काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरूलाई चुनावमा केन्द्रित हुन आग्रह गरेका छन् । पार्टीको दसौं महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आगामी निर्वाचनहरूमा बहुमत ल्याउनका लागि तयारी गर्न नेता र कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् ।

संसद् पुनःस्थापना गरेर सरकारबाट गलत ढंगबाट बाहिरिनु परेको भन्दै त्यसलाई सच्याउनका लागि बहुमत ल्याउनुपर्ने ओलीको भनाइ थियो । ‘जनमतबाट एकल बहुमत ल्याउनुपर्ने छ । यो देशका लागि हो, एमालेका लागि होइन । देश बनाउन, सार्वभौम सत्ताको रक्षा गर्नका लागि, लोकतन्त्र फेरि गुम्न नपाओस् भनेर लोकतन्त्रको रक्षा, संविधानको रक्षा र कार्यान्वयनका लागि एकल बहुमत ल्याउनुपर्छ,’ ओलीले भने, ‘संविधानको गलत व्याख्यालाई जनादेशबाट सच्याएर अगाडि बढ्नकालागि एमालेले बहुमत ल्याउनुपर्छ ।’

प्रतिनिधिसभा विघटन गरेपछि जनतामा जाउँभन्दा अन्य राजनीतिक दलहरूले नमानेको पनि ओलीको भनाइ थियो । उनले परमादेशको बाटो नभई जनादेशको बाटोमा जाउँ भन्दा अन्य राजनीतिक दलले नमानेको उल्लेख गरे । ‘गलत बाटो नजाउँ, अध्यादेश परमादेशको बाटो नजाउँ, परमादेशबाट सरकार नबनाइ बरु जनताका बीचमा जाउँ भनेर आग्रह गरेका थियौ,’ ओलीले भने, ‘जनताका बीचमा जान अरु राजनीतिक शक्तिहरू त्रसित भए । जनताका बीचमा जाने प्रयासलाई रोकियो ।’

ओली प्रधानमन्त्री हुँदा २०७७ पुस ५ र २०७८ जेठ ८ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । दुवै पटक सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको थियो । ओलीले त्यो पुनःस्थापना गलत भएको बताएका हुन् ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS