काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दसौं हजार पूर्वलडाकु एमालेमा प्रवेश गर्ने तयारी गरेको बताएका छन् । आज पनि लाखौंको संख्यामा मान्छेहरू एमालेमा प्रवेश गर्न इच्छुक रहेको उनको जिकिर थियो । एमालेको १०औं महाधिवेशनको उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै नेता ओलीले भने, ‘अहिले नेकपा एमालेमा दैनिक रुपमा प्रवेश गरिरहेका छन् । आज पनि यस कार्यक्रममा लाखौं मान्छेहरु एमालेमा प्रवेश गर्नुहुन्थ्यो । तर यो मञ्च त्यसका लागि हैन । मिल्ने भए यहाँ लाखौं मान्छे प्रवेश गर्नुहुन्थ्यो । अब यो हिउँदभरी एमालेमा प्रवेशको लहर चल्छ । फागुनसम्मै एमालेमा प्रवेशका कार्यक्रम चल्दै जानेछ,’ नेता ओलीले बताए ।

यस क्रममा उनले एमालेले नै अब राष्ट्रिय समस्या समाधान गर्नसक्ने दाबी गरेका गरे । यस्तै नेता ओलीले सूर्यचिन्ह अंकित एमालेको झन्डाको बयान गर्दै सूर्यमा सबै अटाउनसक्ने तर्क गरेका थिए । साथै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहेर पनि काम गर्न नसकेको भन्दै व्यंग्य गरेका थिए ।

उनले सत्ता गठबन्धन दलहरूका कारण देउवाले काम गर्न नसकेको टिप्पणी गरे । ‘मलाई अप्ठ्यारो पार्नेहरु । मेरा खुट्टा तान्नेहरू उहाँको खुट्टा तान्दैछन् । सायद उहाँ काम गर्न चाहनुहुन्थ्यो होला,’ ओलीले भने ।

नेता ओलीले आगामी चुनावपछि एमालेले नै बहुमत ल्याएर सरकारको नेतृत्व गर्नै दाबी गरेका थिए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS