नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापतिका उम्मेदवार वीरबहादुर बलायरले युवाको चाहना र उपस्थिति नै आफ्नो जितको आधार भएको बताएका छन् । शुक्रबार सभापति शेरबहादुर देउवा समूहबाट प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेपछि रातोपाटीसँगको संक्षिप्त कुराकानीमा उनले आफू जित्नेमा कुनै शंका नरहेको पनि बताए । काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बलायरले आफू भवितव्यता सभापतिको उम्मेदवार हुनुपरेको पनि बताए । यद्यपि प्रदेश अधिवेशनको संस्थापक उम्मेदवार हुन पाएको भन्दै बलायरले खुसी व्यक्त गरे ।

सर्वसम्मत भए मात्र सभापतिको प्रदेश सभापति बन्ने अडान लिएका बलायरले बाध्यताले चुनावी प्रतिस्पर्धा गर्नु परेको बताए ।सुदूरपश्चिम प्रदेश अधिवेशन संयोजक दिलेन्द्र बडूले सहमति गर्न नचाहेपछि चुनावमा जानु परेको बलायरको भनाइ छ । आफू प्रदेश सभापति भए सुदूरपश्चिमलाई कम्युनिस्ट मुक्त प्रदेश बनाउने बताए । रातोपाटीले प्रदेश सभापतिका उम्मेदवार बलयारसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

काँग्रेस पहिलो पटक प्रदेश संरचनामा जाँदै छ । प्रदेश संरचना अनुसार समिति बन्ने क्रममा तपाई सुदूरपश्चिम प्रदेशको सभापति बन्ने दौडमा हुनुहुन्छ । पार्टीको केन्द्रीय सदस्य र पूर्व मन्त्री भइसकेको मान्छे प्रदेश सभापतिको उम्मेदवार भएको विषयलाई कसरी लिनुभएको छ ?

पहिलो कुरा म मेरो पार्टी नेपाली काँग्रेसप्रति गर्व गर्छु । मेरो आदरणीय तत्कालीन पार्टी सभापति स्वर्गीय सुशील कोइराला नेतृत्वको सरकारले जनतालाई संविधान दिएको थियो । त्यही संविधानसँग राजनीतिक दलहरूले आफ्ना पार्टीको विधान संयोजन गर्नुपर्ने परिस्थिति आयो । काँग्रेसले पनि आफ्नो विधानलाई नेपालको संविधानसँग समायोजन गरेपछि प्रदेश अधिवेशन संरचना बनाउनुपर्ने भयो । आज त्यसका लागि अधिवेशन हुँदैछ । म पनि त्यो संविधानको एउटा हस्ताक्षरकर्ता हुँ । आज भवितव्यले भनौँ या घुमिफेरी सुदूरपश्चिम प्रदेशको संस्थापक सभापतिको उम्मेदवारको हैसियत पाउँदा खुसी छु । परिणाम जे आए पनि आफूले दस्तखत गरेको संविधान अनुसार आफ्नो पार्टीको विधान रूपान्तरण गरेर प्रदेश सभापतिको उम्मेदवार हुँदा हर्षले विभोर भएको छु । आजको दिन ल्याउन काँग्रेसले गरेको त्यो सङ्घर्ष, काँग्रेस नेताहरूले देखाएको त्यो क्षमता र संविधानसभा सदस्यको रूपमा हाम्रो उपस्थिति सम्भव भएको देशवासी र सुदूरपश्चिमबासीलाई सन्देश दिन्छु ।

प्रदेश सभापतिको उम्मेदवार हुने कुरालाई भवितव्य भन्नुभयो । तपाईं सभापतिको उम्मेदवार भन्ने परिस्थिति कसरी बन्यो ?

आदरणीय पार्टी सभापति तथा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाजी काँग्रेस राजनीतिको उत्तरार्धमा हुनुहुन्छ । उहाँ अब अन्तिम पटक पार्टी नेतृत्व गर्न चाहनुहुन्छ । यति खेर सबैले आफ्नो उम्मेदवार दिने भएकाले सभापतिलाई सफल गराउने कुरामा धेरैको मन जाने होइनन् । त्यसैले मैले कहीँ उम्मेदवारी दिनुभन्दा पनि राष्ट्रिय रूपमा उहाँको अभियानलाई अगाडि बढाउनुपर्दछ भन्ने मनसाय राखेको थिए । त्यसैले पनि मैले आफ्नो उम्मेदवारीलाई कुनै ठाउँमा पनि प्रस्तुत गरेको थिएन । तर धेरै साथीहरू आकाङ्क्षी हुनुभयो । एक आपसमा बस्नुभयो । अहिलेको परिस्थितिमा हामीले वीरबहादुरलाई अगाडि बढाउन सकियो भने राम्रो हुन्छ भन्ने उहाँहरूको बीचमा एउटा सहमति भयो । त्यो किसिमले मलाई प्रस्ताव आयो । मैले साथीहरूकै बीचमा सहमति गरेर उम्मेदवार तय गरौँ भने अनुरोध गरेँ । तर उहाँहरूले पहिलो पटक प्रदेशको नेतृत्व गर्ने कुरा छ । तपाईं अगाडि बढ्दा राम्रो हुन्छ भन्ने कुरा सर्वसम्मत रूपमा राख्नुभयो । मैलै धेरै साथीहरूको कुरालाई अवज्ञा गरेर जाने कुरा पनि भएन । एउटा राजनीतिककर्मी भएका नाताले मलाई दिएको जिम्मेवारीलाई जुन तह र तप्काबाट स्वीकार गर्नु मेरो प्रमुख कर्तव्य हो ।

तपाईंहरुले सुरुमा सर्वसम्मत भए मात्र प्रदेश सभापति हुन्छु । चुनावमा जाँदैन भन्नुहुन्थ्यो । चुनावी प्रतिस्पर्धाका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई किन सहमतमा ल्याउन सक्नुभएन ?

उहाँहरूसँग सहमतिको प्रयास पनि गरिएको हो । तर एकाएक उम्मेदवारी आयो । तपाईंहरुको उपस्थिति अनुसारको सम्बोधन गर्ने भन्ने कुरा भएको थियो । तर उहाँहरूले प्यानलसहित उम्मेदवारी दर्ता गराएपछि हामीमाथि पनि दबाब आइलाग्यो । एउटा उम्मेदवार हुने कुरामा साथीहरूले मलाई अगाडि सार्नुभयो । अनि चुनावमा जानुपर्ने अवस्था आयो ।

तपाईं आफै पनि केन्द्रीय तहको नेताको छवि बनाएको मान्छे हो । पार्टीको केन्द्रीय सदस्य र मन्त्री भइसकेको मान्छेले जिल्ला तहको नेताहरूलाई आफ्नो नेतृत्वमा समेट्न त सक्नुहुन्थ्यो होला नि । त्यो प्रयत्न तपाईंले गर्नुभएन कि गरेर पनि असफल हुनुभएको ?

मैले भन्दा पनि म भन्दा उच्च तहको नेताहरू र पार्टीबाट जिम्मेवारी पाएर आएका नेताहरू हुनुहुन्थ्यो । पार्टीले जिम्मेवारी दिएको छ । तर उहाँ एउटा समूहको मात्रै जिम्मेवारीभित्र हुनुहुन्छ । हामीसँग कुनै परामर्श पनि गरिएको छैन । प्रदेश अधिवेशन सम्पन्न गर्ने पार्टीले नेतृत्व पठाएको छ । पदीय रूपमा जसलाई जिम्मेवारी दिइएको थियो उहाँहरूले सर्वसम्मतिका लागि पहल गर्नुपर्थ्यो । तर उहाँले उल्टो सोच्नुभयो । हामीले पहल गर्नुपर्छ भन्दा पनि नेतृत्व लिएको मान्छेले पहल गर्नुपर्ने हो । त्यसो भए सुदूरपश्चिम प्रदेश अधिवेशन संयोजन समितिको संयोजक दिलेन्द्र बडूबाट सर्वसम्मतिका लागि प्रयत्न नभएपछि चुनावी प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आयो भन्न खोज्नु भएको हो ?

खासै समन्वय हुन सकेन । बरु हामीले प्रयत्न गरौँ । हामीले प्रयास गर्दा लिने दिने कुरामा सहमति भएन । सुदूरपश्चिममा देउवा पक्षको बाहुल्यता छ भनेर तपाईंहरुले दम्भ देखाउँदा समूहगत उपस्थितिका लागि भए पनि उम्मेदवार दिने अवस्था आयो भन्ने उहाँहरूको कुरा छ नि ?

त्यस्तो होइन । उहाँहरूसँग वार्ताका लागि हाम्रो टोली नै प्रयत्न गरेको हो । उहाँहरू बसेको ठाउँमा पुगेर हामीले छलफल गरेमा हौँ । उहाँ हामी कहाँ आउनुभएको होइन । किन भने नेतृत्व उहाँलाई दिएको थियो । महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी उहाँको काँधमा थियो । तै मैले हाम्रा नेताहरूले उहाँहरूसँग कुरा गर्न उहाँहरू भएको ठाउँमा पठाएको हुँ ।

काँग्रेसका पुराना नेता नारायणदत्त मिश्र तपाईंसँग चुनावी प्रतिस्पर्धामा आउनुभएको छ । उहाँसँगको प्रतिस्पर्धालाई कसरी लिनुभएको छ ?

उहाँलाई अत्यन्तै सम्मान गर्छु । उहाँ मेरो आदरणीय नेता हुनुहुन्छ । तर युवाहरूलाई समेटेर लैजानुपर्ने छ । कम्युनिस्ट पार्टीको शासनबाट यहाँका जनता आक्रान्त छन् । कम्युनिस्टहरूले यहाँको विकास निर्माण, पूर्वाधारमा आफ्ना कार्यकर्तालाई पृष्ठपोषण गर्ने काम गर्नु भएको छ । त्यसलाई चिर्नका लागि पनि काँग्रेस नतिखारी हुँदैन । अब काँग्रेसका कार्यकर्तालाई एकीकृत आवश्यक छ । त्यसैले अब ती कार्यकर्तालाई एकीकृत भावबाट मैले नेतृत्व गरेर गाउँबस्ती पुग्छु । अब नेतृत्व लिएर काठमाडौँ बसेर हुने छैन । अब हर टोल र हर छिमेकमा पुगेर कम्युनिस्टका ज्यादतीको भण्डाफोर गर्नुपर्छ । आफ्ना कार्यकर्तालाई बलियो बनाएर अगाडि गर्‍यौँ भनेदेखि मात्र कम्युनिस्टबाट यो प्रदेशलाई मुक्त गराउँछौँ । म एन्टी कम्युनिस्ट मानिस हुँ । हिजोका दिनमा कम्युनिस्ट सोच र मान्छेसँग लडेर आएको हुँ ।

कम्युनिस्टको ज्यादतीको चिरफार गर्न सक्ने उम्मेदवारको पक्षमा उभिनुस् भन्ने मेरो आग्रह छ । सबैलाई सँगै लिएर जाने मेरो आफ्नो मार्ग चित्र छ । पार्टीमा चुनाव हुने हार्ने, जित्ने खेला मात्र होइन । फेरि हार्नेले चुनाव आएको बेलामा यसो सूर्यतिर हेर्ने बानी गर्‍यो भने मान्य हुने वाला छैन ।

प्रदेश सभापति जित्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

मप्रतिको भरोसा गरेर यत्रो ठूलो युवाको चाहना र उपस्थिति छ । यसले तिमी अगाडि बढ भनेर शुभ सङ्केत आएको छ । मैले सभापति जित्नेमा कुनै शङ्का छैन । जित्छु भन्नेमा विश्वस्त छु।

कम्युनिस्टको भण्डाफोर गरेर कम्युनिस्ट मुक्त प्रदेश बनाउँछु भन्नुभयो । तर सुदूरपश्चिम प्रदेश सरकार नै कम्युनिस्ट पार्टी छ । तपाईं प्रदेश सभापति भएपछि सरकार पनि फेर्ने सोचमा हुनुहुन्छ कि केन्द्रीय गठबन्धनको निर्णय अनुसार चल्नुहुन्छ ?

अहिले पनि यो कम्युनिस्ट सरकारबाट हाम्रा कार्यकर्ता प्रताडित छन् । अहिले हाम्रो कम्युनिस्टसँगको एकता सिंहदरबारभित्र मात्रै हो । सिंहदरबार बाहिर कार्यकर्ताको बीचमा एकता हुन सकेको छैन । एकता हुनका लागि यहाँको सरकारले विकास निर्माण, पूर्वाधार, नीति योजनामा हामीलाई सहभागी गराउनुपर्‍यो । आफ्नै कार्यकर्तालाई पृष्ठपोषण गर्न खालको काम भयो भने हाम्रो र उहाँहरूको मिलनविन्दु कहाँ हुन्छ ? कम्युनिस्टका कार्यकर्ताले चिलले सल्लाको रुखमा कुखुराको चल्ला लगेर खाएर प्वाँख मात्र जनताको ठाउँमा फालेको कति दिनसम्म हेरिराख्ने ? उहाँको हर्कत जनताले बुझ्नु भएको छ । यसको भोलि हिसाब किताब होला नि । त्यसका लागि पनि सशक्त आवाज उठाउनका लागि मेरो उम्मेदवारी हो ।

सिंहदरबार बाहिर कम्युनिस्टसँग एकता छैन भन्नुभयो । तर केन्द्रीय सत्ता गठबन्धन आगामी चुनावसम्मै जान्छ भनेर नेताहरू भनिराखेका छन् । कम्युनिस्टसँग चुनावी सहकार्य सम्भव छैन भन्नु भएको हो ?

कार्यकर्ता गाउँमा छ । कार्यकर्ताको पीडा गाउँमा छ । काँग्रेस र कम्युनिस्टका कार्यकर्ताको रिदम जोड्न के छ शक्ति त्यस्तो ? त्यसैले चुनावी सहकार्य असम्भव छ । रुख चिन्नमा भोट हाल्ने हालले हाँसिया र हतौडा र सूर्यमा भोट हाल्न सक्दैन भन्ने मेरो अठोट हो । रातोपाटी बाट

तपाईको प्रतिक्रिया

RELATED POSTS