प्रकाशशरण महत नेपाली कांग्रेसका सहमहामन्त्री हुन्। उनी नेपाल विद्यार्थी संघको महामन्त्री, नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुँदै पछिल्लो कार्यकाल सहमहामन्त्री छन्। संविधान सभा सदस्य उनले संविधान निर्माण मस्यौदा कार्यदलको सदस्यका रूपमा पनि काम गरेका छन्।
उनीसँग परराष्ट्रमन्त्री र ऊर्जामन्त्रीका रूपमा काम गरेको अनुभव छ।

आफ्नो पार्टी तथा सार्वजनिक रूपमा समसामयिक एवं राजनीतिक विचार राख्नसक्ने स्पष्ट वक्ताका रूपमा महत परिचित छन्।नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा महामन्त्रीमा उठ्ने घोषणा गरेका महतसँग महाधिवेशनमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादीत अंश।

यहाँहरू १४ औं महाधिवेशनको संघारमा हुनुहुन्छ। तेह्रौं महाधिवेशनमा नै अघि सारिएका प्रतिबद्धताहरू पूरा हुन नसकेको गुनासो यतिखेर पार्टी भित्र छ। के कति कारणले ती प्रतिबद्धत पूरा हुन सकेनन् ?

हो, कतिपय प्रतिबद्धता पूरा हुन नसकेको पनि छ। भातृ सङ्गठन गठनदेखि अरू कतिपय विषयमा यो अवस्था देखियो। तर मूल कुरा त पार्टी सभापतिजीले पार्टी एकतालाई सबभन्दा बढी प्राथमिकता दिनुभयो।

पार्टीमा कुनै पनि खाले विग्रह र असन्तुष्टि नबढोस् भन्नेमा उहाँ बढी नै सजग रहनुभयो। नेपालका कम्युनिष्टहरूबीचको एकताका कारण नेपाली कांग्रेस संसदमा सानो दल भएको अवस्था थियो। त्यो अवस्थामा जसरी पनि पार्टीलाई एक बनाएर अर्को निर्वाचनमा जानुपर्छ र पार्टीले अबको निर्वाचन जित्नुपर्छ भन्ने नै उहाँले मूल लक्ष्य राख्नुभयो।

पछिल्लो समयमा संसद्मा झण्डै दुई तिहाइ अवस्थामा रहेको कम्युनिष्ट पार्टीमा समेत विग्रह र असन्तुष्टिहरू आए र फुट्यो। यो अवस्था हेर्दा त पार्टी सभापतिले लिएको रणनीति सही हो भन्ने नै देखियो।

अर्काे कुरा उहाँले पार्टीका सम्पूर्ण निर्णयहरू सहमतिबाटै गर्ने कोसिस गर्नुभयो। ती निर्णयमा पार्टीभित्र सर्वसम्मति हुन नसक्दा कतिपय निर्णयहरू समयमा हुन सकेनन् र यसका कारण कतिपय सङ्गठनात्मक काममा सुस्तता पनि आयो। पार्टीमा आफ्नो पक्षमा बहुमत भए पनि बहुमतबाट नभएर सबै निर्णय सहमतिबाटै गर्ने उहाँको नीति थियो।

यसैले पार्टीलाई एकताबद्ध बनाइराख्यो र पार्टी एकढिक्का भएर नै हामी महाधिवेशनमा जाँदैछौं।

यो नै पार्टी सभापतिको बुद्धिमत्तापूर्ण निर्णय हो भन्ने मैले ठहर गरेको छु। अब हिजो जेजस्तो भए पनि आसन्न महाधिवेशनपछि पार्टी चुस्त रूपमा सबै निर्वाचनमा एक भएर जाने छ।

अहिले पनि पार्टी सभापतिमा दोहोरिएर शेरबहादुर देउवा नै उठ्ने तयारी गर्दै हुनुहुन्छ। आगामी कार्यकालमा पनि ती प्रतिबद्धताहरू पूरा हुन्छन् भन्ने के सुनिश्चितता छ ?

अवश्य पनि पार्टीलाई गतिशील बनाउने, पार्टीका सबै भातृ सङ्गठनहरूलाई गतिशील बनाउने, पार्टीमा देखिनसक्ने आन्तरिक विवादलाई व्यक्तिगत नभई संस्थागत गरेर लैजाने, पार्टीको रेकर्ड प्रणालीलाई अद्यावधिक गर्ने, मूल्यांकन पद्दतिलाई वैज्ञानिक बनाउने, सूचना प्रविधिको भरपूर प्रयोग गरेर पार्टीका क्रियाकलापहरूको प्रचारलाई चुस्त बनाउने, हामीले गरेका कामलाई जनताका बीचमा पुर्‍याउनेजस्ता कार्य गर्नु जरूरी छ। त्यसका लागि अबको कार्यकालमा सभापतिजीसँगै जुन नयाँ टिम जान्छ त्यो टिमले सशक्तरूपमा काम गर्छ र पार्टीलाई एउटा गतिशील पार्टीका रूपमा रूपान्तरण गर्न हामी सक्षम हुन्छौं।

भ्रातृ संगठनका अधिवेशन पनि सुरूका दिनमा अघि बढेकै थिए। तर पनि मैले पहिले भनेजस्तै त्यसमा पनि पार्टीभित्र सबैको सहमति जुटाएर लैजानेभन्दा त्यसमा शिथिलता आएको हो भन्ने मलाई लाग्छ।

यी कार्यमा पनि सभापतिजीले बहुमतको निर्णय गरेर अघि बढ्न चाहनुभएन तर सर्वसम्मति पनि जुट्न सकेन। जसका कारण यी कार्य पनि समयमै अघि बढ्न सकेनन्।

जे होस्, अहिले पार्टी एक भएर निर्वाचनमा जाँदैछ, यो पनि एक उपलब्धि नै हो। अहिले हामी महाधिवेशनमा जुटेका छौं, यो महाधिवेशनले चयन गरेको नयाँ टिमले आगामी कार्यकालमा सशक्त र चुस्तरूपमा काम गर्नेछ र पार्टीलाई नयाँ र सशक्त स्वरूपमा रूपान्तरण गर्नेछ।

यतिखेर नेपाली कांग्रेस महाधिवेशनको दौरानमा छ। नेपाली कांग्रेसका कार्यकर्ताले महाधिवेशनमा प्रजातान्त्रिक अभ्यास गरिरहेका छन्। यस विषयमा यहाँ के भन्नुहुन्छ ?

नेपाली कांग्रेसले मुलुकको संविधान र संघीय ढाँचामा आफ्नो विधान निर्माण गरेको छ।

अहिले कांग्रेसका समग्र देशका कार्यकर्ता प्रजातान्त्रिक अभ्यासमा छन्। तपाईंले देखिरहनुभएको छ नि देशका अरू पार्टी पनि महाधिवेशनमा छन्, तर हाम्रोजस्तो खुला हृदयले निर्वाचनमा जाने र प्रजातान्त्रिक अभ्यास गर्ने काम अन्त कहाँ देखिएको छ ?

हाम्रो विधान बढी समावेशी छ, जसले एक तिहाइ महिलाको स्पष्टसँग सुनिश्चितता छ। वडादेखि केन्द्रसम्म नै कुनै पनि वर्ग समूहको तथा जनसङ्ख्याका आधारमा समेत प्रतिनिधित्व सुनिश्चित हुने कुरा हाम्रो विधानमा स्पष्ट व्यवस्था छ।

यो व्यवस्थाले ठूलो सङ्ख्यामा धेरै पृष्ठभूमिका मानिसहरू समेटिन्छन्, उनीहरू यो अभ्यासमै छन्।

यसैले पनि अहिले हाम्रो अधिवेशन जुन वडादेखि भयो त्यो हेर्नुस् न एउटा उत्सवजस्तै छ। यहाँ ठूलो सहभागिता छ कार्यकर्ताहरूको।

हाम्रो पार्टीभित्र भएको यो लोकतान्त्रिक अभ्यास अरू कुनै पार्टीमा कतै छैन, हाम्रो पार्टीमा मात्र भएको छ। यो आन्तरिक पार्टीमा हुने लोकतान्त्रिक अभ्यास मैले जानेबुझेसम्म नेपालमा मात्र नभएर संसारका कुनै पनि देशमा छैन होला।

जसरी हामीले सबै अट्ने देश सबैलाई जोड्ने कांग्रेस भनेर पार्टीका नारा राखेका छौं, हामीले निर्माण गरेको विधानले पनि यही भावनालाई मुखरित गर्न खोजेको छ।

सबैको सहभागिता रहने यो लोकतान्त्रिक विधानको निर्माणमा हामी लाग्यौं र यसले सबैलाई सबै हिसाबले सम्बोधन गरेको छ भन्ने मेरो अनुभव छ।

अहिले बजारमा एउटा प्रश्न छ, शेरबहादुर देउवा नै फेरि सभापति किन ? यसको जवाफ यहाँले कसरी दिनुहुन्छ ?

यो नेतृत्व भनेको आवश्यकताले निर्धारण गर्दछ। जस्तो कि हेर्नु न जनतालाई त्यति धेरै आश्वासन बाँडेर ठूलो सङ्ख्यामा मत ल्याएर आएका कम्युनिष्टहरू पनि तीन वर्ष पुग्दा नपुग्दै आफ्ना आन्तरिक लुछाचुँडी र सत्ता भागले गर्दा आन्तरिक व्यवस्थापन नै गर्न सकेनन्।

कम्युनिष्टहरूमा ठूलो विद्रोह र असन्तुष्टि देखियो, सत्ताकै लागि उनीहरूको पार्टीभित्रै के-कस्तो झगडा भयो हामीले देख्यौं नै। त्यहाँ व्यक्तिवादी प्रवृत्ति हाबी भयो, उनीहरूले व्यवस्थापन गर्न सकेनन्। त्यसको ठिकविपरीत मोडलमा शेरबहादुर देउवाले पार्टीलाई हाँक्नुभयो।

बरू आफूले कतिपय कुराहरू छोड्ने तर सानोभन्दा सानो कुरालाई पनि सहमति गरेर लैजाने मोडेलमा सभापति देउवाले पार्टी हाँक्नुभयो।

उहाँले पार्टीमा कसैलाई पनि असन्तुष्टि बढ्ने ठाउँ नदिने बुद्धिमत्तापूर्ण बाटो अवलम्बन गर्नुभयो। यसले पनि हाम्रो पार्टीलाई आजका दिनसम्म एकढिक्का बनाएर राख्न सफल भएको छ। उहाँ एक्लै कहिल्यै अघि बढ्नुभएन। जस्तो कि भन्नु न पार्टीको महाधिवेशनकै विषयमा पनि उहाँप्रति कति आरोप प्रत्यारोपहरू लागेका होलान् तर तिनलाई प्रतिवादमा पनि नउत्रिकन, जवाफ पनि नदिइकन सहेरै उहाँ बस्नुभयो।

यो सब पार्टीको एकताकै लागि थियो भन्ने मेरो बुझाइ छ। उहाँले पर्टीभित्रका सबै खालका विचारहरूलाई सम्मानपूर्वक स्थान दिएर राख्नुभएको छ।

यहाँले पनि पार्टीको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ?

हो। यद्यपि, औपचारिक कार्यक्रम नै गरेर घोषणा गरेको भने छैन, त्यो पनि म छिट्टै गर्नेछु।

मैले पार्टीमा केन्द्रीय सदस्यदेखि सहमहामन्त्रीसम्मको जिम्मेवारीमा रहेर काम गरेको छु। नेपाल विद्यार्थी सङ्घको केन्द्रीय नेतृत्वदेखि पार्टीका विभिन्न तहमा रहेर काम गरेको छु।

मलाई पार्टीले दिएको जिम्मेवारी पार्टीमा होस् या सरकारमा रहेर पनि निष्ठापूर्वक सम्पन्न गरेको छु। त्यसैले आसन्न महाधिवेशनमा महामन्त्रीको पदमा मेरो उम्मेदवारी रहने छ। यसैबमोजिम मैले महामन्त्रीका लागि तयारी गरिरहेको छु र पार्टी नेतृत्वसँग पनि यस विषयमा कुरा भइरहेको छ।

प्रकाशशरण महतलाई किन मत दिने भन्ने प्रश्नको जवाफ यहाँ कसरी दिनुहुन्छ ?

मेरो अनुभव र दक्षताअनुरूप पार्टीलाई आधुनिकतामा परिणत गर्न म प्रयत्नरत रहनेछु। जहाँसम्म यहाँले प्रश्न गर्नुभयो महतलाई किन मत दिने भनेर, यसको म जवाफ दिन चाहन्छु।

जस्तो कि म प्रतिबन्धितकालदेखि नै नेपाली नेपाली कांग्रेसमा लागेर काम गरिरहेको छु। मैले विद्यार्थीकाल त के स्कुले जीवनदेखि नै मैले नेविसङ्घमा लागेर काम गरेको छु। मैले जेलनेल भोगेको छु।

मैले आजदेखि होइन नि २०२९ सालको विद्यार्थी आन्दोलनदेखि लिएर २०६२–६३ को आन्दोलनसम्म कांग्रेसको पक्षमा लागेर महत्वपूर्ण भूमिका निर्वाह गरेको छु।

२०४६ सालको राजनीतिक परिवर्तनपछि पनि केही समय बाहिर अध्ययनमा गएको समयबाहेक अरू सबै समय सक्रियरूपमा पार्टीमै लागेको छु।

म सरकारमा रहँदा होस् या पार्टीमा पनि जे–जस्तो जिम्मेवारी मैले प्राप्त गरें त्यो पनि उच्च समर्पणका साथ पूरा गरेको छु। इमानका साथ मेरो सम्पूर्ण क्षमता र प्रयोग गरेर पार्टीले मलाई सरकारमा होस् या पार्टीमा दिएको काम इमान्दारिताका साथ पूरा गरेको छु।

म दुईपटक परराष्ट्र मन्त्रालयलको जिम्मेवारी सम्हाल्दा होस् या ऊर्जामन्त्री हुँदा पनि मैले पार्टीको इज्जत राखेर काम गरेको छु। संविधान निर्माणको मस्यौदा समितिमा रहँदा पनि मैले सक्रिय र सिर्जनात्मकरूपमा आफ्नो योग्यताको प्रयोग गरेको छु। अनि पार्टीमा केन्द्रीय सदस्यका रूपमा होस् या महामन्त्री रहँदा होस् देश र पार्टीलाई केन्द्रबिन्दुमा राखेर काम गरेको छु। सेतोपाटी बाट 

तपाईको प्रतिक्रिया

RELATED POSTS