धी पर्यटनको सम्भावना पनि नेपालमा ठूलो छ । धेरै प्रकारका जडीबुटीको लागि उर्वर भूमि रहेको एवं हिमालीदेखि तराई भेगसम्मको सबैखाले हावापानी रहेकाले पनि नेपालमा प्राकृतिक चिकित्साभित्रकै अनेक आयामलाई पर्यटनको हिसाबले विकास गर्न सकिने अवस्था छ । अनलाइनखबर बाट

तपाईको प्रतिक्रिया

RELATED POSTS